परिवारले पैसाको मात्र कुरा गर्दा


प्रकाशित मिति :2016-11-19 10:00:34

कालिका खड्का

फोन गर्नेबित्तिकै कहिले र कति पैसा पठाउने ? भनेर सोच्छिन् नीताले । सन्चै छ ? खाना भयो ? काम गाह्रो होला ? मप्रति माया र सद्भावको कुरा सोधे हुन्थ्यो भन्ने लाग्छ । तर, उनले कति पैसा पठाउँछौ ? मात्र भन्छिन् । दोलखा स्थायी घर भई हाल वैदेशिक रोजगारीका लागि दुबईमा रहेका ३१ वर्षीय सन्तोष गुरुङलाई आफ्नी पत्नी नीताले विदेश गएपछि आफूले भोग्नुपरेको दुःख, मर्म र पीडाको कुरामा कुनै वास्ता नगरी सधैँ पैसाको मात्र कुरा गर्दा नमिठो लाग्छ ।

सन्तोषले भने, ‘दिनरात नभनी काम गर्छौं, एकोहोरो काम गर्दा श्रीमती, बाबुआमाको याद आउँछ, श्रीमतीसँग फोनमा कुरा गर्न खोज्दा उनलाई मेरोभन्दा पनि पैसा बढी याद आउँछ, मानौँ विदेशमा पैसाको बोट छ, मैले हतारहतार टिपेर उनलाई पठाऊँ ।’ सन्तोषले आफूले गरेको दुःखप्रति परिवारका सदस्यलाई कुनै वास्ता नभएको बताए ।

Nepalese migrant workers arrive at Kathmandu airport

परिवारको आर्थिक अवस्था राम्रो होस् भनेर चार वर्षदेखि उनी दुबईमा काम गरिरहेका छन् । प्रत्येक महिना ५० हजार रुपैयाँ कमाउँछन् । आफूलाई थोरै राखेर श्रीमतीलाई पठाउँछन् । उनलाई विदेशमा पाँच वर्षकी छोरीको याद आइरहन्छ । त्यही छोरीलाई पढाउन काम गर्दै छु भनेर चित्त बुझाउँछन् ।

‘दुःखले कमाएको पैसा बचत छैन, खालीहात आएँ, खाली घर फर्किनुपर्ने भो, प्रत्येक महिना कमाएको पठाइसकेँ,’ विदेशमा गएर काम गर्दा न सम्पत्ति कमाउन सकेको न खुसीसँग जिउन सकेको एक्लोपनाको अनुभूति गरेका छन् । बुबा र आमाको विदेश गएर पैसा कमाएर बुढेसकालमा नहेरेको आरोप छ उनलाई । कसैलाई पनि चित्त बुझाउन नसकेकोमा पीडा हुन्छ उनलाई ।

वैदेशिक रोजगारीमा गएर फर्किएका ओखलढुङ्गा घर भई हाल चाबहिल बस्ने ३३ वर्षीय सुमन मगरको कहानी पनि त्यस्तै छ । उनी कुवेतमा काम गरेर चार वर्षपछि घर फर्किए । कमाएको जति पैसा उनले प्रत्येक महिना आफ्नी श्रीमती रिनालाई पठाए ।

विदेशमा बसेर निकै मिहिनेत गरेर कमाएको पैसा रिनाले कतै लगानी गरेको पाइएन । पछि उनले सम्पत्तिको त के कुरा साथ नै छोडेर हिँडिन् ।

‘विदेश गएर मैले केका लागि पैसा कमाएँ ? रिनाले यति धेरै दुःख गरेको किन बुझिनन् ? मैले बाबुआमाभन्दा पनि उनलाई बढी विश्वास गरेँ, तर नतिजा निकै पीडादायी भयो,’ उनले निकै भावुक भएर भने, ‘दुःखसुख गरेर नेपालमै केही गरेको भए परिवार लथालिङ्ग हुने थिएन ।’

सन्तोष र सुमन मात्र होइन, वैदेशिक रोजगारीमा जानेहरूमध्ये कतिपयको फर्किएर आउँदा यस्तै अस्तव्यस्त अवस्था छ । यसको अर्थ वैदेशिक रोजगारीमा जाने सबैको नराम्रै हुन्छ भन्ने होइन । धेरैले राम्रो पनि गरेका छन्, सफल हुनेहरूको सङ्ख्या पनि ठूलो छ ।

ऋण गरेर बाबु–आमाले छोरालाई धन कमाउन विदेश पठाउने । श्रीमान् विदेश गएपछि श्रीमती सहरमा बस्ने । छोराको हालखबर सोध्न पनि बाबुआमाले डराइडराइ बुहारीलाई सोध्नुपर्ने समाजको नियति बन्दै गएको देखिन्छ । यसले पारिवारिक आपसी समझदारी, सद्भाव र प्रेममा अविश्वासको वातावरण सिर्जना हुँदै आएको छ । बाबुआमा, छोरा र बुहारी यी तीन पक्षबीच सूचना आदान–प्रदानमा खाडल नै देखिन्छ ।

विदेशमा गएर काम गर्दाको पीडा बाबुआमा र श्रीमतीले महसुस गर्दैनन् । सबै कुरा जानकारी गराउन नेपाल र विदेशको समय पनि एकै हुँदैन । काम गर्ने समयमा आफन्तलाई विदेशबाट फोन गर्न पनि नमिल्ने । नेपालमा भएका आफन्तले छोरोले सम्झिएन भनेर गुनासो गर्ने ।
वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष बिमल ढकाल भन्छन्, ‘काम गर्दाको दुःख, पीडा, तनावको वास्ता हुँदैन, परिवारजनको जहिले पनि पैसाको मात्र सरोकार हुन्छ भन्नेजस्तो कुरा पछिल्लो समयमा धेरै आएको देखिन्छ ।’अध्यक्ष ढकालका अनुसार वैदेशिक रोजगारीमा गएका व्यक्ति र परिवारबीच असमझदारी बढ्नुको मुख्य कारण समय फरक हुनु पनि हो ।

अरबमा तीन घन्टा समय फरक छ । काम गरिरहेको समयमा मोबाइलको प्रयोग गर्न पनि कतिपय देशमा प्रतिबन्ध छ । नेपालमा काम गर्ने समयमा पनि फोन गर्ने चलन छ । तर, बाहिर त्यस्तो हुँदैन ।

‘काम गर्न बिदेसिएकाहरू परिवारसँग माया–सद्भाव चाहन्छन्, तर यताबाट आफ्ना परिवारले पैसाको मात्र सरोकार राख्दा वैदेशिक रोजगारमा गएका व्यक्तिलाई पीडा हुन्छ,’ उहाँले थप्नुभयो ।

प्रतिवर्ष करिब चार लाख २५ हजार श्रमशक्ति आन्तरिक श्रम बजारमा आउँछ । तर, देशमा भनेजस्तो रोजगारको व्यवस्था छैन । कमाउनका लागि विकल्प खोज्नुपर्ने हुन्छ । रोजगारीका लागि सहज रोजाइ खाडी मुलुक नै हो । नेपाली कामदार सबैभन्दा बढी भएको देश मलेसिया हो । जहाँ रोजगारीका साथसाथै सुरक्षाको समस्या छ । त्यहीँ बिहे गरेर बस्ने, घर नफिर्नेजस्ता समस्याले कति परिवारको बिचल्ली भएको छ ।
कामदार धेरै जाने दोस्रो ठूलो देश कतार हो । त्यहाँ सुरक्षाको समस्या नभए पनि नेपाली दलालको बिगबिगी छ । नेपाली दूतावासले नियन्त्रणको पहल गरे पनि धेरै समस्या धेरै छन् । नेपाली कामदार लैजाने तेस्रो स्थानमा रहेको साउदी अरबमा व्यापक बद्मासी र ठगी छ । त्यहाँ भागेर अवैध भएपछि गम्भीर अवस्था भोग्नुपरेको अवस्था छ ।

वैदेशिक रोजगारीमा जाने यी तीनै देशका कामदारको समस्या भने उस्तैउस्तै छन् । कम्पनी राम्रो नपर्ने, काम भनेभन्दा फरक हुने । तलब तोकिएकोभन्दा कम हुनेजस्ता समस्या छन् । दुःख, पीडा, समस्याका बाबजुद पनि खाडी मुलुक गएर काम गर्नेहरूले आफ्नो परिवारको मात्र नभएर मुलुकको अर्थतन्त्र वृद्धि गर्न राम्रो सहयोग गरेका छन् ।

आर्थिक वर्ष ०७१/७२ को जेठसम्ममा पाँच खर्ब ५१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा आव ०७२/७३ जेठसम्म ५ खर्ब ९८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार अहिले ३७ लाखभन्दा बढी नेपाली विभिन्न देशमा काम गरिरहेका छन् । ती कामदारले पठाएको मुद्रा नै देशको मुख्य आयस्रोत हो ।

साभार : ‘म्याग फिचर सर्भिस’
(कालिका राष्ट्रिय समाचार समितिमा आबद्ध पत्रकार हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: