सामुदायिक रेडियोमा महिला :संख्यात्मक र गुणात्मक दुवैमा कमजोर


सामुदायिक रेडियोमा महिला, चुनौतीपूर्ण पाइला

प्रकाशित मिति :2016-12-08 14:44:07

सामुदायिक रेडियो  सामाजिक रूपान्तरणको अन्तिम लक्ष्य लिएका संस्था हुन्, जोे समावेशी प्रजातन्त्र र समावेशी विकासलार्ई सवल बनाउने महत्वपूर्ण साधन हुन्। त्यसैले पनि सामुदायिक रेडियो आफैमा उदाहरण बन्दै अनिवार्य लैंगिक नीति निर्माण गरी लागू गर्नुपर्दछ।

प्रेमकुमारी घले

दक्षिण एसियामै पहिलो सामुदायिक रेडियो स्थापना गर्दै नेपालले सामुदायिक रेडियोको करिब २ दशक लामो अनुभव संगालेको छ। वि.स. २०५४ सालमा पहिलो सामुदायिक रेडियो सगरमाथाले काठमाडौं भ्यालीबाट र त्यसको दुई वर्षपछि रेडियो लुम्बिनी र रेडियो मदनपोखराले मोफसलबाट प्रसारण आरम्भ गरेको हो। त्यसयता यो २ दशकको अवधिमा नेपाली संचार जगतसगै सामुदायिक रेडियोको बृद्धिविस्तार पनि व्यापक भएको छ।

रेडियोको संख्यात्मक बृद्धिसगै रेडियोमा संलग्नताको संख्या पनि ह्वात्तै बढेको छ। संचालक, लगानीकर्ता, कर्मचारी, पत्रकार र स्रोता तथा सरोकारवालाको रुपमा। तर रेडियोमा महिलाको संलग्नता भने संख्यात्मक र गुणात्मक दुवै रुपमा सन्तोषजनक छैन। नेपालका सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) को तथ्याक अनुसार देशभर ३ सयको हाराहारीमा सामुदायिक रेडियो छन्। जसमध्ये आधा दर्जन रेडियो महिलाले मात्र चलाएका छन्। महिलाले मात्र संचालन गरेका बाहेकका सवै रेडियोमा पुरुषकै नेतृत्व छ। त्यसैगरि रेडियोको मुख्य कार्यकारी पद स्टेसन म्यानेजर पनि पुरुषकै नेतृत्वमा छ।

radio111

३ सय रेडियो मध्ये करिब १५ वटा रेडियोमा मात्र महिला स्टेसन म्यानेजर छन्। यो भनेको ५ प्रतिशतमात्र महिला सामुदायिक रेडियोको नेतृत्व तहमा छन्। तर संलग्नताको हिसावले हेर्ने हो भने सामुदायिक रेडियोमा महिला सदस्य ३९ प्रतिशत रहेको अकोरावकै तथ्याकंले देखाउछ। यसैगरि ४७ प्रतिशत महिला कर्मचारी तथा पत्रकारको रुपमा कार्यरत रहेका छन्।

संचारिका समूहले हालै सार्वजनिक गरेको ‘नेपालमा पत्रकार महिला’ विषयको अध्ययनले समग्र संचार क्षेत्रमा २५ प्रतिशत पत्रकार महिला रहेको देखाएको छ। जसमध्ये ठूलो हिस्सा ६२.१ प्रतिशत रेडियोमा कार्यरत रहेको तथ्याकं निकालेको छ। तर नेतृत्व तहमा भने उपस्थिति अत्यन्त न्यून रहेको जनाएको छ। अध्ययन अनुसार व्यूरो प्रमुखमा २.९ प्रतिशत, सम्पादक ८.१ प्रतिशत, र प्रकासक/व्यवस्थापकमा २.७ प्रतिशत मात्र महिला कार्यरत छन्। बाँकी ४१.५ प्रतिशत समाचार तथा कार्यक्रम प्रस्तोता र २९.३ प्रतिशत समाचारदाताको रुपमा कार्यरत रहेको देखाएको छ। अझ जनजाति, दलित तथा अल्पसंख्यक जातिका महिलाको खोजी गर्ने हो भने अवस्था झनै दर्दानक छ।

