महिला खबर
काठमाडौं । ६८ औं अर्न्तराष्ट्रिय मानव अधिकार दिवस २०१६ को अवसरमा राजधानीमा आउँदो शुक्रबारदेखि आठौं मानव अधिकार राष्ट्रिय महाभेला–२०७३ आयोजना हुने भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग तथा आठौं मानव अधिकार राष्ट्रिय महाभेला मूल आयोजक समितिको संयुक्त आयोजनामा सो कार्यक्रम काठमाडौंको राष्ट्रिय नाचघरमा २४ मंसिरदेखि २६ गतेसम्म सञ्चालन हुने आज एक पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
भेलामा मानव अधिकारको क्षेत्रमा कार्यरत मानव अधिकारकर्मी, स्थानीय तह, जिल्ला, क्षेत्रर केन्द्र कार्यरत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधि, सरकारी निकाय, सुरक्षा निकाय तथा विषयगत विज्ञहरु गरि करिब सातसय सहभागी हुने महाभेलाका राष्ट्रिय संयोजक तथा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका अध्यका सुनी लामाले जानकारी दिनुभयो ।
कार्यक्रमबारे जानकारी दिंदै मानव अधिकारकर्मी चरण प्रसाईंले मानव अधिकार कसैको पेवा नभएको भन्दै एक अर्काको अधिकार र हकहितको लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताउनुभयो । यसैगरि महाभेलाका पूर्व संयोजक गजाधर सुनार र बिबिसीका अध्यक्ष शान्तलक्ष्मी श्रेष्ठले मानवअधिकार भेलाले समाजका हरेक वर्गको आवाज उठाउने भएकोले यसलाई सफल पार्न आग्रह गर्नुभयो । कार्यक्रमको औचित्यबारे बोल्दै प्राध्यापक कपिल शर्माले मानव अधिकार रक्षाप्रति राजनीतिक दलहरु प्रतिवद्ध नभएकोले यस्ता कार्यक्रमले उनीहरुलाई खबरदारी गर्ने बताउनुभयो ।
महाभेला समितीका अनुसार ‘हाम्रो आवाज हाम्रो सहभागिता, न्याय र विविधतामा आधारित हाम्रो समावेशिता’ भन्ने मुल नाराका साथ शुरु हुने यो महाभेलाको समुद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्नेछन् ।
कार्यक्रमको समुद्घाटनपछि पहिलो र तेस्रो दिन समूहगत चरणमा विभिन्न सवालमा लैङ्गिक समानता, दिगो विकासको लक्ष्य, विपदपछिको व्यवस्थापनको अवस्था, संविधान र कानुनमा आदिवासी जनजाति महिलाको सवाल, जल–जंगल, जमिन र न्यायिक विकासमा आदिवासी जनजातिको अधिकार, स्वच्छ खानेपानी सरसफाई र मानव अधिकार लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिने छ ।
कार्यक्रमको तेस्रो तथा अन्तिम दिन विभिन्न कार्यशालाबाट छलफल गरि निस्किएको निचोडबाट काठमाण्डौं घोषणापत्र जारी गरिने र कार्यक्रमको अन्त्यमा महिला मानव अधिकारको क्षेत्रमा योगदान पुर्याउनु भएका एकजना महिला अधिकारकर्मीलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।
Comment Here!