कुपोषण : मध्यपश्चिमकै समस्या


प्रकाशित मिति :2016-11-22 10:25:49

मध्यपश्चिमका बालबालिकामा कुपोषणको समस्या धेरै देखिएको छ । आर्थिक वर्ष ०७१/७२ मा यस क्षेत्रका ११ प्रतिशत बालबालिकामा कुपोषण भेटिएको थियो ।

प्रकाश अधिकारी
malnutrition
सुर्खेत । ‘मसान हटाउन झारफुक गर्नसम्म गरियो । गाउँभरिका धामीझाँक्री कोही बाँकी छैनन् । निको भएन ।’ नौमहिने छोराको उपचारका लागि सुर्खेत आएकी धौलागोह– ३, कालिकोटकी सीता विकले स्वास्थ्यचौकी पुगेपछि मात्र बच्चा कुपोषित भएको थाहा पाइन् । ‘अहिले आफ्नो बच्चा बाँचेको देख्दा दङ्ग छु । आसै मारिसकेकी थिएँ,’ पोषणबारे सीताको भनाइले ग्रामीण समाजको बुझाइ छर्लङ्ग पार्छ ।

८ असार ०७३ मा जिल्ला अस्पताल मान्मबाट सुर्खेत रेफर हुँदा उनका छोरा कुशल चार केजी एक सय ग्रामका थिए । पाँच महिनादेखि झारफुक गर्न लाग्दा कुपोषित छोराको छाला त के कलिला हड्डीसमेत सुक्न थालिसकेका थिए । मध्यपश्चिम क्षेत्रीय अस्पतालअन्तर्गत सञ्चालित पोषण पुनस्र्थापनागृहमा भर्ना गरिएका कुशल अहिले ६ केजी तौलका भएका छन् ।

सीताका परिवारलाई आफ्नै बारीको उत्पादनले वर्षभरि खान पुग्छ । घरमा दुहुनो भैंसी पनि छ । सीता भन्छिन्, ‘मेलापातको बाध्यताले स्याहार गर्न पाइनँ । सासू–ससुराको जिम्मा छाडेर जङ्गल जानुपथ्र्यो । बिहान निस्केपछि फर्कँदा रात परिसकेको हुन्थ्यो । बाजेबज्यैले भैंसीको दूध खुवाउँथे । आमाको दूध चुस्न नपाउँदा छोरा कमजोर भएको धेरै पछि थाहा पाएँ ।’

वीरेन्द्रनगर लाटिकोइलीकी चन्द्रा थापाका दुई सन्तान कुपोषित भए । ०७१ फागुनमा सुत्केरी हुँदा छोरी वसन्तीलाई पोषण पुनस्र्थापनागृहमा राखेकी थिइन् । त्यतिबेला उनी गर्भवती थिइन् । एक वर्षपछि आठमहिने छोरा टेकबहादुरलाई दोस्रोपटक पुनस्र्थापनागृहमा भर्ना गराइन् । भर्ना हुँदा आठ महिनाका टेकबहादुरको तौल ६ केजी नौ सय ग्राम थियो । २५ दिन बसेर फर्किंदा उनको तौल आठ केजी दुई सय ग्राम भयो ।

कालागाउँस्थित पोषण पुनस्र्थापनागृहले कुपोषित बालबालिकालाई तीन–तीन घन्टाको फरकमा लिटो, जाउलो र आलुसुप खुवाउँदै आएको छ । हाल यहाँ १२ बालबालिका छन् । तीमध्ये पाँच कालिकोटका छन् । कालिकोटमा पोषण पुनस्र्थापनागृह छैन । त्यसैले, यहाँ आउने हरेक तीन बच्चामा एक कालिकोटकै हुन्छन् । ‘पोषणबारे समाजमा बुझाइ नै गलत छ,’ पुनस्र्थापनागृह सुर्खेतकी प्रबन्धक नवीना गिरी भन्छिन्, ‘हुनेखाने परिवारका बच्चालाई कुपोषण हुँदैन भन्ने बुझाइ छ ।’ गृहले ३५ देखि ८० दिनसम्म राखेर आमा–बच्चा दुवैको अवस्था सुधारेर पठाउने गरेको छ । घरमा पर्याप्त खानेकुरा हुँदाहुँदै पनि पोषणबारे जानकारी नपाउँदा कुपोषणले भयावह रूप लिएको नवीनाको भनाइ छ ।

मध्यपश्चिममा यो समस्या धेरै देखिएको छ । आर्थिक वर्ष ०७१/७२ मा यस क्षेत्रका ११ प्रतिशत बालबालिकामा कुपोषण भेटिएको थियो । स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआईएस) का अनुसार मध्यपश्चिममा सबैभन्दा बढी बाँकेमा कुपोषणको समस्या छ । त्यहाँका १३ प्रतिशत बालबालिका कुपोषित छन् । क्षेत्रीय स्वास्थ्य निर्देशक भोगेन्द्रराज डोटेल अन्य जिल्लाको तुलनामा बाँकेमा कुपोषणको दर बढी रहेको बताउँछन् ।

