महिला खबर
काठमाडौं । सांसद रन्जु झाले जतिसुकै कानुन भएपनि व्यवहार परिवर्तन नभएसम्म कुरीति र कुसंस्कार अन्त्य हुन नसक्ने बताउनुभएको छ । ओरेक नेपालले आयोजना गरेको दाइजोविरुद्धका वर्तमान कानुन अभियोजन र आवश्यकता विषयमा आयोजना गरेका राष्ट्रिय परामर्शमा बोल्दै संसाद झाले हाम्रो मनस्थिति परिवर्तन नभएसम्म जतिुकै कानुन आएपनि परिवर्तन अनुभूति गर्न नसकिने बताउनुभएको हो ।
उहाँले नेपालमा महिलाको अधिकार प्राप्तिकालागि धेरै प्रगतीशील कानुन भएपनि कार्यान्वयन नहुँदा समस्या भइरहेका बताउनुभयो । व्यवस्थापिकाले कानुन बनाउने काम गरिरहेकाले यसको कार्यान्वयनका लागि अब लडाई कार्यपालिकासँग गर्नुपर्ने उहाँको भनाइ थियो । ‘वर्षौंदेखि दाइजो र छाउपडी जस्ता कुसंस्कारविरुद्ध आवाज उठाइरहेपनि यसको न्यूनिकरणसम्म हुन नसक्नु विडम्बना हो’ उहाँले भन्नुभयो ।
मधेशमा यो समस्याबाट महिलाको ज्यानै जोखिममा रहेकाले राष्ट्रिय र खासगरी मधेश केन्द्रित राजनीतिक दलहरूले यसलाई आफ्नो एजेण्डा नबनाउनु दुखद भएको उहाँको भनाइ थियो ।
नेपालमा धेरै महिला हिंसाको कारण यहाँका कुसंस्कार भएकाले यी कुसस्ंकारविरुद्ध छाता ऐनको आवश्यकता भएकाले अब यसमा बहस गर्न नागरिक समाजलाई उहाँको सुझाव थियो ।
कार्यक्रममा अधिकाकर्मी रिता साहले मधेसमा बालविवाह र छोरीलाई नपढाउने मुख्य कारण नै दाइजो भएको औंल्याउनुभयो । दाइजो न्यूनिकरणका लागि वैवाहिक परम्परा परिवर्तन गर्नु आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।
Comment Here!