यसले के देखाउँछ भने संचार जस्तो समुदायसम्म सूचना प्रवाह गर्ने विश्वस्त, भरपर्दो, तटस्थ र समाजिक उत्तरदायित्व वहन गर्ने माध्यम जसले सधै सामाजिक न्याय, बहुलबाद, समावेशी चरित्र र सहभागिताको मुद्धालाई उठान गर्छ, उही संचार जगत बोलीमा सही व्यवहारमा चुकेको देखिन्छ। संचार भनेको एकातिर सचेतना जगाउने, सूचना प्रदान गरेर समुदायलाई परिचालन गर्नु हो भने अर्कोतिर लोकतान्त्रिक संस्कार, मानवअधिकारको रक्षा, सहभागितात्मक विकासको प्रवर्द्धन, शान्ति स्थापनामा योगदान, सामाजिक न्यायको प्रवर्द्धन गरेर समाज रुपान्तरणमा महत्वपुर्ण भूमिका निर्वाह गर्नु हो। तर आफैभित्रको सहभागितामूलक विकास, समावेशी चरित्र र सामाजिक न्यायको पाटो ओझेलमा परेको छ।

सामुदायिक रेडियो समुदायका लागि समुदायमै र समुदायबाटै सञ्चालित स्थानीय सञ्चारमाध्यम भएकाले समाज परिवर्तनका संवाहक हुन्। नेपाल जस्तो भौगोलिक विकटता भएको देशका नागरिकका लागि सूचना, मनोरञ्जन र शिक्षा दिलाउन रेडियो सबैभन्दा भरपर्दो साधन बनेको छ। रेडियोले बोल्ने र गर्ने व्यवहारले समाजलाई पनि मार्गनिर्देशन गर्दछ। तर हामी बोली र व्यवहारमा फरक देखिएका छौं। यी त भए वास्तविकता। अब समतामूलक समाज निर्माण गर्नुछ, पुरुषसँगै सहयात्रा गर्नुछ। तर विगतको सिकाइ, वर्तमानको भोगाई नहेरिकन भविष्य कोर्न सकिँदैन।

कतिपय कुरा सुन्दा सानो, भोगेकालाई ठूलो लाग्छ। हाकिम भनेका पुरुष नै हुन्छन् भन्ने मानसिकता अझै छ। कुर्सीमा बसिरहेकी महिलालाई तिम्रो हाकिम खै, अनि पुरुष कर्मचारीलाई सर, तपाई, हजुर भनेर सम्बोधन गरिन्छ। कार्यालय प्रमुख, राजनीतिज्ञलगायतका समाजका अगुवाहरू हामी महिलालाई बहिनी अनि जुनियर पुरुषलाई जी थपेर सम्बोधन गरेका पनि छन्। लवाइखवाइ अनि सुन्दरताको टिकाटिप्पणीको त कुरै छाडौ। सुन्दा साना लाग्ने यस्ता धेरै व्यवहार महिलाले भोग्नुपर्ने हुन्छ। अन्य धेरै हिंसाजनक घटनाहरू रेडियोकर्मी महिलाले दिनहुँ भोगिरहेका छन्।

पुरुष सहकर्मी र हाकिमको यौन आशय झल्काउने गतिविधिले धेरै महिलाले रेडियो छाडेका छन्, तर उनीहरू वास्तविकता बाहिर ल्याउन सक्दैनन् वा चाहँदैनन्। घरपरिवार र समाजले हेर्ने दृटिकोण, सामाजिक तथा पेशागत सुरक्षा, रेडियोको आर्थिक पाटो जस्ता साझा समस्या त छँदैछ। हाम्रो सामाजिक परिवेश र परम्परादेखि चलिआएको संस्कारका कारण घरबाटै गरिने विभेदका बीच महिला बाहिर निस्कन्छिन्। फेरि करियरको दौरानमा पनि जानअन्जान रुपमा विभेदको शिकार हुनुपर्छ।

महिलाका लागि मिडिया मात्र हैन सवै क्षेत्रमा उतिकै चूनौति र अवसर छन्। तर मिडिया अलि फरक हो। जहाँ समयको पाबन्धी हुँदैन। तर क्षमता, सिर्जनशिलता र धर्यता भने अवश्य प्रर्दशन गर्नुपर्दछ। यहाँ आम्दानी छैन तर, आर्कषण छ। त्यसैले मिडिया ग्लामर हो, यो अवसर हो। यति हुँदाहुँदै पनि किन महिलाको आर्कषण कम छ वा नेतृत्व तहमा किन कम पुगेका छन् त? अकोरावका महिला उपाध्यक्ष यमकुमारी केसी, दिनहुँ व्यहोर्नुपर्ने पुरुषको सानातिना हेपाहा प्रवृत्तिले महिलालाई सुसुप्त रुपमा कमजोर र समाजबाट आफूलाई टाढा बनाइरहेको हुन्छ। अन्तत्वगोत्वा पेशामा रमाउन, टिकिरहन अनि भिड्न नसक्ने बनाउने बताउनुहुन्छ।

महिलाले पुरुषसँग प्रतिस्प्रर्धा गर्न वा सहकार्य गर्न नसक्ने हैन। हाम्रो व्यवहार र मानसिकतामा परिवर्तनको खाँचो छ। तर हाम्रो सामाजिक, संस्कारगत र संरचनागत प्रवृत्ति हटाउन समय लाग्छ। जसरी घर चल्न बाबा र आमाको समान भूमिकाको खाँचो छ त्यसरी नै संस्था, समुदाय र राष्ट्र चलाउन पनि महिला र पुरुष दुवैको सक्रिय सहभागिता हुनु जरुरी छ।

म आरक्षणको पक्षमा हैन। तर हाम्रो वास्तविकता दर्दनाक छ। महिला र पुरुषबीचको खाडल ठूलो छ। त्यो खाडल पुर्न निश्चित समय महिलाका लागि विषेश व्यवस्था गरी हरेक संरचनामा समावेशी र सक्रिय सहभागिताको व्यवस्था गर्नु नै पर्ने हुन्छ। तर त्यो बाध्यताबस हैन, मानसिकता परिवर्तन गरि सहृदयले स्वीकार्ने वातावरण निर्माण गर्नुपर्दछ। हो, समान र सक्रिय सहभागिताका लागि महिलाले अवसरसँगै योग्यता र क्षमता बढाउनुपर्छ। तर जबसम्म महिलालाई हेर्ने पुरुष दृष्टीकोणमा सकरात्मक परिवर्तन हँुदैन तबसम्म महिला खुलेर बाहिर आउन सक्दैनन्। यसमा घर, समुदाय र राज्य तीनै तहबाट सहयोग हुनुपर्छ।

सामुदायिक रेडियो त सामाजिक रूपान्तरणको अन्तिम लक्ष्य लिएका संस्था हुन्, जोे समावेशी प्रजातन्त्र र समावेशी विकासलार्ई सवल बनाउने महत्वपूर्ण साधन हुन्। त्यसैले पनि सामुदायिक रेडियो आफैमा उदाहरण बन्नुपर्दछ। यसका लागि राज्यले कानूनी रुपमै स्पष्ट व्यवस्था गर्नुपर्दछ भने सामुदायिक रेडियोले अनिवार्य लैंगिक नीति निर्माण गरी लागू गर्नुपर्दछ।

यसका साथै सामुदायिक रेडियोमा महिलाको उपस्थिति र अवस्था कस्तो छ, सुक्ष्म अध्ययनको जरुरी छ। तर अध्ययन केवल दातासँग मागी खाने भाँडो हैन। त्यही अध्ययन र तथ्यको आधारमा नीति र योजना निर्माण गरी कार्यान्वयनमा जानुपर्दछ। तबमात्र सामुदायिक रेडियोमा महिलाको सहभागिता र नेतृत्वमा टेवा पुग्नेछ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: