हिमा अर्याल
नवलपरासी । गैडाकोट स्वास्थ्य चौकीमा ४ महिनादेखि आइरन चक्कीको अभाव छ । गर्भवती तथा सुत्केरी महिलालाई अनिवार्य रुपमा दिनुपर्ने आइरन चक्की अभाव भएपछि गैंडाकोट नगरपालिका क्षेत्रका महिला समस्यामा परेका छन् । स्वास्थ्य चौकीमा आइनमात्र नभै गर्भनिरोधक औषधि पिल्स तथा सामान्य रुघाखोकीका औषधि समेत अभाव रहेको गैंडाकोट स्वास्थ्य चौकीका प्रमुख इन्द्र शर्माले जानकारी दिनुभएको छ । निःशुल्क रुपमा सरकारले उपलव्ध गराउने अत्यावश्यक औषधि अभाव भएपछि विरामी नीजि क्लिनिकमा औषधि किनेर खान बाध्य भएका छन् । औषधि अभाव बारे जिल्ला जनस्वास्थ्य कार्यालयलाई जानकारी गराइएको शर्माले बताउनु भएको छ । छठलगतै जिल्लाले औषधि पठाउने बताए पनि औषधि आइपुगेको छैन । गैंडाकोट स्वास्थ्य चौकीमा १ महिनामा १ सय वढी गर्भवती महिलाले सेवा लिने गरेका छन् ।
गैडाकोटकै अमरापुरी स्वस्थ्य चौकीमा पनि सरकारले निःशुल्क रुपमा वितरण गर्ने ३५ प्रकारका औषधिमा केही औषधिमात्र उपलव्ध भएको प्रमुख इन्चार्ज रेशम पौडेलले जानकारी दिनुभएको छ । यस्तै पितौजि स्वास्थ्य चौकी भेडावारीमा पनि अहिले एन्टिवायोटिक हेमोक्सोलिन, आँखाको झोल औषधि, घाउमा लगाउने मल्हमलगायतका औषधि अभाव रहेको पितौजिघाट स्वास्थ्य चौकीका प्रमुख याम बाहादुर क्षेत्रीले विजय एफएमलाई जानकारी दिनुभएको छ । उता जिल्ला जनस्वास्थ्यका प्रमुख अरुण कुमार महतोले केन्द्रबाट नै औषधि पठाउन ढिलाई भएकालेअहिले जिल्लामा नै औषधि अभाव रहेको बताउनु भएको छ । एकमहिना अगाडि आइरन चक्कि पठाएको तर अहिले गैडाकोट जनसंख्या बृद्धि भएकाले आइरन चक्कि छिटो सकिएको भन्दै अव एक दुईदिनमै आइरन चक्कि भने पठाइने जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख महतोले जानकारी दिनुभयो ।
Comment Here!