जसलाई हुन्छ स्तन क्यान्सर हुने जोखिम


प्रकाशित मिति :2016-11-27 13:20:39

डा. ज्योती रायमाझी (ब्रेष्ट सर्जन), डा. सन्ध्या चापागाइ (क्यान्सर विशेषज्ञ)

काँग्रेस नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सर भएपछि धेरै महिलाहरुमा यस सम्बन्धि चिन्ता बढेको पाइएको छ । उपचारका लागि उनले सरकारसँग मागेको भनिएको खर्चका कारण पनि महंगो हुने रहेछ भन्ने भ्रम फैलिएको छ । उनको उपचार विदेशमा भइरहेकाले यसको नेपालमै उपचार हुँदैन कि भन्ने संकोच देखिन्छ । स्तन क्यान्सरका उपचार नेपालमै संभव छ । सुरुकै अवस्थामा पत्ता लाग्यो भने पूर्ण निको पार्न यहीँ सकिन्छ । महंगो पनि छैन । तर लाज र डरका कारण, चेतना नहुँदा, हेलचक्र्याइँले बिरामीहरु जटिल अवस्थामा मात्रै अस्पताल आउने गर्छन् ।

महिलाहरुमा हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा पर्छ । पहिलो पाठेघरको मुखको क्यान्सर हो । क्यान्सरका कारण हुने महिलाको मृत्युमा पनि स्तन क्यान्सर दोस्रो नम्बरमै छ । पछिल्लो समयमा नेपालमा स्तन क्यान्सरका बिरामी बढ्दै गएका छन् ।

नेपालमा भएको हस्पिटल बेस्ड क्यान्सर रजिष्ट्रिको तथ्यांकका आधारमा स्तन क्यान्सर महिलाहरुमा दोस्रो प्रमुख क्यान्सरमा पर्छ । जसले सवै क्यान्सरमध्य १५ प्रतिशत ओगटेको छ । पुरुषमा १ प्रतिशत जतिलाई स्तन क्यान्सर हुन्छ ।

को छन् जोखिममा ?
स्तन क्यान्सरको जोखिममा महिलाहरु नै छन् । पुरुषमा एक प्रतिशत मात्र जोखिम हुन्छ । चालिस वर्ष भन्दा माथिका महिलाहरुलाई हुने संभावना बढी हुन्छ । तर, अहिले कम उमेरको महिलामा पनि स्तन क्यान्सरको जोखिम बढेको छ ।

विभिन्न कारणहरुमा सानै उमेरमा महिनावारी सुरु भएका र ढिलो उमेरसम्म हुनेलाई पनि स्तन क्यान्सर हुने सम्भावाना रहन्छ । स्तन क्यान्सर हर्मनमा निर्भर हुने भएकाले र महिनावारी हर्मनसँग सम्बन्धित भएका कारण लामो समयसम्म हर्मोनसँग एक्स्पोज हुँदा क्यान्सर हुने खतरा रहन्छ ।
यसैगरी बच्चा नभएका, पहिलो बच्चा ३० वर्षभन्दा पछि जन्माउनेहरुमा पनि जोखिममा हुन्छ  ।

स्तनको सौन्दर्य गुम्ने चिन्ताले वा दूध नआएर र अरु कुनै बाध्यताले सन्तान भएपनि कतिपयले स्तनपान गराउँदैनन् । यो समूहका महिलालाई पनि स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

करिब १० प्रतिशतमा  वशांणुगत कारणले स्तन क्यान्सर हुन्छ । यदि परिवारमा आमा वा दिदीबहिनीलाई छ भने उक्त परिवारका अन्य महिलालाई हुने सम्भावना बढी हुन्छ । यसैगरी हर्मनयुक्त औषधि खाने, परिवार नियोजनका औषधि लामो समय सेवन गर्ने, हर्मन रिप्लेसमेन्ट पिल (एचआरटी) सेवन गर्नेलाई पनि स्तन क्यान्सर हुने खतरा अन्य महिलाको तुलनामा बढी हुन्छ । मोटोपन, धुमपान, मद्यपान पनि यसका कारक हुन् ।

पछिल्लो समयमा लामो समयसम्म नाइट ड्युटी गर्ने महिलालाई पनि स्तन क्यान्सरको खतरा रहेको अनुसन्धानहरुले देखाएका छन् । लामो समय नाइट ड्युटी गर्दा हर्मोनमा गडबढी हुने भएकाले क्यान्सरको खतरा बढ्ने अनुसन्धानले देखाएको हो । यी जोखिम क्षेत्रमा नरहेका पनि सुरक्षित भने मानिदैनन् । भनिन्छ– क्यान्सर नहुनलाई जन्मिनुनै हुँदैन ।

लक्षण के के हुन् ?
क्यान्सरका विषयमा सदा सचेत रहनु पर्छ भनिनुकै अर्थ यसको सुरुवातमा सबैले थाहा पाउने केही लक्षण हुँदैन । तर, यी लक्षण देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

नदुख्ने गाँठो आएमा
स्तनको मुन्टाबाट रगत बगेमा
स्तनको मुन्टाभित्र जाने थालेमा
छालामा निको नहुने घाउ आएमा
काखीमा गाँठागुठी आएमा
स्तनको रङ परिवर्तन हुन थालेमा
स्तनमा सुन्तलाको बोक्राजस्तो  देखिन थालेमा

कसरी थाहा पाउने ?
४० वर्ष भन्दा कम उमेरका महिलाले महिनावारी भएको हरेक ५ देखि १० दिनको भित्रमा आफ्नो स्तनको आफैँ जाँच गर्नुपर्छ । यसो गर्दा आफूलाई स्तनको सामान्य अवस्था थाहा हुन्छ, त्यसमा केही परिवर्तन भएको थाहा पाउन सहज हुन्छ । जाँच गर्दा ऐना अगाडी उठेर हेर्ने तथा छाम्ने गर्नुपर्छ । त्यसपछि सुतेर जाँच गर्नुपर्छ । यी आफैंले जाँच्ने उपाय भए । क्यान्सर भइसकेपछि आफैंले जाँच्दा लक्षण देखिन्छन् । शंका लागेमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।

यी लक्षण नहुँदा पनि आफू क्यान्सर हुनबाट सुरक्षित हुनुपर्छ । चाँडै थाहा पाएर ज्यान जोगाउनुपर्छ । त्यसैले स्तन क्यान्सर जाँच्न ४० वर्षभन्दा कम उमेरका महिलाको अल्ट्रासाउन्ड गरिन्छ  र ४० वर्ष भन्दा बढी उमेरका महिलाको म्यामोग्राम गरिन्छ । किनभने ४० वर्ष माथिको महिलामा क्यान्सर हुने सम्भावना बढी हुन्छ । म्यामोग्राम गर्दा धानको गेडाजस्तो सानो क्यान्सर पनि देखिन्छ । जुन हातले छाम्दा देखिदैन । त्यही भएर ४० वर्ष माथिका महिलाले वर्षको एक पटक अनिवार्य रुपमा म्यामोग्राम गर्न आवश्यक छ । म्यामोग्राम जाँच महँगो पनि छैन । तर, मानिसहरुमा म्यामोग्राम महँगो छ र यसले दुख्छ जस्ता भ्रम छन् ।

केही भ्रम
सानो उमेरमा हुँदैन
केटीलाई मात्र हुन्छ
गिर्खा देखिनेवित्तिकै क्यान्सर हो
म्यामोग्रामले दुख्छ
क्यान्सर भएपछि मरिन्छ
स्तन नै फाल्नुपर्छ
केमोले झन् असर गर्छ
क्यान्सर सरुवा रोग हो

