छोरी जन्मिँदा बज्दैनन् बाजा


प्रकाशित मिति :2016-12-03 10:00:29

‘दुई छोरा नभए मर्ने बेलामा कसले फाल्छ भन्ने सोचाइ छ कालिकोटका गाउँमा। यो सोचाइले महिला बच्चा जन्माउने मेसिन भएका छन्। छोराकै आसमा धेरै घरमा ५–६ जना छोरी छन्।’

दुर्गा लाल केसी

कालिकोट। स्वास्थ्यचौकीमा एक–दुई दिनको फरकमा बच्चा जन्मिरहन्छन्। कुनै दिन बच्चा जन्मेको धेरैले थाहा पाउँछन् भने कुनै दिन धेरैलाई थाहा हुन्न। घरमै पनि बच्चा जन्मन्छन्, तर सबै बेला सबैलाई बच्चा जन्मियो कि जन्मिएन थाहा हुन्न। बच्चा जन्मेको थाहा दिने एउटा माध्यम हो– बाजागाजा। बाजागाजा बज्नु र नबज्नुको सम्बन्ध छोरा जन्मियो कि छोरी भन्नेसँग हुन्छ।

धुमधामसाथ बाजागाजा बज्यो भने त्यो घरमा छोरा जन्म्यो भन्ने थाहा हुन्छ। छोरा जन्मेपछि एक दिन मात्रै होइन, ६ दिनसम्म बाजा बज्छ। बाजा बजेपछि त्यो घरमा गाउँलेको भीडभाड सुरु हुन्छ। दुबो लगाउने, भोजभतेर गर्ने र रमाइलो मनाउने गरिन्छ। तर, छोरी जन्मँदा यस्तो कुनै पनि संस्कार गरिँदैन।

स्वास्थ्यचौकीमा बच्चा जन्माउन आएकी महिलाले छोरा जन्माइन् कि छोरी भन्ने कुरा कालिकोटमा सजिलै थाहा पाइन्छ। छोरा जन्मिए बाजागाजासहित स्वास्थ्यचौकीबाटै स्वागत गरेर आमाछोरालाई घर लगिन्छ। घरमा पुर्‍याएपछि खसी काटेर गाउँलेलाई खुवाउँछन्। आमाबुबालाई दुबो लगाइदिन आउने मानिसको भीडभाड हुन्छ। छोरी जन्मिए स्वास्थ्यचौकी होस् कि घर सुनसान हुन्छ।

अनौठो चलन के छ भने यहाँ हरेक घरमा दुई छोरा हुनुपर्छ भन्ने मान्यता छ। मरेपछि अगाडि–पछाडि काँध थाप्ने दुई छोरा हुनैपर्छ भन्ने मान्यता छ। त्यसैले दुई छोराको आसमा १० भन्दा बढी छोरी जन्माउनेहरू गाउँमा भेटिन्छन्। गाउँका अगुवा भनिनेहरूले समेत यो चलन तोड्न सकेका छैनन्।

लक्ष्मी शाही गाउँ बाल संरक्षण तथा सम्बर्द्धन समिति दाहाँकी अध्यक्ष हुन्। उनका तीन छोरी र एक छोरा छन्। पहिलो सन्तान छोरी भई, दोस्रो छोरा। यतिले मात्रै पुगेन, दुईवटा छोरा त चाहियो नै। घरपरिवारले दबाब दिएपछि उनले थप दुई सन्तान जन्माइन्। ती दुई सन्तान छोरी नै भए। अहिले उनलाई तनाव भइरहेको छ। अझै अर्को छोराका लागि बच्चा जन्माउने सोचमा छन्।

‘कालिकोटका धेरैजसो गाउँमा दुई छोरा चाहिन्छ भन्ने मान्यता छ। एउटा छोरालाई केही भइहाल्यो भने के गर्ने भन्छन्,’ शाहीले भनिन्, ‘दुई छोरा जसरी पनि चाहिन्छ भन्छन्।’ एउटा छोराका लागि धेरै छोरी जन्माएका उदाहरण अन्य जिल्लामा पनि छन्। तर, एउटा छोरा भइसकेपछि पनि दोस्रो छोराका लागि बच्चा जन्माइरहने अनौठो चलन कालिकोटमा देखिन्छ। त्यसैले पहिलोभन्दा दोस्रो छोराको खुसीयालीमा धुमधामसँग बाजागाजा गरिन्छ यहाँ।

