महिला खबर
सिन्धुपाल्चोक । जिल्लाको हिमाली गाँउ गोल्चे लिदीकी फुर्साङ दोङको दैनिकी गलैचा कारखानामा वित्छ । भूईचालोको कारण आफ्नो गाँउ पहिरोको जोखिममा परेपछि विस्थापित भई बाँसखर्कमा आश्रय लिईरहेकी उनी जिविकोपार्जनका लागि यो पेशामा संलग्न छिन् ।
पन्ध्र वर्ष देखि गलैचा बुन्न सिकेकी दोङ विहान उज्यालो नहुदै कारखाना पस्छिन् । ‘आफ्नो खेतवारी केही छैन, अरु काम पनि छैन, विहान उठेपछि के गर्ने भन्ने हुन्छ, त्यसैले सवेरै करखाना आँउछु ।’ फुर्साङले भनिन् ।
यो कामवाट उनी मासिक दश हजार कमाइ हुने वताउँछिन् । पन्ध्र्र वर्ष अघि नै सिकेको यो पेशावाट अहिले उनको विस्थापित शिविरमा आफ्नो निर्वाह चलेको छ । भूकम्प पछि उनी सहित गाँउबासी पहिरोको जोखिम छल्न शिविरमा वस्ने र गलैचा वुन्ने काम गर्ने गरेका छन् ।
दोङ सँगै गोल्चे सञ्चगाँउकी जलमाया गोले पनि गलैचा वुन्नमै व्यस्त हुन्छिन् । जानेको सिप अनुसार काम गर्न पाएकोमा उनी खुसी मान्छिन् । ‘अरु काम नभएको वेला घर खर्च धान्न सजिलो भएको छ,’ उनी भन्छिन्,‘फुर्सदमा मात्र काम गर्दा पनि राहत मिल्ने रहेछ ।’उनको अनुभवमा समय पुरै खर्चिने हो भने बीस दिनमा एउटा गलैचा पुरा हुन्छ ।
उनका अनुसार अहिले ९ जना विस्थापित महिलाहरु गलैचा वुन्ने काम गर्छन् । ‘अरु साथीहरु पनि गलैचा वुन्न यहाँ आँउछन् तर अहिले खेती थन्क्याउन गएका छन् ।’ जलमायाले भनिन् ।
निम्न आयस्रोत भएका महिलाहरुको लागि यो कारखाना अहिले आयस्रोत वनेको छ । कतिपय विस्थापित परिवारको एक मात्र आयस्रोत यही कारखाना भएको वताउँछन् । घरखर्च धान्ने, छोराछोरी पढाउने आयस्रोतको माध्यम गलैचा कारखाना वनेको छ ।
विभिन्न ठाँउवाट विस्थापित भई बाँसखर्कमा आएका भूकम्प पीडितहरु गलैचा वुन्ने सीप भएको भन्ने जानकारी भएपछि राहत वितरणमा आएकी विराटनगरकी एलिसा भण्डारीको पहलमा कारखाना खुलेको थियो । भण्डारीको पहल, स्वीस सरकारको सहयोग र स्थानिय युवाको सक्रियतामा ४ वटा तान सहितको कारखाना सञ्चालनमा रहेको छ । १६ जना एकसाथ काम गर्न सक्छन् । जिल्लाको हिमाली गाँउ गोल्चे, गुम्वा, पाङताङ, वतासे, स्याउले र सेलाङका विस्थापितहरु शिविरमा वसोवास गर्छन् ।
Comment Here!