महिला खबर
कैलाली । गत आर्थिक वर्षसम्म कैलालीमा ७० हजारभन्दा बढी महिला सहकारीमा आवद्ध भएका छन् । जिल्ला सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कैलालीका अनुसार शेयर सदस्य, व्यवस्थापन समिति र कर्मचारीको भूमिकामा गरी ७१ हजार ६ सय ५९ महिला सहकारीको पहुँचमा पुगेका हुन् ।
कैलालीमा रहेका १३ प्रकृतिका कारोबार गर्ने ६ सय १६ र जिल्ला संघ र विषयगत संघ गरी ६२० सहकारी संस्थामा ४ सय ५४ जना महिला कर्मचारीको रुपमा कार्यरत रहेका छन् । त्यसैगरी २ हजार २ सय ५७ जना सञ्चालक समितिमा आवद्ध रहेको जिल्ला सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कैलालीका प्रशिक्षक हरिसिंह साउदले जानकारी दिनुभयो ।
साउदका अनुसार कैलालीमा गत आर्थिक वर्षको असार मसान्तमा ६ सय १६ सहकारी संस्था अस्तित्वमा छन् । यस बाहेक १ जिल्ला संघ र ३ विषयगत संघ रहेका छन् । यी सहकारी संस्थामा १ लाख ६१ हजार ३० जना शेयरसदस्य छन् ।
कैलालीमा सञ्चालित यी सहकारी संस्थाले गत आर्थिक वर्षमा मात्रै करिब ४ अर्व रुपैयाँ निक्षेप संकलन गरेको प्रशिक्षक साउदले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका १३ विषयगत सहकारीमा रहेका ६ सय १६ सहकारीले ३ अर्व ९६ करोड२७ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।
सहकारीले गत आर्थिक वर्षको असारसम्म ५९ करोड ३६ लाख ७९ हजार पूँजी संकलन गरेका छन् । भने ती संस्थासंग गत आवको असार मसान्तसम्म ४९ करोड ८० लाख ७४ हजार साधारण जगेडा कोष रहेको छ ।
त्यसैगरी सहकारीले संकलित बचत तथा शेयर पूँजीबाट ४ अर्व ६० करोड ७२ लाख ८ हजार रुपैयाँ ऋण लगानी गरेका छन् । यसरी लगानी गर्नेमा पनि बहुउद्देश्यीय सहकारी संस्थाको योगदान अग्रणी देखिएको छ । बहुउद्देश्यीय सहकारीमा आवद्ध ७७ संस्थाले २ अर्व ४३ करोड ८७ लाख ७५ हजार ऋण लगानी गरेका छन् । त्यसैगरी ऋण लगानी गर्नेमा क्रमशः कृषि सहकारी संस्था, बचत तथा ऋण सहकारी संस्था ग्रामिण विकास सहकारी रहेका छन् ।
Comment Here!