दाहाँ– ६ सेरा गाउँका पर्वे विकका आठ छोरा छन्। छोरा जति धेरै भयो उति राम्रो भन्ने चलनका कारण उनले धेरै सन्तान जन्माए। …कम्तीमा दुई छोरा त जसरी पनि चाहिन्छ भन्ने छ,’ उनले भने, ‘त्यही कारण धेरै छोरा जन्मिए।’

राष्ट्रिय जनगणना ०६८ अनुसार कालिकोटमा जम्मा २३ हजार १३ घरधुरीमध्ये ८ जना सदस्य रहेको परिवार २ हजार १ सय ९५ र ९ जनाभन्दा बढी सदस्य रहेको परिवार ३ हजार १ सय ५९ छन्। जब कि छिमेकी जिल्ला जुम्लामा ८ जनाको परिवारसङ्ख्या १ हजार ४ सय ७९ र ९ जनाभन्दा बढीको परिवार २ हजार १४ छ।

कालिकोटमा छोरा नजन्मिए दोस्रो विवाह गर्ने चलन सामान्यजस्तै छ। यहाँ छोराकै लागि दोस्रो विवाह गर्नुलाई सहज रूपमा लिइन्छ। बहुविवाहको अनुपात हेर्ने हो भने महिलाभन्दा पुरुष दुई गुणा बढी छन्। जनगणना ०६८ अनुसार बहुविवाह गर्ने महिला ६ सय ९५ छन् भने पुरुष दुई गुणा बढी अर्थात् १ हजार ५ सय ५५ जना छन्।

दुई छोरा जन्माउने आसमा बच्चा जन्माउँदा–जन्माउँदा धेरै महिलाको स्वास्थ्य अवस्था जोखिममा परेको स्वास्थ्यचौकी दाहाँकी इन्चार्ज रूपा भण्डारी बताउँछिन्। ‘जन्मान्तर पनि निकै कम छ,’ उनले भनिन्, …दुई छोराको आसमा धेरै बच्चा जन्माउने चलनले महिलाको जीवन कष्टकर भएको छ।’

दाहाँकी स्वास्थ्य स्वयम्सेविका दानकला शाहीले यो परम्परा बदल्न मुस्किल परिरहेको बताइन्। ‘जति सम्झाउन खोज्दा पनि मान्दैनन्। दुई छोरा नभए मर्ने बेला कसले फाल्छ भन्छन्,’ उनले भनिन्, ‘महिला बच्चा जन्माउने मेसिनजस्तै भएका छन्। छोराकै आसमा धेरै घरमा ५–६ जना छोरी छन्।’

छोरीलाई सन्तान नै नमान्ने चलनले चर्को विभेद भइरहेको स्वास्थ्य स्वयम्सेविका पदमकला चौलागाईंले बताइन्। ‘छोरा जन्मँदा बाजागाजा बज्छ। छोरी जन्मँदा बेवास्ता हुन्छ। आमाले नै अपमान र हीनताबोध महसुस गर्छन्,’ उनले भनिन्, ‘हरेक महिलालाई दुर्ई छोरा जन्माउन सकिँदैन कि भन्ने त्रास हुन्छ। नजन्माए लोग्नेले अर्को बिहे गर्ने खतरा हुन्छ।’

शिक्षाको स्तर बढ्दै गए पनि यो चलन हटाउन नसकिएको दाहाँका शिक्षक दानसिंह सेजुवालले बताए। हरेक गाउँमा एउटै खालको सोचाइ र परम्परा रहेकाले त्यो बदल्न गाह्रो भइरहेको उनले बताए।

दुई छोरा चाहिन्छ भन्ने सोचाइले सन्तान धेरै जन्मिएर बालबालिका जोखिममा पर्ने समस्या रहेको दाहाँका गाविससचिव शरण बडुवालले बताए। ‘धेरै सन्तान भइसकेपछि खानपिन, पोषण, हेरचाह, स्वास्थ्य सुविधा पठनपाठनमा समस्या हुन्छ। यसले बालबालिकाको भविष्य खतरामा पर्छ,’ बडुवालले भने, ‘बालबालिकाको भविष्यबारे सोच्नेभन्दा आफ्नो वंश धान्ने र मरेपछि स्वर्ग जाने कुरालाई बढी महत्व दिइएकाले यस्तो भएको हो।’

संचारिका फिचर सेवा

(दुर्गालाल, दाङका पत्रकार हुन्।)

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: