महिला हिंसाविरूद्धको अन्तर्राष्ट्रिय दिवस : परिणाममुखी भन्दा देखाउने काम धेरै


प्रकाशित मिति :2016-11-25 08:00:07

नेपालमा महिला हिंसाविरूद्ध केही नै नभएको होइन । तर यहाँ दीगो र परिणाममुखी भन्दा तत्काल देखाउने काम धेरै भइरहेका छन् । यसको प्रत्यक्ष मारमा पर्छन हिंसा पीडित महिला ।
दुर्गा कार्की

pic-dआज महिला हिंसाविरूद्धको अन्तर्राष्ट्रिय दिवश । आजदेखि १६ दिनसम्म महिला अधिकार प्राप्तिका लागि भएका काम र हिंसाको स्वरूपका बारेमा विश्वव्यापी रूपमै बिभिन्न कार्यक्रम गरेर यो दिवश मनाइन्छ । महिलामाथि हुने हिंसा विश्वव्यापी छ । देशको सामाजिक—आर्थिक अवस्था र साँस्कृतिक मुल्य मान्यताका कारण हिंसाको स्वरूप फरक होला ।

एक तथ्याकं अनुसार हरेक तीनमा एक महिलाले जिवनमा कुनै न कुनै किसिमको हिंसा खेप्न बाध्य छन् । घरभित्र र सार्वजनिक स्थान कुनैपनि ठाउँमा महिला सुरक्षित छैनन् ।

युएन ओमनकी कार्यकारी निर्देशक फुम्जाइल म्लाम्बो न्गुका भन्छिन् ‘हामी घरमा सुरक्षित हुन पाउनुपर्छ, सडकमा सुरक्षित रूपमा हिँडडुल गर्न, बिद्यालय जान, काम गर्न र सुरक्षित रूपमा बजार र फिल्म हेर्न जान पाउनुपर्छ ।’ यो भनाइले पनि महिला घरभित्रदेखि सवैठाउँमा नै असुरक्षित छन् भन्ने बुझाउँछ ।

नेपालमा पनि सवैभन्दा धेरै महिला घरभित्रै असुरक्षित छन् भन्ने तथ्याङ्कले पुष्टि गरेको छ । नेपाल प्रहरीको विवरण अनुसार २०७२÷०७३ मा ९ हजारभन्दा धेरै महिला आफ्नै परिवारका सदस्य र आफन्तबाट पीडित भए । त्यस बाहेक यौन हिंसा, बलात्कार बेचविखन, बोक्सीलगायतका हिंसा पनि समाजमा धेरै छन् ।

बिभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र सरकारले सन्चालन गरेका बिभिन्न चेतनामुलक कार्यक्रमले महिलामा जागरण ल्याएको छ । हिंसा सहनुहुन्न भन्ने विश्वास उनीहरूमा जागेकाले हिंसाका घटना बाहिर आउने क्रम बढेको छ । प्रहरी, सरकारी अधिकारी र अधिकारकर्मीहरू भन्छन् ‘हिंसा पहिला पनि थियो, भित्रभित्रै थियो, अव महिला सचेत भए, बाहिर आउन थाले र महिलामाथि हिंसा बढेको जस्तो देखिएको मात्रै हो, घटना बाहिर आउनु निकै सकारात्मक हो ।’

नेपालमा प्रजातन्त्र पुर्नस्थापनापछि महिला अधिकारको क्षेत्रमा ‘सफ्टवेयर’ मा अर्थात चेतना दिनमात्रै प्रशस्त काम भए । अझै हुँदै छ । तर यसलाई सम्बोधन गरी व्यवस्थापन गर्ने ‘हार्डवेयर’ अर्थात संयन्त्रहरू कति प्रभावकारी छन् ? यो संख्यामा आउने हिंसापीडितलाई न्याय दिलाउन र पुर्नस्थापना गर्न उनीहरूको हालको क्षमता पर्याप्त छ ? भएका केही संयन्त्रको यहाँ चर्चा गरौं ।

महिलामाथि हुने हिंसालाई सम्बोधन र व्यवस्थापन गर्न संयन्त्र हुँदै नभएको भने होइन । यसका लागि नेपाल प्रहरीमा देशैभरी २७० महिला तथा वालवालिका सेवा केन्द्र छन् । तर अधिकाशं केन्द्रमा महिला प्रहरी छैनन् । कतिपय केन्द्रमा त पीडित महिलालाई राखेर कुरा गर्ने ठाउँको समेत अभाव छ । ७५ जिल्लामा महिला बालबालबालिका कार्यालय छ । हिंसापीडित महिलाको उजुरी लिन सक्छ, तर ती महिलालाई तत्काल चाहिने सरंक्षणको व्यवस्था छैन ।

हिंसा पीडित महिलालाई स्वास्थ्य, कानुनीलगायतका उपचारका लागि छुट्टाछुट्टै ठाउँमा भौतारिनु नपरोस भनेर २१ वटा जिल्लाका जिल्ला अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र (One stop crisis management center) स्थापना गरिएको छ । आठवटा जिल्लामा थप गर्ने योजना रहेको महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले जनाएको छ । हिंसापीडित महिलाको स्वास्थ्यदेखि कानुनी उपचारका लागि प्रहरीमा उजुरी, मनोपरामर्श सेवा एकै ठाउँबाट दिने अवधारण अुनसार जिल्ला अस्पतालमा यो केन्द्र राखिएको हो ।
पीडित महिलाका लागि यो केन्द्रमा मनोसामाजिक विमर्शकर्ता, कानुन व्यवसायी र चिकित्सक उपलब्ध हुनुपर्छ । तर यी २१ जिल्लाका अस्पतालमा राखिएको यो केन्द्रबाट पाइने सुविधाका बारेमा धेरै पीडित महिला नै बेखबर छन् ।

हिंसापीडित महिलाको संरक्षणका लागि सरकारले १७ वटा जिल्लामा सुरक्षा आवास स्थापना गरेको छ । घरेलु हिंसापीडितका लागिमात्र स्थापित यी आवास गृहमा ४५ दिनमात्रै राख्ने व्यवस्था छ । घरबाट निस्केकी महिला ४५ दिनपछि फेरी कहाँ जाने ? घरेलु हिंसापछि यौन हिंसाका घटना बढेको प्रहरीले बताउने गरेको छ । नेपाल प्रहरीको महिला बालालिका सेवा निर्देशनालयका अनुसार महिलामाथि हुने सवैभन्दा धेरै हिंसा घरेलु र त्यसपछिको यौन हिंसा रहेको छ । गत आर्थिक वर्ष २०७२/७३ मा १०९० वटा यौन हिंसाका घटना भए । यति ठूलो हिंसाबाट पीडित महिला सुरक्षाका लागि कहाँ जाने ? तथाकथित बोक्सी आरोपबाटपीडित महिला पनि सरकारको यो आवास गृहमा अटाउँदैनन् । उनीहरू राज्यको नजरमा पीडित हैनन् भन्ने अर्थ लाग्छ ।

यसैगरि बेचविखनमा परेर फर्केका महिलाका लागि आठवटा जिल्लामा पुर्नस्थापना गृह छन् । यहाँ उनीहरूलाई ६ महिना राख्ने व्यवस्था छ । उनीहरूलाई सीपमुलक तालिम उपलब्ध गराउने भनिएको छ । तर व्यवहारिक रूपमा यो पनि कार्यान्वयनमा छैन ।

हिंसापीडित महिलालाई तत्काल स्वास्थ्य उपचार र अन्य कानुनी उपचारका लागि लागि आर्थिक सहयोग गर्न लैंगिक हिंसा निवारण कोष छ । सुरूमा ७५ हजार रूपैयाँ यो कोषमा राखिएको र जिल्लाको आवश्यकता अनुसार माग गर्न पाउने व्यवस्था छ । यो कोषबाट पीडितको उपचार, पुर्नस्थापना खर्च र व्यवसाय गर्न चाहेमा बीउपुँजी समेत दिन पाउने व्यवस्था छ । तर व्यवहारमा यो कोष परिचालन अत्यन्त जटिल छ । एकजना पीडितले यो कोषबाट सहयोग लिन चाहेमा उनले आफू पीडित भएको भन्ने गाविसको शिफारिसदेखि उपचार गराएको अस्पतालको प्रेस्क्रिप्सनसम्म पेश गर्नुपर्छ । व्यवहारमा यो करिव करिव असम्भव जस्तै छ ।

गम्भीर खालको हिंसामा परेकी महिलालाई तत्काल उद्दार गरी संरक्षण र अन्य उपचार गर्ने भन्ने अवधारणा अनुसार प्रधानमन्त्री कै निगरानी रहने गरी प्रधानमन्त्री कार्यालयमै  लैंगिक हिंसाविरूद्धको इकाइ छ । यसले पनि हिंसामा परेका महिलाका सामान्य उजुरी लिनेबाहेक खासै काम गर्न सकेको देखिँदैन ।

यी संयन्त्र जुन अवधारणामा स्थापना भएका थिए त्यस अनुसार काम गर्न सकेको खण्डमामात्रै पनि हिंसापीडित महिलाले धेरै राहतको अनुभूति गर्नसक्ने देखिन्छ । एकपछि अर्को संयन्त्र खडा गर्ने वा विस्तार गर्ने, तर त्यसलाई साधन स्रोतविहिन अवस्थामा राख्ने कामले दातालाई यस्तो काम गरेका छौं भनेर देखाउन त सकिएला, तर यस्तो देखावटी व्यवहारले न पीडित महिलाले न न्याय पाउँछन् न संरक्षण नै ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: