धुवाँबाट मुक्ति


प्रकाशित मिति :2016-11-18 14:36:14

प्रकाश सिंह

improved-oven

खाना पकाउने साँघुरो कोठा । चुल्होवाट निस्केको धुवाँका कारण खाना पकाउँदा रनकला बुढालाई हरेक साँझ बिहान सकस हुन्थ्यो । आँशु, र्‍याल सिंगान एकैठाउँ । एकातिर आँखा हेर्नै नसक्ने अनि धुँवाका कारण उनलाई खोकी लागेको निकै वर्ष भइसकेको थियो । तर अहिले उनी फुरुङ्ग छन् । खाना पकाउन पहिला जस्तो सकस छैन । उनले एक वर्षअघि घरमा सुधारिएको चुल्हो बनाएपछि उनी यो समस्याबाट मुक्त भएकी छन् ।

पहिलाको जस्तो खोकी लाग्न समेत कम भएको रनकला बुढाले वताईन् । पहिला उनलाई सास फेर्ने समेत गाह्रो हुने उनलाई अहिले त्यो पनि निकै सहज भएको छ ।

यस्तै समस्याबाट पीडित सोही गाउँकी रुपा विकलाई पनि अहिले खाना पकाउन निकै सहज भएको छ । घरभित्र खाना पकाउँदा निस्कने धुवाँले निरन्तर खोकी लाग्ने, सास फेर्न गाह्रो हुने समस्या उनलाईपनि थियो । ‘खाना पकाउने मेरै जिम्मा, तर सबै भन्दा गाह्रो’ उनले भनिन् । अहिले उनलाई खाना पकाउन गाह्रो लाग्दैन । घरमा धुवाँ मुक्त चुल्हो बनेपछि उज्यालो कोठामा खाना पकाउँदा उनलाई आनन्द लाग्छ । सुधारिएको चुल्हो बनेपछि उनको दैनिक जीवन पद्धती नै फेरिएको छ ।

‘सुधारिएको चुल्हो नबनाउँदा असाध्यै धुवाँ हुन्थ्यो, कहिल्यै खाना पकाउनु नपरोस भन्ने लाग्थ्यो, तर अहिले त खाना पकाउन आफैँ अग्रसर हुन्छु’ सोही गाँउकी रीता विकले सुनाईन् ।

योमात्रै होइन सुधारिएको चुल्होले महिलालाई अन्य काममा पनि सजिलो भएको छ । आफू अनि घर पनि सफा देखिन थालेको छ ।

‘घरभित्र धुवाँका कारण भान्छा कोठा निकै फोहोर हुने गरेको थियो, वर्षमा चार पाँच पटक घर पोत्ने काम गर्नुपर्ने हुन्थ्यो, तर अब वर्षमा एक पटक पाते पनि पुग्छ’ स्थानिय भुवन विक वताउँछन् । पहिला दम र खोकीका रोगी गाउँमा धेरै हुन्थे, तर अहिले कम भएका छन् । घर होचा हुने भएकाले धुवाँका कारणले झन समस्या हुने गरेको उनले बताए ।

बाजुराको साप्पाटा गाविसमा आर्थिक अवस्था कमजोर, गरिब, दलित, पछाडि परेका परिवारलाई जिल्ला विकास समिति मार्फत नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत निःशुल्क सुधारिएको चुल्हो वितरण गरपछि महिलामा यस्तो परिवर्तन आएको हो । सुधारिएको चुल्हो घरमा जडान भएपछि साप्पाटा गाविसवासीको जिवनशैलीमा समेत परिवर्तन आएको स्थानिय अगुवा हरि बहादुर बमले वताए । ‘शुरुमा निःशुल्क चुल्हो पाउँदा समेत कसैले जोड्न मान्दैनथे । उनीहरूलाई बुझाउन निकै गाह्रो हुने गरेको थियो । तर अहिले निःशुल्क नपाएका परिवार पनि आफ्नै लगानीमा चुल्होे बनाउन कस्सिएका छन्’ बम भन्छन् ।

improved-oven2

अहिले जिल्लाका अधिकांश गृहिणी खाना पकाउन सजिलो हुने भएकाले सुधारिएको चुल्हो तर्फ आकर्षित हुन थालेका छन् । जिल्ला विकास समिति मार्फत नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत जिल्लाका ८ वटा गाबिसमा सुधारिएको चुल्हो बनाउने अभियान सञ्चालन भइरहेको छ ।

साप्पाटा, वाई, बह्रमतोला, कैलाशमाडौं, कुल्देबमाडौं, मार्तडी, जुगाडा, जगन्नाथ गाविसमा ११ सय ९० परिवारले सुधारिएको चुल्होे निर्माण गरी प्रयोग गर्ने गरेको जलवायु परिवर्तन सहयोग कार्यक्रमका जिल्ला अधिकृत सन्तोष ढुङ्गानाले जानकारी दिए ।

सुधारिएको चुल्होमा खाना पकाउँदा दाउरा बचतमात्रै होइन, जङ्गल बिनास हुने क्रम पनि निकै कम भएको स्थानीय बताउँछन ।

परम्परागत रुपमा ढुङ्गा वा फलामे ओदानमा आगो बाल्दा भन्दा सुधारिएको चुल्होमा खाना पकाउँदा दाउराको खपत आधा घटेकाले दिनदिनै दाउरा खोज्न जङ्गल जानुपर्ने बाध्यताबाट पनि मुक्ति पाएको बडिमालीका नगरपालिकाकी रमिला रावल वताउँछिन् । ‘ओदानमा खाना पकाउँदा दाउरा धेरै प्रयोग हुने, भाँडा पनि कालो हुने र घरभित्रको वातावरण सँधै फोहोर हुन्थ्यो, तर अहिले भने निकै सहज भएको र घरपनि सफा भएको छ’ उनले थपिन् ।

धुवाँरहित वातावरणमा भान्छामा काम गर्न सकिने भएपछि जिल्लाका खासगरी महिलाले आफ्नो दिनचर्यामा ठुलो परिवर्तको अनुभूति गर्न थालेका छन् । सरकारले देशव्यापी रुपमा सन २०१७ सम्ममा नेपाललाई घरभित्रको धुवाँमुक्त देश बनाउने अभियान चलाएको छ । बाजुराका अन्य गाबिसमा पनि यो अभियान चलाउने जिविस बाजुराले जनाएको छ ।

स्वास्थ्यकर्मीका अनुसार धुवाँबाट मानिसमा आँखा पोल्ने, पाक्ने, खोकी लाग्ने, टाउको दुख्ने, एलर्जीको समस्या, नाक तथा घाँटीको रोगको समस्या, दमको रोग, स्वासप्रस्वास तथा मुख सुख्खा हुने जस्ता रोग लाग्ने गर्दछन् ।

धुवाँको कारण फोक्सोको क्यान्सर जस्तो जटिल रोग पनि देखा पर्न सक्छन् । लामो समयसम्म धुवाँमा बसेका बालबालिका वा गर्भवती महिला बढी समय धुवाँमा बसेमा उनीबाट जन्मने बच्चामा शारिरीक र मानसिक कमजोरी देखा पर्ने जस्ता अप्रत्यक्ष समस्या पनि आउने गरेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराकी परिवार नियोजन सुपर भाइजर दुर्गा बजगाई बताउँछिन् । ग्रामिण भेगमा सुधारिएको चुल्हो बनाएर खाना पकाउनेको संख्या बढेकाले यस्ता समस्या लिएर स्वास्थ्य संस्थामा आउने रोगीको संख्या समेत घटेको बजगाईले वताईन् ।

धुवाँ लाग्ने घरमा बस्ने ५ पर्ष मुनिका बालबालिकाहरू निमोनियाको उच्च जोखिम रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक सर्बेक्षणले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार धुवाँकै कारण नेपालमा १३ लाख मानिस बिभिन्न रोगबाट ग्रसित हुने गरेका छन् भने वर्षेनी सात हजार जनाले ज्यान गुमाउँदै आएका छन् । उक्त रोगको उपचार गर्दा वर्षेनी १० अर्ब रुपैयाँ खर्च हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ ।

बाजुरामा पनि धुवाँकै कारणले धेरैको स्वास्थ्य बिग्रने उनीहरूको आयु पनि कम हुने गरेको स्वास्थ्यकर्मीले वताए । महिलाको आयु कम हुनुको मुख्य कारण खाना पकाउने बेलाको धुवाँको असर रहेको बरिष्ठ अहेब दिपक शाहले वताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: