काम एउटै, ज्याला फरक


प्रकाशित मिति :2016-11-26 10:10:29

‘पुरुषले गर्ने काम भनिएका घर ढलान गर्ने, सिमेन्ट लगाउने, घरमा रङ लगाउने, बेल्चा लगाउनेलगायतका काम महिलाले पनि उत्तिकै मात्रामा गर्छन् । तर, अछाममा महिलाको कामलाई हेर्ने दृष्टिकोणमा चर्को विभेद छ ।’

विद्युत्मा रैका

14010002_10208310772181676_644587627_n
अछाम । मंगलसेनकी रत्ना ढुङ्गाना घर प्लास्टर गर्ने कामबाट दैनिक तीन सयदेखि पाँच सय रुपैयाँसम्म कमाउँछिन् । उनीसँगै काम गर्ने उनका श्रीमानले चाहिँ दैनिक सात सय ५० रुपैयाँ पाउँछन् । ज्यामी काम गरेरै बिहान–बेलुकाको छाक टार्दै आएको उनको परिवारको ठूलो खर्च रत्नाको कमाइबाट धानिएको छ । दैनिक काम गरेबापत रत्ना र उनका श्रीमान् सँगै ज्याला बुझ्छन् । रत्नाको कमाइ श्रीमान्को भन्दा आधाजति मात्रै हुन्छ । रत्नाले आफ्नो दैनिक तीन सय ५० रुपैयाँ कमाइबाट बालबच्चा पढाउने र घरखर्च चलाउनुपर्छ । श्रीमानचाहिँ धेरैजसो भट्टीतिर जान्छन् र रक्सी खाएर पैसा सिध्याउँछन् ।

रत्नाले पटकपटक श्रीमानको जति नै आफ्नो पनि ज्याला हुनुपर्छ भनेर माग राखिन् । तर, साहुजीले सुने पो । एक दिन रिसाएर बरु काममै नआउनु भने । त्यसपछि रत्ना चुपचाप काम गर्न बाध्य भइन् । रत्ना भन्छिन्, ‘लोग्नेमान्छेले जत्तिकै काम गर्छौं, पैसा दिने बेलामा आइमाई भनेर कम दिन्छन् । काम नगरे खान पाइँदैन । चुप लागेर आइराखेकी छु ।’

घरमा आम्दानी थिएन, खेती–किसानीको कामले पाँचजनाको परिवार पाल्न निकै असहज थियो । दिनभरि दुःख गरेर कमाएको पैसा रत्ना छोराछोरी पढाउन, घरखर्च चलाउन खर्चिन्छिन् । उनका श्रीमान् कहिलेकाहीँ भट्टीमा रक्सी खाएर आएर घरमा निहुँ खोज्छन् । उनी भन्छिन्, ‘मीठो–मसिनो खाने बेला भयो कि तेरो कमाइ नै कम छ थोरै खा भनेर हेप्छन् ।’ ज्यालादारीमा काम गर्दा पुरुषहरू लाठे हुन्छन्, महिलाहरू काम कम गर्छन् भन्ने बुझाइ छ । तर, ज्यामी काममा महिला बढी लगनशील, इमानदार हुन्छन् । त्यही इमानदारीको फाइदा उठाएर ज्यालामा साहुले शोषण गर्दछ । महिला र पुरुषमा असमान ज्याला अछाममा मात्रै होइन, अन्यत्र पनि छ ।

13987202_10208310762101424_851896952_o

मंगलसेन– ६ की कोकिला विक पनि दैनिक ज्यालादारीमा काम गर्छिन् । सदरमुकाममा ज्यामी काम गर्ने महिला, पुरुष बराबरी जस्तै छन् । ज्याला दिने बेलामा भने विभेद हुन्छ । कोकिला तीन वर्षदेखि घरमा रङ लगाउने काम गर्छिन् । उनका श्रीमान् विदेशमा छन् । मजदुरी गरेर नै कोकिलाले सातजनाको परिवार पाल्दै आएकी छिन् । ‘खेती–किसानी गर्दा खान कहिल्यै पुगेन । अहिले महिनामा कम्तीमा नौ हजार कमाउँछु । एउटा छोरालाई ‘ब्याचलर’ पढाइरहेकी छु । अरू स्कुल जान्छन्,’ उनले भनिन्, ‘श्रीमानले पैसा नपठाए पनि छोराछोरी पढाउन र बिहान–बेलुकाको छाक टार्न गाह्रो छैन ।’ उनको गुनासो एउटै छ– बराबरी काम गरे पनि पैसा कम पाउँदा भने काम गर्नै मन लाग्दैन । के गर्नु काम नगरी पनि भएन । जति दिए पनि चुप लाग्यो, काममा आयो ।

सदरमुकामकै ५० वर्षीया मीना ओड पहिले ज्यामी काम गर्न जान्दैनथिन् । नकमाउने भएपछि घरमा पनि हप्कीदप्की गर्न थाले । त्यसपछि उनले पनि ज्यामी काम गर्न थालिन् । अहिले उनी प्लास्टरको काम पनि सजिलै गर्न सक्छिन् । उनी भन्छिन्, ‘श्रीमानले मात्रै काम गर्दा घर चलाउन गाह्रो हुन्थ्यो । आइमाई पनि लोग्नेमान्छेसँगै काम गर्न थालेपछि ज्याला कम भए पनि झैझगडाचाहिँ कम भएको छ ।’ मीना भन्छिन्, ‘उत्तिकै मिहिनेत गर्छु, तर ज्याला हामीलाई कम दिन्छन् । के गर्नु भोकै बस्न सकिँदैन ।’ अहिले मंगलसेनमा करिब ५० देखि ६० महिला डकर्मी छन् । सयभन्दा बढी महिला ज्यामी छन् । महिलाले पुरुषले भन्दा बढी नै मिहिनेत गर्छन् । त्यसैले निर्माण व्यवसायीहरू पुरुषभन्दा महिलालाई काममा राख्न रुचाउँछन् । किनकि उनीहरूलाई ज्याला पनि कम दिए हुन्छ ।

अन्तरपार्टी महिला सञ्जाल अछामकी अध्यक्ष सरस्वती रावल महिलाले समान ज्याला पाउनुपर्छ भनेर पटकपटक आवाज उठाए पनि सुनुवाइ नभएको बताउँछिन् । उनी भन्छिन्, ‘आजको युगमा पनि महिलाले समान कामको समान ज्याला पाएका छैनन् । महिलालाई हेर्ने दृष्टिकोण नै विभेदपूर्ण छ । महिलालाई कमजोर ठान्नु, महिलाले धेरै राम्रो काम गर्न सक्दैनन् भन्नु नै गलत हो ।’

हुन पनि पुरुषले मात्र गर्ने भनिएका घर ढलान गर्ने, सिमेन्ट लगाउने, घरमा रङ लगाउने, बेल्चा लगाउनेलगायतका काम महिलाले पनि उत्तिकै मात्रामा गर्छन् । महिला तथा तथा बालबालिका कार्यालय अछामकी सुपरभाइजर मञ्जु महत भन्छिन्, ‘पुरुषको तुलनामा महिला कमजोर छैनन् । अछाममा आयआर्जनलगायत विभिन्न क्षेत्रमा पुरुषभन्दा महिला नै अगाडि छन् । तर, महिलालाई हेर्ने दृष्टिकोणमा भने विभेद छ ।’

(संचारिका फिचर सेवा)
(विद्युत्मा, अछामकी पत्रकार हुन् ।)

फाईल तस्विर

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: