केही नजानी विदेश जाँदा यातना


प्रकाशित मिति :2016-11-15 15:15:03

रोशनी कठेत

maiti
इटहरी उपमहानगरपालिका– ६ की सकली सदा चार वर्षअघि वैदेशिक रोजगारीका लागि कुवेत पुगिन् । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण विदेशमा गएर पैसा कमाउने सपना बोकेर साउदी पुगेकी सदाले पैसा त कमाउन सकिनन् उल्टो चार वर्ष नारकीय जीवन बिताइन् । छिमेकी फ्याकिनी चौधरी र सरिता चौधरी थापाले मासिक १८ हजार कमाइ हुने गरी कुवेत पठाइदिन्छु भने । विदेश जान आफ्नो एक पैसा पनि खर्च नहुने भनेपछि सदाले धेरै सोचिनन् । काठमाडौं लगेर एजेन्टले नै पासपोर्ट बनाइदिए । आफ्नो र परिवारको सुखद भविष्यको कल्पना गर्दै घरबाट निस्किएकी सदाले नसोचेको भयो ।

भारत हुँदै कुवेतका लागि हिँडेकी सदालाई एजेन्टले साउदी पठाइदिएछन् । साउदी पुगेपछि मात्रै उनले भनिएकोभन्दा फरक देश आइपुगेको थाहा पाइन् । साउदी पुगेपछि घरेलु कामदारको रूपमा उनको दिनचर्या सुरु भयो । काम गरेको एक महिना पुगेपछि साहुसँग पारिश्रमिक माग्दा थाहा भयो दलालले आफूलाई १० लाखमा बेचेको रहेछ । साहुकोमा काम गर्न थालेपछि महिना बित्दै गए, तर तलब दिएनन् । काम गरेको पैसा माग्दा साहुले उल्टै झपारे– तँलाई त मैले किनिसकेको छु के को पैसा ? चार वर्ष साउदीमा बन्धक भएर काम गर्दा उनले तलब त पाइनन् नै मानसिक र शारीरिक यातना पनि धेरै खेपिन् । काम गरेको पैसा माग्दा साहुको कुटाइ खानुपर्‍यो । स्वदेश फर्कन्छु भन्दा पासपोर्ट र नागरिकता साहुले खोसेर राखेपछि हिंसा सहेर बस्न बाध्य भइन् । उनले भनिन्, ‘साहुले ढाडमा कुटेकाले मुखबाट रगत बग्ने समस्या भयो । काम गर्न नसकेपछि साहुले रातको समयमा नेपाली दूतावासमा लगेर छाडिदियो ।’ दूतावासले नै सदाको उपचार गरिदियो । चार महिना दूतावासको शरणमा बसेर उनी ०७३ असार १० गते रित्तोहात स्वदेश फर्किन् । दूतावासकै सहयोगमा राजधानीदेखि इटहरीसम्म आइन् । आफन्तको सहयोगमा प्रहरीमा उजुरी दिएपछि सदालाई विदेश पठाउने दलाल फ्याकनी चौधरी र सरिता चौधरीलाई प्रहरीले त समायो, तर दबाबमा परेर दलालसँग मिलापत्र गराएपछि सदाले न्याय पाउन सकिनन् । चार वर्षको कमाइ दिन्छु भनेर मिलापत्र गरे पनि उनीहरूले दिएनन् । उनले भनिन्, ‘दलालले पैसा दिनुको साटो उल्टै धम्क्याउँछन् । मलाई कसैले न्याय दिएन । न्यायका लागि विभिन्न सङ्घसंस्था र सरकारी कार्यालय धाइरहेकी छु ।’

सदाको जस्तै पीडा छ सुनसरी प्रकाशपुरकी मनमाया भट्टराईको । सात वर्षअघि भट्टराई भारत हुँदै कुवेत गइन् । मामलीभाइ पर्ने सन्त राईले कुवेतमा राम्रो कमाइ हुन्छ भनेकाले घरपरिवार छाडेर कुवेत पुगेकी भट्टराईले एक घरमा घरेलु कामदारको रूपमा काम सुरु गरिन् । काम सुरु गरेको दोस्रो दिन साहुले कपडामा आइरन लगाउन लगाए, तर भट्टराईले आइरन लगाउन जानिनन् । यति काम पनि नजान्ने भनेर घर मालिक्नीले तातो आइरनले गालामा डामिदिइन् । १० महिना कुवेत बसेकी भट्टराईले हरेक दिन यसरी नै कुनै न कुनै यातनामा बिताइन् । मालिक्नीले उनलाई साना–साना कुरामा पिट्थिन् । भट्टराई भन्छिन्, ‘साहुले सानातिना गल्तीमा समेत तातोपानीले पोलिदिने, पिट्ने गर्थे ।’ दैनिकजसोको यातनाबाट कमजोर भएपछि १० महिनापछि साहुले नेपाल फर्काए, तर उनले काम गरेको एक पैसा पनि पाइनन् । नेपाल आएर प्रहरीमा उजुरी दिएपछि सन्त राईलाई प्रहरीले पक्राउ गर्‍यो । ५० हजार क्षतिपूर्ति दिने सहमतिपछि छुटेका राईले २० हजार त दिए, तर बाँकी रकम नदिई फरार भए । सीप नसिकी विदेश जाँदा पाएको दुःख एकातिर रह्यो भने आफ्नैबाट ठगिनुको पीडा अर्कोतिर ।

सदा र भट्टराई त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूजस्तै घरेलु कामदारका रूपमा बिदेसिएका अरू पनि महिला वैदेशिक रोजगारीका नाममा ठगिएका छन् । विगत १८ महिनाको अवधिमा सुरक्षित आप्रवासन परियोजनाअन्तर्गतको सूचना परामर्श केन्द्र सुनसरीमा वैदेशिक रोजगारीसम्बन्धी तीन सय ८६ मुद्दा छन्, तीमध्ये आठ मुद्दा महिलाका छन् । ठगीमा परेका सबै महिला वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति नलिई गैरकानुनी रूपमा बिदेसिएको पाइएको छ । अवैध बाटो रोजेका कारण आफू पनि कारबाहीमा पर्ने डरले ठगिएकाहरूले उजुरी दिन हिचकिचाउने गरेको सूचना परामर्श केन्द्र सुनसरीकी परामर्शदाता कमला कटुवालको अनुभव छ ।

त्यसो त सुनसरी सबैभन्दा बढी युवा विदेश जाने जिल्लामध्ये सातौँमा पर्छ । वैदेशिक रोजगार विभागका अनुसार सन् २०१५ मा सुनसरीबाट मात्रै तीन हजार ६ सय ७३ जना महिला बिदेसिएका छन् । श्रमस्वीकृति नलिई गैरकानुनी रूपमा बिदेसिने कति छन् भन्ने तथ्याङ्क कसैसँग छैन । सरकारले वैदेशिक रोजगारका लागि एक सय १० मुलुक खुला गरेको छ । तथापि इजरायल, कुवेत, कतार, साउदी अरेबिया, संयुक्त अरब एमिरेट्सजस्ता मुलुक महिलाको प्रमुख गन्तव्य बनेका छन् । हाल अफ्रिकी देशहरूमा वैधानिक वा अवैधानिक तवरले जाने क्रम बढ्दो रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कमजोर आर्थिक अवस्था भएका महिलाले अवैधानिक रूपमा बिनाझन्झट बिदेसिन पाइने हुँदा अवैधानिक बाटो अपनाउने गरेको पाइएको छ । विशेषगरी ग्रामीण क्षेत्रका विपन्न परिवारका महिला खाडी मुलुक जाने गरेको सुरक्षित आप्रवासन परियोजना सुनसरीकी डिम्पल यादवले जानकारी दिइन् । यादव भन्छिन्, ‘सीप नसिकी दलालले फकाएको भरमा बिदेसिँदा महिलाले दुःख खेप्नुपरेको छ ।’ अधिकांश महिला घरेलु कामदारका रूपमा खाडी मुलुक जाने गरेका छन् । वैधानिक रूपमा बाहिरिने महिलाको सङ्ख्या कम देखिए पनि अवैधानिक रूपमा बाहिरिनेको सङ्ख्या ठूलो हुन सक्ने यादवको अनुमान छ । नेपाली महिला कम पढेका र आधुनिक प्रविधिसँग हेलमेल गर्न नजानेकै कारण पनि विदेशमा बढी दुःख पाउने गरेका छन् । सीप नसिकी गएका महिला घरायसी काम गर्दा भाषाको समस्यादेखि इस्त्री लगाउने, भ्याकुमक्लिनर लगाउने, वासिङमेसिन चलाउनेसम्मको सामान्य काम गर्ने अनुभव नहुँदा उनीहरू मालिकको आक्रोशमा पर्ने गरेका छन् । विशेषगरी भारत हुँदै गैरकानुनी तरिकाले घरेलु कामदारको रूपमा विदेश जाने महिलालाई अप्ठ्यारो परिस्थिति सिर्जना हुने गरेको छ । अवैधानिक प्रक्रिया अपनाउँदा महिला विदेशमा विभिन्न किसिमका हिंसामा पर्ने र शोषण सहन बाध्य हुने गरेका हुन् । आफूले विदेशमा कहाँ, कस्तो अवस्थामा र के काम गर्नुपर्छ भन्नेबारेमा जानकारी नै नलिई गएका कारण पनि महिला बढी हिंसा र शोषणमा पर्ने गरेका छन् ।

साभार  : ‘म्याग फिचर सर्भिस
(रोशनी सुनसरीकी पत्रकार हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: