दिदी


प्रकाशित मिति :2016-11-24 16:13:03

नवराज पराजुली

capture
केही वर्ष अघि मधेशमा, दाइजोको मोटरसाइकलमा पेट्रोल जलाउन नपाएर एक श्रीमानले आफ्नी गर्भिणी श्रीमतीलाई मट्टीतेलले जलाए । ति दिदीको शरीरको आगो निभ्यो, उनको स्वास पनि निभ्यो, तर त्यो समाचारले म भित्र जे जल्यो त्यो धेरै रातसम्म निभेन । म केही गर्न सक्दिनथें, यो कविता लेख्न बाहेक:

सतीदेवीको गाण्डीव

म सतीदेवी
सतीदेवी यादव
याद अब मेरो लोग्नेलाई नहोला,

तर
यति त मेरो पतिलाइ पनि पक्कै याद होला की
महादेवकी सतीदेवी र म
उस्तै गरी पग्लिँदै पग्लिँदै झरेर सिद्धिएथ्यौं
जसरी जूनको शीतलता शीतलतामा झरेपछि सिध्दिन्छ

फरक यत्ति हो कि
सतीका पिता दक्ष प्रजापतिले
महादेवको हातमा
निम्तोस्वरुप फूलको थुङ्गा नराखिदिंदा
सतीदेवी जिउँदै जलिन्,
अनि मेरा पिताले
मेरो पतिको हातमा
दाइजोस्वरुप मोटरसाईकलको चाबी राखिदिन नसक्दा
मलाई जिउँदै जलाइयो

जब दन्कियो आगोमेरो आँतमा
सबै जल्यो र केवल बाँकीरह्यो मेरो आत्मा

लिएर साथमा त्यही आत्मा
यो जून जलेको रातमा
आज म
मेरा पति बस्ने वधशालाको आँगनमा उभिएकीछु,
अनि बजाएर भीमको पौंद्र
म ललकारिरहेकिछु भीम जस्तै बलिया मेरा श्रीमानलाई !

शीरमा मान नभएका मेरा श्रीमान !
बाहिर आउ !
तर नडराउ
आगोसँग हार खाएको मेरो अनुहार हेरेर!!

किनकी
मेरो यो अनुहार भन्नु पनि त
तिमीले नै बनाएको एउटा कुरुप पेन्टिङ मात्रै न हो

फरक यत्ती हो की
तिमीले क्यानभास बनआएको थियौ मेरो शरीरलाई
रङको लेदो बनाएका थियौ तिमीले मेरो शरीरमा खन्याएको मट्टीतेललाई
अनि कुची बनाएको थियौ तिम्रो हातमा बलिरहेको सलाइको काँटीलाई

आँखा चिम्म गरी अन्तिम चोटी हेर तिम्रा हातहरू !
यी तिम्रा तिनै हात हुन्
जसले रातमा र मातमा मात्र मेरो साथ दिए,

यी तिम्रा तिनै हात हुन्
जसले मेरा दाइ जो दाइजो दिन सक्दैनथे
तिनका हात भाँचिदिए,

यी तिम्रा तिनै हात हुन्
जसलाई बाँसघारीमा सर्पले टोक्दा
मैले मेरो मुखले विष चुसेर फालिदिएकी थिएँ
तर यी तिनै हात हुन्
जसले मेरो मुखभित्र विषको बोतल कोचिदिए

त्यसरी त मेरी आमाले मलाई
सानोमा जुकाको औषधी पनि कोच्याएकी थिइनन्

आँखा चिम्नगरी अन्तिम चोटी हेर तिम्रा खुट्टाहरू !
यी तिम्रा तिनै खुट्टा हुन्
जुन खुट्टाको पानी पिएपछि मात्रै
म कुनै दिन खुट्टा टेक्न सक्ने भएकी थिएँ,
तर यी तिम्रा तिनै खुट्टा हुन्
जसले मेरो गर्भिणी पेटमा त्यतिखेर खुट्टा बजारे
जतिखेर मेरी पेटभित्रकी छोरी भर्खरै खुट्टा चलाउन थालेकी थिइ

तिम्रो यो अन्यायको अध्याय अन्त्य गर्न
आज मैले अर्जुनबाट
उसको गाण्डीव खोसेर ल्याएकी छु
र यसलाई चलाउन
मलाई कुनै कृष्णले भागवतगीता सुनाइरहनु पर्दैन
किनकी मलाई थाहा छ:

वासांसिजीर्णानियथाविहायनवानिग्रिह्णातिनरोपराणिक्ष्
तथा शरीराविहायजिर्णान्यन्यानिसंयातिनवानिदेहीक्ष्क्ष्

आज म लिएरै जानेछु तिम्रो फोक्सोबाट सास
र त्यहि श्वासले

सजायका नाम लेखिएका यति धेरै बेलुनहरू भर्नेछु की
छोरो जन्मिएको हरेक घरको मूल ढोकामा
खबरदारीको एउटा एउटा बेलुन झुण्ड्याउन पुगोस्

ताकी
भविष्यमा
कुनै पनि छोरीको जीन्दगीको बेलुन
दाइजोको काँडामा ठोक्किएर फुट्न नपरोस् ।

कमजोर बनाइएका दिदिहरूका यस्ता मुटु हल्लिने घटनाले मलाइ मेरा दिदीहबाट सिकेको पाठ याद आउँछ ।

म सानो हुँदा मेरी ठुली दिदी खेत रोप्दा गांजहरूसंग लय मिलाउँदै गीत गाउँथी । हिलोको छाप्ल्याङछुप्लुङले बाजाको काम गर्थ्यो । म सानैमा पक्का थिएँ कि मेरी दिदी त्यो गाउँको टिभीमा गीत गाउने दिदीजस्तै बन्नेछे । तर मेरी दिदीका औंलाले स्कुलमा पेन्सिल भन्दा बढी भान्सामा पन्यू चलाए । दिदीका हत्केलाले स्कुलमा किताब भन्दा बढी खेतमा हंसियाको बींड समाए । स्कुलका मार्कसिटले दिदीलाई मन पराउन छोडे । घरका, खेतका कामले दिदीलाई औधी मन पराउन थाले । दिदी र हँसियाले युगल गीत गाए, दिदी र गाईले युगल गीत गाए ।

ऐले मेरी ठुली दिदी भिनाजुको घरमा छे, घरको, खेतको काम सकेर समय मिल्यो भने त्यहाँको भजन मण्डलीमा गीत गाउँछे । उसलाई सुन्ने मान्छे, त्यही पचास साठी जना हुन्छन् ।

मेरी दिदी त्यो टिभीमा गीत गाउने दिदी जस्ती हुन किन सकिन ?

म सानो हुँदा ,मेरी माइली दिदी गाउँघरको एउटा सामाजिक संस्थाको देउसीमा सबैभन्दा राम्रो नाच्थी । स्कुलको देउसीमा पनि उसले नाचेपछी मात्र धेरै दक्षिणा पाइन्थ्यो । म सानैमा पक्का थिएँ कि मेरी दिदी त्यो गाउँको टिभीमा नाच्ने दिदीजस्तै बन्नेछे । उसकापैतालाले स्कुलको चौरलाइ कम टेके, बाख्रा चर्ने चौरलाइ बढी । उ स्कुलमा कम र खेतमा बढी नाची ।

ऐले मेरी माइली दिदी भिनाजुको घरमा छे, घरको, खेतको काम सकेर समय मिल्यो भने त्यहाँको भजन मण्डलीमा नाच्छे । उसले नाचेको हेर्ने, त्यही पचास साठी जना हुन्छन् ।

मेरी दिदी त्यो टिभीमा नाच्ने दिदी जस्ती हुन किन सकिन ?

म सानो हुँदा, मेरी कान्छी दिदी सबैलाई काम अह्राउँथि, अनि हामी सबै उसले भनेको मान्थ्यौं । गाउँमा टिभी हेर्न जाँदा पनि उ पुलिस भाको फिलिम खुब रुचाउँथी । म सानैमा पक्का थिएँ कि मेरी दिदी त्यो गाउँको टिभीमा आउने पुलिस जस्तै बन्नेछे ।

एस. एल. सी दिएपछि विराटनगरमा खुलेको पुलिसको भर्नामा उसले जान्छु भनी । घरगाउँ ,नागातागोता सबैले “यसको मति बिग्रियो, छोरी मान्छे पनि पुलिस सुलिस मा लाग्ने हो१” भने । उसले कसैले भनेको सुनिन । मनले भनेको सुनी । सबै रिसाए उ संग, तर उ आफूसँग खुसी थिई । उ पास भइ । घरगाउँ, नागातागोता सबैले “छोरीको मति होस् त सीता९मेरी कान्छी दिदी०को जस्तो होस्, छोरी मान्छे भएर पनि पुलिसमा लागेरै देखाई १” भने ।

मेरी कान्छी दिदी त्यो टिभीमा आउने पुलिस जस्तै भइ ।

मेरी कान्छी दिदीले देखाएको आँट मेरा देशभरिका दिदीहरूमा होस् भन्ने लागिरहन्छ ।

मेरो गाउँमा एकजना दिदी हुनुहुन्थ्यो, जो बजार जाँदा एकछिन सबै बजार रोकिए झैँ उहाँलाई हेर्थ्यो । उहाँको सुन्दरताको रंगको बयान गर्नमा दर्जनौंले दर्जनौं घण्टा बिताउँथे । उहाँको बिहे भएको दिन, गाउँका धेरैले अफ्नो गाउँबाट रंगले बिहे गरेर अन्त गएजस्तो गरे । तर केही वर्षमा, त्यो दिदीको सिन्दुरको रंग उड्यो, सारीको रंग उड्यो । दिदी माइतमै आएर बस्न थाल्नुभो । त्यो दिदी बजार जाँदा बजार किनबेचमै ब्यस्त रह्यो । उहाँ बजार आएको खबर उहाँले किनेको तरकारी बेच्ने पसले बाहेक अरु कसैले थाहा पाएन । उहाँको कुरा काट्न दर्जनौंले दर्जनौं घण्टा बिताए । गाउँका धेरैले गाउँबाट बिहे गरेर गएको रंग सादा सेतो सारीमा दाग बनेर आएझै गरे । म केही गर्न सक्दिनथें, यो कविता लेख्न बाहेक स्

डढेको इन्द्रेणी

जब म आकाशमा
तीन दिन पुगेको हँसिया जस्तो चन्द्रमा देख्छु
यस्तो लाग्छ
त्यसमा एउटा बिंड हालिदिउं
र त्यहि हँसियाले
इन्द्रेनीलाई यति टुक्रामा विभाजित गरौं की
संसारका सारा विधवाको ओठमा रंग भर्न पुगोस्

जब म आकासमा
भैंसीको थुन जस्तै गरी पग्रिएको बादल देख्छु
यस्तो लाग्छ
त्यो बादल
विधवाहरूको मुटु जलेर निस्केको धूवांले बनेको हो

एक दिन जब
फुट्नेछ त्यो बादलको परेली
र सागरमाथिबाट तलतिर दर्कनेछ
त्यसदिन यो सारा पृथ्वीले आफूलाई
विधवाको आँसुले सिचाईं गर्नेछ

तर उम्रिहाल्यो केही भने यस पृथ्वीमा
केवल सेता च्याउहरूमात्र उम्रने छन्
किनकी
विधवाको आत्माको रंग त तिमीहरूले
त्यही दिन पखाली सक्यौ
जुनदिन
उनीहरूको निधार मास्तिरको धारको रातो रङ पखाल्यौ

त्यसदिनपछि हरेक दिन
तिमीहरू
विधवाको आकाशको इन्द्रेणीलाई
पुल्ठो लगाएर डढाइरहेका छौ

नपत्याए हेर
आजभोली घामपानी पर्दा
आकासमा एउटा
खरानीरङको बाङ्गो धर्सामात्र झुन्डिरहेको देख्नेछौ

कित हटाउ विधवाको छातीबाट नौनीको चोलो
कित हटाउ आकाशको छातीबाट आगोको घाम

हैन भने
पग्लिन देउ जेजे पग्लिन्छ

कित हटाउ विधवाको कम्मरबाट रुवाको सारी
कित हटाउ आकाशको कम्मरबाट चुहिएको बादल

हैनभने
भिज्नदेउ जेजे भिज्छ

यदि थाङ्ग्रो भाँचिदा
त्यसमा बेरिएको बोडीको बेलोले पनि भाँचिनुपर्छ भने
हेरिराख
अब हरेक बोडीको बेलोले
आफूभित्र एउटा पीपलको रुख उमार्नेछन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: