महिला खबर
म्याग्दी । पश्चिम म्याग्दीको रुम गाविसमा महिलाले देउसीभैलो खेलेर ‘आकस्मिक सुरक्षित मातृत्व कोष’ स्थापना गरेका छन् । रुम महिला बचत तथा ऋण सहकारी संस्थाको अगुवाइमा तिहारको अवसरमा खेलिएको देउसीभैलोबाट सङ्कलित रकमले मानवीय सेवाका लागि कोष स्थापना गरिएको हो ।
रुम गाविसको १ देखि ६ नम्बर वडासम्म खेलिएको देउसीभैलोबाट दुईलाख ४१ हजार रुपैयाँ आर्थिक सङ्कलन गरी सहकारीमा कोष स्थापना गरिएको संस्थाका सचिव घनदेवी घर्तीले जानकारी दिनुभयो । उक्त सङ्कलित रकम र कोष स्थापनाबारे रुम गाविस सचिव पूर्णप्रसाद शर्मा र सामाजिक परिचालक सीता पुनको उपस्थितिमा एक कार्यक्रमबीच सार्वजनिक गरिनुका साथै जानकारी गराइएको उहाँले बताउनुभयो ।
सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले स्थापना गरिएको आकस्मिक कोषबाट गाविसको १ देखि ६ वडाका आर्थिक रुपमा विपन्न र दलित महिलालाई सहयोग गरिने सहकारीले जनाएको छ । महिलाले सहकारीमार्फत महिला उत्थानमा सघाउँदै आएका छन् भने आगामी दिनमा उक्त कोषलाई वृद्धि गर्ने र विभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको सचिव घर्तीको भनाई छ ।
Comment Here!