जुन महिला यी प्रक्रियामा गएका छन् उनीहरुका स्तनमा दुई सेन्टिमिटरसम्मको ट्युमर पलाएको पनि थाहा पाइन्छ । यो जाँच गरेपनि अन्तिम डायग्नोशिस गनै चाहिँ मासु जाँच –बायप्सी) नै गर्न पर्छै । तुरुन्तै  उपचार गरेर खर्च, स्तन र ज्यान जोगाउन सकिन्छ । यसैपनि  सुरुवाती अवस्थामै पत्ता लगाएमा स्तन फल्नुपर्दैन । पलाएको ट्युमरलाई मात्र निकालदा सञ्चो हुन्छ । यो अवस्थाको क्यान्सरलाई सर्जरीपछि रेडियोथेरापी मात्र र्ग पुग्छ । रोग निको हुने सम्भावाना पनि ९० प्रतिशत भन्दा पनि बढी रहन्छ । खर्चको बचत र स्वस्थ जीवन यापन गर्न सकिन्छ । तर जाँच नगर्दा ४÷५ सेन्टिमिटर ठूलो वा फैलिसकेपछि मात्र थाहा हुन्छ । जुन तेस्रो वा चौथो चरणमा पुगिसकेको हुन्छ  ।  चेतनाको अभावका कारण नेपालमा धेरै महिला यो अवस्थामा पुगेपछि अस्पताल आउने गर्छन । सुरुमै थाहा पाएपनि कतिपय महिलाले घरपरिवारलाई समय दिने नाममा वा डर, लाजका कारण पनि अस्पताल आउन ढिलो गर्छन् ।

उपचार कहाँ कसरी हुन्छ ?
क्यान्सरको उपवचार विभिन्न कुराले तय गर्छ । रोगको स्टेज, ट्युमरको आकार, महिलाको उमेर, हर्मोनको अवस्था, महिनावारीको अवस्था वा अघि लगायतका कुरामा आधारित रहन्छ । सर्जरी, किमोथेरापी, रेडियोथेरापी, हर्मोनलथेरापी  र टार्गेटेड थेरापी यसका उपचार विधि हुन् । यी सबै उपचार सुविधा नेपालमा उपलब्ध छन् ।

यदि स्तन क्यान्सर भइसकेको पत्ता लाग्यो भने सम्बन्धित सर्जनलाई नै देखाउनुपर्छ । किनभने  क्यान्सरका लागि गरिने ब्रेस्ट सर्जरी र अन्य सर्जरी फरक कुरा हुन् । सर्जरी गर्दा स्तनको गाँठो मात्र निकालेर हुँदैन । छेउको लिम्फमोडलगायत हेर्नुपर्छ । सही डाक्टरकोमा पुग्न नसकेर पनि उचित उपचार सेवाबाट बञ्चित रहेको हुनुपर्छ ।

ब्रेस्ट सर्जरी विभिन्न तरिकारले गरिन्छ । पहिलो ब्रेस्ट कन्र्जभेसन सर्जरी । स्तनलाई नफाली गर्ने सर्जरी हो यो । यो सर्जरी सुरुवाती चरणमा पत्ता लागेको क्यान्सरमा हुन्छ । यसमा ट्युमरका साथसाथै एक सेन्टिमिटेर जाति मासु पनि निकालिन्छ । यदि गिर्खा छ भने त्यो पनि निकालिन्छ । यो सर्जरी गरेपछि रेडियोथेरापी अनिवार्य रुपमा दिनुपर्ने हुन्छ ।

दोस्रो म्याक्सोटोमी हो । यसको अर्थ हुन्छ, स्तन पुरै निकाल्ने । स्तनको साथसाथै काखीसम्म ग्लान्डहरु पनि निकाल्ने हो । म्याक्सोटोमी अन्तर्गत सफा मात्रै गर्ने पनि हुन्छ ।

ट्युमर असाध्यै ठूलो छ वा रगत बगिरहेको अवस्था छ भने गन्हाउने गर्छ  । यस्तो अवस्थामा स्तन फाल्नुका साथै अन्य नसाहरु सफा गर्ने सर्जरी हुन्छ । यो निको पार्न गरिने उपचार होइन, बिरामी बाँचुन्जेल सहज जीवन जिउन सकोस् भनेर गरिने हो । दुखाई कम गर्ने वातावरण बनाउने हो ।
हामीले १९ वर्षको उमेरकी युवतीको समेत स्तन क्यान्सर भएर उपचार गरेका छौँ । नेपालमा पनि सानै उमेरमा स्तन क्यान्सरका बिरामी बढेका छन् । बदलिँदो जिवनशैली, खानामा विभिन्न मिसावट  र वंशाणुगत कारक हुन सक्छन् ।

