जमुना वर्षा शर्मा
पोखरा। पर्यटन व्यवसायमा महिलाकालागि थुप्रै चूनौति रहेको एक अन्तक्रिया कार्यक्रमका सहभागीले बताएका छन्। लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत पर्यटन व्यवसायी महिलाद्वारा आयोजना गरिएको अर्न्तक्रिया कार्यक्रममा सहभागी पर्यटन व्यवसायी महिलाले सो कुरा बताएका हुन्। महिला पर्यटन व्यवसायीको चाहना, हिंसा रहित शान्ति पर्यटनको स्थापना भन्ने नाराका साथ आयोजित कार्यक्रमका वक्ताले बाहिर देखे जस्तो र सोचे जस्तो सहज नभएको भन्दै पर्यटन व्यवसायमा लैंगिकमैत्री दृष्टिकोणको अभाव रहेको बताए।
कार्यक्रममा प्रमुख अतिथि महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी जिसीले हरेक महिलाले हिंसाको प्रतिकार गर्न सके पनि हिंसा घट्ने भन्दै, महिला आफू भन्दा पनि अरुका लागि बाँचिदिने संस्कारले हिंसालाई प्रश्रय दिएको बताउनुभयो। महिला माथिको हिंसा केवल महिलाको भनेर बुझ्ने प्रवृत्ति र हिंसाको प्रतिकारमा उत्रिएका समाजमा सुरक्षित हुन नसक्दा हिंसा रोकिन नसकेको उहाँले बताउनु भयो।
नेपालको कानुन महिलाको पक्षमा राम्रोे देखिएपनि कानुनी सचेतनाको कमि र प्रभावकारी कानुनको अभावले महिला अधिकारलाई चूनौति दिएको उहाँको भनाइ थियो। नेपाल पर्यटन बोर्डकी वरिष्ठ अधिकृत श्रद्धा श्रेष्ठले महिला माथिको हिंसा अशिक्षित र गाउँघरमा मात्रै होइन शिक्षित र सम्पन्न परिवारमा पनि भएको भन्दै इज्जत र प्रतिष्ठाको ठुलो भारीले हिंसालाई दबाइराखेको बताउनु भयो। उहाँले भन्नुभयो ‘व्यवसायमा महिला स्थापित हुन खोज्दा यो समाजलाई मान्य हुँदैन विविध कुरा गरेर मनोबल गिराउने गरिन्छ, पहिचानसहित आत्सम्मानलाई जोगाएर बाँच्न महिलालाई निकै कठिन छ।’
पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले शिक्षाले नै महिला आत्मनिर्भर र आत्मविश्वासी हुने र हिंसाको अवस्था नआउने भएकाले महिला शिक्षातर्फ जोड दिन आग्रह गर्नुभयो। पोखरा उद्योग वाणिज्य संघकी कार्यकारी सदस्य गोमा ढकालले महिला परनिर्भताबाट मुक्त हुन सके पनि हिंसा कम हुने बताउनु भयो।
कार्यक्रममा प्याराग्लाइडिङ व्यवसायी पुनम बमजमले चूनौतिलाई सामाना गर्न आत्मविश्वास र प्रतिकार गर्ने क्षमता महिलामा हुनुपर्ने बताउनुभयो। बमजमले पित्तृसत्तात्मक समाजले महिलाको क्षमतालाई सहजै नस्विकार्दा व्यवसायिक पहिचान दिलाउन कठिनाइ भएको बताउनुभयो । ट्रेकिङ क्षेत्रकी शर्मिला नेपाली र होटल कर्मचारी ईश्वरी घिमिरेले आत्मनिर्भरता र आत्मविश्वासले हिंसाको प्रतिकार गर्ने क्षमताको विकास गरिदिएको बताउनुभयो।
अग्रज पर्यटन व्यवसायी महिला लक्की कार्की क्षेत्रीले पर्यटन व्यवसायमा पनि हिंसा रहेको र यसलाई समाप्त पार्न महिला प्रतिकार गर्न अग्रसर हुनुपर्ने बताउन भयो। समय बदलिए पनि सोच बदलिन नसक्दा पर्यटन व्यवसायमा महिलालाई स्थापित हुन गाह्रो भएको उहाँको भनाइ थियो।
कार्यक्रममा ईन्दिरा बराल, संगिता पौडेल, पार्वती पाण्डे, सावित्री तिमिल्सिना दुर्गा पहारीे, दुर्गा थापा, इश्वरी घिमिरे लगायतका वक्ताले लंैगिक मैत्री व्यावसायिक वातावरणका लागि जोड दिएका थिए। पुरुषलाई मात्र दोष दिएर नहुने भन्दै आफै स्वावलम्बी बन्नुपर्नेमा उनीहरूले जोड दिए ।
Comment Here!