महिलाले गर्ने विभेद


प्रकाशित मिति :2016-11-25 13:00:01

मधु राई
काठकाडौं। सर्वप्रथम महिला स्वयंले प्रयास नगरेसम्म महिला विकास र महिला सशक्तीकरणका कुराले मात्र महिला—महिलाबीचको विभेद हट्दैन ।

मंसिर १०, २०७३- अखबारी लेखनको यात्राले डेढ दशक पुरा गरिसक्दा पनि आफू जहाँबाट हिँडेको थिएँ, त्यहीं आइपुगेछु जस्तो लाग्छ । यो डेढ दशकमा मेरो आफ्नो लेखकीय पहिचानलाई कति महिलाले स्वीकारे ? कतिले मनन गरेर आफूलाई परिवर्तनको संघारमा पुर्‍याए वा पुर्‍याउन संघर्ष गर्दैछन् ? त्यसको लेखाजोखा राख्न वा गर्न गाह्रो छ । तैपनि समग्र समाजको वर्तमान अवस्था हेर्दा महिलाहरूको हरेक क्षेत्रमा संलग्नता बढ्दैछ भन्ने पूर्वाधार भने तयार हुँदैछ, चाहे उनीहरूले पत्रपत्रिका पढेर होस् वा कसैको सिको गरेर होस् वा छोरीबुहारीले उच्चशिक्षा हासिल गरेर होस् ।

यद्यपि महिलाहरूको सहभागिता र संलग्नतालाई कतिपय गृहिणीले बाहिरी रूपमा स्वीकारे पनि भित्री रूपमा स्वीकारेको अझै देखिंँदैन । भनौं, उनीहरू जानी—नजानी नजरअन्दाज गर्दैछन् । कतिपय महिला आत्मनिर्भर बन्ने प्रयास गर्दैछन् भने बहुसंख्यक हुनेखाने महिला सुखसयलमै अल्मलिएका छन् ।

यिनीहरूलाई महिला विकास र महिला सशक्तीकरणका कुरासँग कुनै सरोकार छैन । बहुसंख्यक हुनेखाने महिला आफ्नो हैसियत बराबरका सँगमात्र हिमचिम गर्न मनपराउँछन् भने कतिपय हुँदाखाने महिला आज पनि पाषाण युगभन्दा बाहिर निस्कनसकेका छैनन् । त्यहाँ अशिक्षा र अज्ञानताले यति साह्रो जरा गाडेको छ, जहाँ उनीहरू विकास र परिवर्तनको कल्पनासम्म गर्न सक्दैनन् ।

पछिल्लो समय कतिपय सहरमा बस्ने हुनेखाने मात्र हैन, हुँदाखाने महिलाको जीवनशैली र दैनिकीमा समेत परिवर्तन आएको छ । तर सोच उही पुरातन छ, जहाँ परिवर्तनको कुनै गुञ्जाइस छैन । उनीहरू बीच यतिमात्र फरक छ, हुनेखानेहरू पक्की घरमा बस्छन् र नयाँ—नयाँ सवारी साधन प्रयोग गर्छन् भने हुँदाखानेहरू डेराकै बसाइ भए पनि आधुनिक सवारी साधन चढ्ने र प्रयोग गर्ने भएका छन् । यस्तै कतिपय पहाडे मूलका महिला चाहे हुनेखाने हुन्, चाहे हुँदाखाने, उनीहरू स्थानीय आमा समूह वा सहकारी संस्थामार्फत भए पनि संगठित हुँदैछन् । यस्ता संघ/संस्थामा आबद्ध महिलामा मिलेर सामूहिक व्यवसाय वा सामाजिक कार्य गरौं भन्ने भावनाको भने प्राय: कमी नै देखिन्छ ।

आफूलाई परिआएको आर्थिक गर्जो टार्न थोरै भए पनि यस्ता सहकारी संस्थाले उनीहरूलाई टेवा दिइरहेका छन् । यद्यपि यस्ता आमा समूह र सहकारी संस्थाले दिने गरेको ऋणबाट स्वरोजगारका लागि उद्यम गर्ने वा व्यवसाय गर्ने महिलाको संख्या नगन्य छ । आमा समूह वा सहकारी संस्थाले पनि यस्ता महिलालाई पर्याप्त रूपमा सीपमूलक तथा आयमूलक तालिम दिनसकेका छैनन् । यसले गर्दा महिलाहरू आत्मनिर्भर बन्नसकेका छैनन् ।

केही महिला घरपरिवार वा आफ्नै क्षमता वा योग्यताले व्यवसाय वा उद्यम गर्न सफल भए पनि अधिकांश महिला आफ्नै व्यक्तिगत समस्या वा आत्मविश्वासको कमीले पछि परेको देखिन्छ । किनभने बहुसंख्यक महिला हिजो बुबा, आज श्रीमान र भोलि छोराले पाल्छ भन्ने पुरातन मानसिकताबाट बाहिर निस्कनसकेका छैनन् । कतिपय सासुआमा अझ पनि छोरीबुहारीलाई घरधन्दाकै काममा अल्झाइराख्न चाहन्छन् । ‘आफूमात्र कति घोटिनु’ भन्ने मानसिकताबाट उनीहरू माथि उठ्नसकेका छैनन् । यस्ता सासुआमाहरूका कारण पनि बहुसंख्यक शिक्षित महिला योग्य भए पनि घरधन्दाकै काममा रुमल्लिएको देखिन्छ । यस्तो अवस्थामा महिला विकास र महिला सशक्तीकरणको पहिलो श्रीमान त्यसपछि घरपरिवार बाधक बनेको देखिन्छ ।

यस्तै पुरातन मानसिकता भएका सासुआमाका छोरा अर्थात् पुरुष अझै पनि आफ्नो श्रीमतीलाई ‘तिम्रो काम भनेको घरधन्दा र छोराछोरीको हेरविचार गर्ने हो, पैसा कमाउने काम त हामी पुरुषको हो’ भन्दै हतोत्साहित गर्छन् । यस्ता पुरुष वा श्रीमानले एकपटक पनि सोच्दैनन् कि म बाँचुन्जेल त सुखसयलमै राखँुला, म पछि मेरो परिवारको के हाल होला ।

बहुसंख्यक गृहिणी पनि ‘हाम्रो त श्रीमानले नै केही गर्न दिनुहुन्न । तपाईका जस्ता भए त हामी पनि गथ्र्याैं नि’ भनी गुनासो गर्छन् । विशेषगरी यस्ता महिलाको गुनासो कति जायज छ भनेर जाँच्ने कसी कहीँ कतै छैन । पुरुषप्रधान समाज र पुरुषमैत्री घरपरिवारमा महिलाको अस्तित्व स्वीकार्ने घरपरिवार संख्यात्मक हिसाबले कमै छन् । तर त्यस्ता महिला स्वयंले कति प्रयास गरे वा गर्दैछन्, त्यो भने बहसको विषय बन्न सक्छ ।

अझ जागिरे श्रीमानका श्रीमतीहरू त्यसमाथि हाकिम पद वा राजनीतिक पहुँच हुने श्रीमान भए, उनीहरूको आर्थिक र सामाजिक हैसियतले नै उनीहरूलाई केही गर्न दिँंदैन । यस्ता हुनेखाने र शिक्षित महिलाको एकमात्र चाहना भनेको सुखसयलपूर्ण जीवन बिताउनु हो । यस्ता महिलाले जो महिलाले घरपरिवारको व्यवहार मिलाउँदै सामाजिक पहिचान बनाउन संघर्ष गर्दैछन्, उनीहरूको क्रियाशीलतालाई नजरअन्दाज गर्ने गरेका छन् । यस्ता संघर्षशील महिलाले गर्दा घरपरिवारमात्र हैन, टोलछिमेकलाई परिवर्तनको संघारमा पुर्‍याएको छ भन्ने कुरा यिनीहरूको प्राथमिकतामा पर्दैन ।

यद्यपि पछिल्लो समय महिला सहभागिता तीज र देउसी–भैलीमा उत्साहजनक देखिन्छ । हुन पनि वर्षेनि मनाइने यस्ता चाडपर्वमध्ये तीज मनाउने शैलीमा पनि भिन्नता आउँदैछ र महिना दिनअघि तडक—भडकसाथ पार्टी प्यालेसहरूमा मनाउन थालिएका यस्ता चाड पछिल्लो समय आलोचित पनि बन्दैछ । यस्तै कतिपय प्रगतिशील महिलाले तीजको अवसर पारेर सामाजिक कार्य पनि गर्दै आएका छन्, तैपनि बहुसंख्यक महिलाले यस्ता कार्यलाई अनुशरण भने गर्नसकेका छैनन् । यस्ता महिलाकै कारण आज तीज भड्किलो र महँगो बन्दै गएको छ । यसरी आ–आफ्नो गच्छेअनुसार मनाइँदै आएको तीजजस्ता धार्मिक चाड महिलाको सोच र जीवनशैलीकै कारण आलोचित बन्न पुगेको र यो यो चाड मनोरञ्जन लिने र दिने दिनको रूपमा सीमित भएको छ । यसरी प्रगतिशील महिला र परम्परागत सोच भएका महिला बीचको विभेद घरपरिवारबाट नै सुरु भएको देखिन्छ । यद्यपि आफ्नो योग्यता र केही गरौं भन्ने भावनाबाट प्रेरित भई स्व:स्फुर्त रूपमा कार्य गर्ने महिला आफूलाई स्थापित गराउँदै अन्य महिलाका लागि पनि उदाहरण बन्दै गएको हामीले आएका छौं ।

यस्तै २ दशकभन्दा लामो समय चेलिबेटी बेचबिखनको क्षेत्रमा क्रियाशील हाम्री चेली अनुराधा कोइरालाले सात वर्षअघि सीएनएन हिरोको उपाधि जितेर विश्वलाई चकित पारिन् । सामग्रमा भन्नुपर्दा नेपाली महिलालाई सबैभन्दा पहिले आफ्नै सामाजिक कुसंस्कारले ठगेको छ र त्यसपछि पुरुषवादी परम्परागत सोच भएका आफ्नै परिवारका सदस्य जो परिवर्तनलाई सहजै स्वीकार्दैन । सर्वप्रथम महिला स्वयंले प्रयास नगरेसम्म महिला विकास र महिला सशक्तीकरणका कुराले मात्र महिला—महिला बीचको विभेद हट्दैन । यसका लागि आफू पछि पर्नुको कारण पत्तो लगाई गृहिणी महिलाहरू क्रियाशील महिलाहरूप्रति सकारात्मक हुन जरुरी छ । सकारात्मक धारणाले नै मानिसलाई असल काम गर्न प्रेरित गर्छ । अनिमात्र महिला—महिलाबीच मित्रता बढ्छ र उनीहरू बीचको विभेद मेटिने वातावरण तयार हुन्छ ।

 साभार: कान्तिपुर

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: