प्रताप बानियाँ
म्याग्दी । ‘घर शान्ति नै विश्व शान्तिको आधारः दीगो विकासका लागि लैङ्गिक हिसारहित समाज’ भन्ने मूल नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान–२०१६ शुरु भएको छ ।
हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अर्थात् मंसिर १० गतेदेखि २५ गतेसम्म मनाइने यो दिवस महिला तथा बालबालिका कार्यालय म्याग्दीको आयोजनामा शुक्रबार सदरमुकाम बेनीमा र्याली सहित शुरु गरिएको हो ।
बेनीको शहिद स्तम्भचोकबाट प्ले कार्डसहित शुरु भएको र्यालीले लैङ्गिक हिंसाविरुद्धका नारा लगाउँदै पुनः सोही स्थानमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले लैङ्गिक हिंसा न्युनीकरणका लागि आयस्रोत र चेतनाको विकास गर्नुपर्ने बताए । उनले समाजमा हिंसा न्युनीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै छोराछोरी दुवैलाई समान अधिकार दिनुपर्नेमा जोड दिएका थिए ।
महिला तथा बालबालिका कार्यालय म्याग्दीका प्रमुख महिला विकास अधिकृत निर्मला शर्माले लैङ्गिक हिंसा नगर्ने प्रतिबद्धता सहित सेतो रिबन वितरण गरिएको बताउँदै हिंसा रहित सुन्दर भविष्यका लागि यस वर्षदेखि १६ दिने अभियानका क्रममा साङ्केतिक रुपमा सुन्तला रङको पनि प्रयोग गरिएको बताइन् ।
Comment Here!