युवतीहरुका लागि सौन्दर्यका दृष्टिले पनि स्तनको महत्व हुन्छ । स्किन स्पेयरिङ म्यासेक्टोमी निकै परिचित छ । जमा स्तन वरिपरिको छाला मुन्टोलाई जोगाइन्छ ।  स्तन भित्रको मासुलाई हटाएर रिकन्स्ट्रक्सन गरिन्छ । रिकन्स्ट्रक्सन गर्दा उसैको शरिरको मासु राखेर गर्न सकिन्छ । अर्को सिलिकन पनि राख्न सकिन्छ । आफ्नो मासु राख्दा राम्रो हुन्छ । किनकी पछि रेडियोथेरापीबाट उपचार गराउँदा केही असर गर्दैन । तर सिलिकन राखेको भए खुम्चिने समस्या हुन्छ । सिलिकन राख्नेहरुलाई पहिला क्यान्सरको पूर्ण उपचार सकेर मात्रै राख्नुपर्छ ।  यी दुवै सेवा नेपालमा पनि उपलब्ध छन् ।

ब्रेस्ट कन्जर्भेसन सर्जरी गर्न रेडियोथेरापी भएको ठाउँमा गर्नुपर्छ । सबै ब्रेस्ट कन्जर्भेसन सर्जरीमा रेडियसन चाहिन्छ । पुरुै स्तन फालेको बिरामीमा चाहिँ हिस्टोप्याथी रिपोर्ट हेरेर रेडियसन दिने नदिने निर्धारण गरिन्छ । पूरै स्तन निकालेको छ र ट्युमरको आकार पाँच सेन्टिमिटर भन्दा बढी छ भने रेडियसन चाहिन्छ । रेडियसन भनेको विकिरणबाट क्यान्सरको सेललाई मार्ने हो । रेडियसन स्तन क्यान्सरको क्युरेटिभ (रोग निको पार्ने उद्देश्य) र बिरामीलाई रोगले दिएका विभिन्न समस्या कम गर्न दिइन्छ । जस्तैः जटिल अवस्थामा पुगेका बिरामीको रक्तश्राब भएको छ भने रगत बग्न कम गर्न, दुखाई अत्याधिक छ भने त्यसलाई रोक्न पनि रेडियसन दिने गरिन्छ । स्तन क्यान्सरको मुख्य उपचार भनेको नै सर्जरी र सर्जरीपछि रेडियसन हो ।

अर्को उपचारविधि किमोथेरापी हो । किमोथेरापी सुई र ट्याबलेट दुवै थरी हुन्छ । तर स्तन क्यान्सरमा धेरै नसाबाट दिने औषधि प्रयोग गरिन्छ । किमोथेरापी पनि धेरै प्रकारका हुन्छन् । सामान्यतया स्तन क्यान्सरका सबै स्टेजमा किमो थेरापी चाहिन्छ  र यो पनि हिस्टोप्यथोलोजी रिपोर्ट, बिरामीको उमेर। हर्माेन हर्माेन स्ट्याटस आदिमा भर पर्छ ।

हर्मोन रिसेप्टर तीन प्रकारको हुन्छ इआर, पिआर र एचइआर टू । किमोथेरापनी क्यान्सरको उपचार गर्न प्रयोग हुने कारणले गर्दा केही न केही साइड इफेक्ट हुन्छ नै । तर, अहिले औषधी बिज्ञाने यति धेरै विकास गरिसक्यो कि विन्नि औषधीको प्रयोगले केमोबाट हुने साइड इफेक्ट धेरै कम हुन्छ र बिरामीले आरामसँग किमो लिन सकिन्छ ।

किमो लगाएपछि कपाल झर्छ । फेरि आउँदैन भन्ने भ्रम छ । तर, फेरि उस्तैगरी कपाल पलाउँछ । किमो लगाउँदा ज्यानलाई गाह्रो हुन्छ । साइड इफेक्ट त हुन्छन् । तर ति साइड इफेक्टबाट जोगाउने अन्य औषधिहरु पनि दिने भएकाले किमोबाट डराउनु पर्दैन ।

युवतीहरुमा हुने क्यान्सरको उपचार पाको उमेरकी महिलाको भन्दा चाँडो गर्नुपर्छ ।  युवाअवस्थामा मानिस जति सक्रिय हुन्छ, क्यान्सर पनि त्यत्तिकै सक्रिय रहन्छ । त्यसैले पाको उमेरका महिलाको तुलनामा युवतीहरुमा क्यान्सर छिटो फैलिने हुन्छ ।

साभार : स्वास्थ्य खबर

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: