सर्मिला बुढाथोकी

चरिकोटको सातदोबाटो चोकमा प्याजको विरुवा बेच्दै तुलसीदेवी
दोलखा । दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर पाँचकी तुलसीदेबी चौलागाई हिजो आज दोलखा सदरमुकाम चरिकोट बजारमा प्याजको विरुवा बेच्दै गरेको भेटिन्छिन् । तुलसीदेवीले प्याजको विउ उमारेर विरुवा बेच्न थालेको २० वर्ष जति भै सकेको छ ।
उनी भीमेश्वर नगरपालिका वडा नम्बर पाँचकी स्वास्थ्य स्वयंसेविका पनि हुन् । सबै काम गरेर बचेको थोरै समयमा करेसाबारीमा रोपेको विउबाट उत्पादन भएको प्याजको विरुवा बिक्री गरेर २ महिनाको अन्तरालमा ४० देखि ५० हजारसम्म आम्दानी हुने चौलागाईको भनाई छ ।
मंसिर महिना प्याज रोप्ने सिजन हो । उनले हरेक वर्ष यो सिजनमा बेच्ने प्याजको विरुवाबाट भएको आम्दानीले वर्षभरीको घर खर्चका लागि सहज हुने गरेको बताइन् । । उनी भन्छिन्– अन्य व्यवसाय वा काम हुनेले पनि बचेको समयमा विउ उमार्ने ठाउँ र पानी सहज भए सामान्य घर खर्चका लागि प्याजको विरुवाबाट आम्दानी गर्न सकिन्छ ।’

उर्मिला मग्राती
भीमेश्वर नगरपालिका वडा नम्बर सातकी उर्मिला मुग्रातीले पनि वर्षको एक सिजनमा प्याजको विरुवा विक्रि गरेर ४०/५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताउँछिन् । एक मुठा प्याजको विरुवाको एकसय रुपैयाँका दरले विक्री हुने गरेको उर्मिलाले बताइन् ।
‘केहीपनि आम्दानीको स्रोत नभएकाहरूको लागि समेत प्याजको विरुवा बिक्रीले केही हदसम्म घर खर्च चलाउन टेवा पुग्छ’ – उर्मिलाले भनिन् । यो समयमा यहाँका महिलाले प्याजको विरुवाबाट छोटो समयमा राम्रो आम्दानी गर्ने उर्मिला बताउछिन् ।
त्यसोत तुलसिदेवी, उर्मिलालगायत अन्य महिलाले अन्य मौसमी तथा बेमौसमी तरकारी बेचेर पनि घर खर्चका लागि राम्रै आम्दानी गर्दै आएका छन् । तुलसीदेवी भन्छिन् – ‘थोरैमात्र मेहेनत गर्ने हो भने पनि तरकारी खेतीबाट घर खर्चको लागि राम्रै आम्दानी गर्न सकिन्छ ।’
आफुले घर वरपरको करेसावारीमा प्याजको विरुवा र अन्य मौसमी तथा बेमौसमी तरकारी खेती गरी घर खर्च चलेको तुलसीदेवी बताउछिन् । पानीको स्रोत छ र मेहेनत गर्न सकिन्छ भने थोरै जमिन हुनेले पनि तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सक्ने तुलसीदेवी बताउछिन् ।
Comment Here!