बर्दियामा १२ प्रतिशत, दाङ, रुकुम, मुगु, सुर्खेत र दैलेखमा १० प्रतिशत, जुम्ला, हुम्लामा नौ प्रतिशत, डोल्पामा आठ प्रतिशत, जाजरकोटमा सात प्रतिशत, कालिकोट र सल्यानमा ६ प्रतिशत र प्युठानमा चार प्रतिशत बालबालिका कुपोषणको सिकार छन् । मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्ले कुपोषण समस्या तराई र हिमालमा अलि बढी तथा पहाडी भेगमा कम देखिएको बताउँछन् । ‘एउटा मात्र फ्याक्टरले कुपोषण हुँदैन,’ वाग्ले भन्छन्, ‘पोषिलो खानेकुराको उपलब्धता र आनीबानीले समेत प्रभाव पार्छ ।’ कुपोषणलाई स्वास्थ्य क्षेत्रको सवाल ठानिएकाले पनि न्यूनीकरण हुन नसकेको उनको भनाइ छ । वाग्ले भन्छन्, ‘यसको न्यूनीकरणमा कृषि, पशु, शिक्षा क्षेत्रको पनि उत्तिकै भूमिका हुनुपर्छ ।’

हरेक ५–५ वर्षमा गरिने नेपाल स्वास्थ्य जनसाङ्ख्यिक सर्वेक्षणले पुड्कोपना भने घट्दै गएको देखाएको छ । यस क्षेत्रका पाँच वर्षमुनिका बालबालिका ५० प्रतिशत पुड्का, ११ प्रतिशत ख्याउटे र ३६ प्रतिशत कम तौल भएका छन् । मध्यपश्चिमका पाँच वर्षमुनिका ४७ दशमलव ८ प्रतिशत बालबालिकामा रक्तअल्पता छ । तीमध्ये जटिल खालको रक्तअल्पता शून्य दशमलब ९ प्रतिशतमा छ । यस क्षेत्रमा प्रजनन उमेर (१५ देखि ४९ वर्ष) का १९ प्रतिशत महिला कुपोषित छन् भने ४८ प्रतिशत गर्भवतीमा रक्तअल्पता छ । शिशु जन्मेदेखि ६ महिनासम्म लगातार आमाको दूध खुवाउनुपर्छ । तर, ७० प्रतिशत आमाले मात्र यस अवधिमा दूध चुसाउने गरेको पाइएको छ ।

बालबालिकाको वृद्धि अनुगमन हेर्ने मुख्य सूचक तौल हो । जन्मेदेखि दुई वर्षसम्म हरेक महिना अर्थात् २४ पटक बच्चालाई तौलिनुपर्छ । तर, मध्यपश्चिममा औसतमा तीनपटक तौल लिएको तथ्याङ्क छ । सुर्खेतस्थित पोषण पुनस्र्थापनागृहमा भर्ना भएका बालबालिकामध्ये अधिकांशलाई तीनपटक पनि तौलिएको छैन । ‘घरमै जन्माइयो । कसरी तौलिनु ?’ कालिकोटकी सीता विक भन्छिन्, ‘तौलिनुपर्छ भन्ने थाहा पाएको भए चौकीमा जान सकिन्थ्यो ।’ वाग्ले भन्छन्, ‘तौल बच्चाको स्वास्थ्य जाँच्ने मुख्य सूचक हो । अभिभावकलाई यही कुरा बुझाउन सकिएको छैन ।’

कुपोषणले उच्च जोखिममा रहेको मध्यपश्चिम क्षेत्रमा सरकारले न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार कुपोषण हटाउन सबै जिल्लामा भिटामिन ए, आइरन चक्की, जुकाको औषधि वितरण, आयोडिनयुक्त नुन खुवाउने कार्यक्रम, बालबालिकाको वृद्धि अनुगमनजस्ता कार्यक्रम सञ्चालित छन् । अतिशीघ्र कुपोषण हटाउन भेरी अञ्चल, मध्यपश्चिम क्षेत्रीय, राप्ती अञ्चल अस्पतालमा पोषण पुनस्र्थापनागृह पनि सञ्चालनमा छन् । त्यस्तै, रोल्पा र प्युठानमा किशोरीलाई आइरन चक्की खुवाउने कार्यक्रम, बर्दिया र दाङमा बालभिटा कार्यक्रम, बर्दिया, रुकुम, जाजरकोट, मुगु र जुम्लामा आइमाम कार्यक्रम, कर्णालीका पाँचवटै जिल्लामा मासिक तीन केजीका दरले पौष्टिक आहार वितरण, तराईका तीन जिल्ला बाँके, बर्दिया र दाङबाहेक मध्यपश्चिमका सबै पहाडी तथा हिमाली जिल्लामा कृषि तथा खाद्य सुरक्षा आयोजना पनि लागू छ ।

सरकारले बहुक्षेत्रीय पोषण कार्ययोजनासमेत लागू गरेको छ । क्षेत्रीय निर्देशक डोटेल कालिकोटमा आगामी साउनदेखि समुदायमा आधारित कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम सुरु हुने बताउँछन् । ‘कुपोषणमा सुधार ल्याउन तत्काल सम्भव हुँदैन,’ उनी भन्छन्, ‘बहुक्षेत्रीय समस्या भएकाले सबैको भूमिका उत्तिकै हुनुपर्छ ।’

(संचारिका फिचर सेवा)
(प्रकाश, सुर्खेतका पत्रकार हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: