डाक्टर्नी काकी रन्नेयादेवी चौधरी


प्रकाशित मिति :2016-11-18 11:01:42

खेमा बस्नेत

img_4022
कैलाली । कैलालीको अत्तरिया नगरपालिका धनचौरी मुक्त कमैया शिविरका महिलाकी एक्ली डाक्टर हुन् रन्नेयादेवी चौधरी । उनी सामान्य गृहणी हुन् । डाक्टर र सवैकी काकीको रुपमा उनी यो शिवीरमा परिचित छन् । केही वर्ष अघिसम्म धनचौरीस्थित मुक्त कमैया शिविरका थारु महिलाको जस्तै उनको परिचय पनि सामान्य नै थियो । तर, १४ वर्षयता भने उनको परिचय फेरिएको छ । उनी मुक्त कमैया शिविरका महिलाका लागि ‘डाक्टर’ भनदा कम छैनन् । उनलाई धनचौरीमा शिविरमा डाक्टर भनेर नै बोलाइन्छ । उनले डाक्टर परिचय पाउन देश विदेशमा गएर लाखौं पैसा खर्च गरेर डाक्टरको डिग्री हात पारेकी भने होइनन् ।

अत्तरिया नगरपालिका बनेपछि धनचौरी गाविस यसैमा गाभियो । गाविससँगै धनचौरी मुक्त कमैया शिविर पनि नगरपालिका बन्यो । तर, सदरमुकाम धनगढीबाट करिब ११ किलोमिटर दुरीमा रहेको उक्त शिविर सडक, यातायात, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताबाट भने अझै टाढा रह्यो ।

यातायातको असुविधाले यहाँको जनजीवन कष्टकर थियो । त्यसैमा मानिस विरामी पर्दा होस् वा महिलाहरू सुत्केरी गराउन अस्पताल लैजान अन्य यातायातका साधनको अभावमा गोरु गाडा प्रयोग गर्नुपर्ने बाध्यता हुन थाल्यो । स्वास्थ्य सुविधा लिनका लागि महिलाह ज्यान जोखिममा राखेर सदरमुकाम पुर्‍याउनु पथ्र्यो ।

शिविरमा गर्भवती महिलाले बच्चा जन्माउँदा भोगेको पीडा देखेर रन्नेयादेवीलाई असह्य भयो । अनि उनी सुडेनीको काममा खट्न थालिन् कुनै तालिमविना । शिविरका महिलामा प्रसूति व्यथा लाग्दा उनले ती महिलाको सहयोगमा जुट्न थालिन् ।

आर्थिक र आधारभूत सेवाको अभावमा बाँचेका महिलाको सहयोगमा १४ वर्ष विताइन् । सुत्केरीको सहयोगमा लामो समय लागेकी रन्नेयादेवी हाल त्यस क्षेत्रमा कहलिएकी सुडेनी (स्वयंसेविका) बनेकी छिन् । निरन्तरको अनुभवले तालिमप्राप्त स्वयंसेविका भन्दा उनलाई परिपक्व बनाएको छ । महिलालाई सामान्य पीडा हुँदा उनलाई नै बोलाउने गर्छन् ।

img_4020

‘रन्नेयादेवी घामपानी, दिनरात नभनिकनै बोलाएको ठाउँ जतिखेर पुग्न तयार हुन्छिन् । धनचौरी शिविरकी खुइटी चौधरीले भनिन् ‘उनी हाम्रो लागि भगवान जस्तै ‘डाक्टर’ हुन् ।’

दुई सन्तानकी आमा खुइटीले दुवै पटक रन्नेयादेवीको सहयोगमा घरमै बच्चा जन्माएकी थिइन् । १६ वर्षको उमेरमा आफूले पहिलो बच्चा जन्माउँदा निकै दुःख पाएको स्मरण गर्दै उनले रन्नेयादेवीले त्यतिखेर सहयोग नगरेको भए आफ्नो ज्यानै जान सक्ने उनले बताइन् ।
त्यसैगरी दुई सन्तानकी आमा स्थानीय ललिता चौधरी पनि रन्नेयादेवीले गाउँका महिलालाई गरेको सहयोगको खुलेरै प्रशंसा गर्छिन् । रन्नेयादेवीले गाउँका धेरै महिलाको अकालमै ज्यान जानबाट बचाएको उनले बताइन् ।

‘पहिले हामीले धेरै दुःख पायौं, अस्पताल टाढा छ, यातायातको सुविधा छैन्, हिँडेरै अस्पताल जानुपर्ने भएकाले सुत्केरीले अकालमा ज्यान फाल्नुपर्ने जोखिन थियो । उनले ललिताले विगत सम्झँदै भनिन् ‘रन्नेयादेवीले स्वयंसेविकाको काम गर्न थालेपछि हामीलाई निकै राहत भएको छ । घरमै सुत्केरी सुविधा पाएका छौ ।’

कसैले रन्नेयादेवीको घर सोधेमा सबैले डाक्टर्नीको घर भनेर देखाइदिने गर्छन् ।रन्नेयादेवीले आफ्नो परिचय फेर्न कम दुःख गरेकी छैनन् । १४ वर्षसम्म अशिक्षित समुदायमा सुःख दुःख, आफ्नो पराइ नभनेर काम गरेकी छिन् । उनी महिला सुत्केरी हुँदा १० दिनसम्म बच्चा र आमा दुवैको स्याहारमा जुट्छिन् ।

आफूले स्वयंसेविकाको रुपमा काम गर्ने भएपनि पैसा भने नलिने गरेको स्थानीय सगुन चौधरीले बताइन् । आफूले पनि दुई सन्तानको जन्माउँदा रन्नेयादेवीको सहयोग लिएको बताउँदै उनले त्यस वापत पैसा नलिएको बताइन् ।

‘उहाँले काम गरेको पैसा माग्नुुहुन्न’ , उनले भनिन् ‘कसैले आफूखुसी दिएमा वा कर गरेमा मात्रै लिनुहुन्छ ।’ वच्चा पाउँदा महिलाले भोग्नेगरेको पीडाले आफूलाई सामाजिक कामतर्फ अग्रसर गराएको रन्नेया बताउँछिन् । ‘बच्चा जन्माउन महिलाले गर्नुपरेको संघर्षले आफूलाई स्वयसेवी बन्न प्रेरित गरेको उनको भनाई छ ।

‘शिविरका महिलाले पाएको दुःख देखेर मैले सहयोग गर्न थाले । घरमै बच्चा जन्माउन गाह्रो कुरा थियो । मैले लामो समयदेखि काम गरिसकेपछि हाल सजिलै काम गर्न सक्छु’ उनले भनिन् ।

रन्नेयादेवीले सुडेनीको औपचारिक तालिम पाएकी छैनन् । यद्यपी उनको अनुभव तालिमप्राप्त स्वास्थ्यकर्मी भन्दा कम नभएको सेवाग्राही बताउँछन् । रन्नेयादेवी आफूले नसक्ने अवस्थाका सुत्केरीलाई भने अस्पताल लैजान सुझाउँछिन् ।

‘सामान्य व्यथा भएका महिलालाई मेरो हेरचाहमा नै सुत्केरी गराउँछु, कुनै जटिल अवस्था आयो भने अस्पताल लैजान सुझाउँछु’ रन्नेयाले भनिन् ।

रन्नेयाले आफूले यो काम सिक्न ठूलो संघर्ष गरेको बताइन्, तर अहिले गाउँ टोलमा आफ्नो कामप्रतिको विश्वासले आफूलाई आनन्द दिने गरेको उनको भनाई छ ।

महिलाले प्रसूतिको अवस्थामा अपनाउनुपर्ने होसियारीदेखि सुत्केरीपछि गर्नुपर्ने हेरचाहका बारेमा रन्नेयादेवी निकै जानकार भएको त्यस टोलका महिला बताउँछन् । रन्नेयादेवीसँग यो अवधीमा धनचौरी शिविरका सबैजसो महिलालाई सुत्केरी गराएको अनुभव छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: