श्रीमानले बच्चा दिए, नागरिकता दिएनन्


प्रकाशित मिति :2016-12-09 15:29:45

खेमा बस्नेत

धनसरा विक

धनसरा विक

काठमाडौं । सुर्खेत गुने गाविसकी धनसरा विक उमेरले ७० पुगिन् तर उनले हालसम्म नागरिकता पाएकी छैनन् । नागरिकता नभएकाले उनी सरकारले वृद्धवृद्धालाई उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित छिन् ।

धनसराका श्रीमान् एक वर्षअघि बिते । उनका श्रीमानको पनि नागरिकता थिएन । श्रीमानको निधनपछि धनसराले पनि नागरिता पाउन सकिनन् । ‘उनी (श्रीमान) पनि नागरिकता नपाईकन मरे, म पनि त्यतिकै मर्ने भएँ,’ धनसरा दुखेसो पोख्छिन् ।

नागरिकता नहुँदा धनसरामात्र समस्यामा छैनन् । उनको सिंगो परिवार नै नागरिकता विहीन भएका छन् । उनी आफ्नो भन्दा आफ्ना दुई सन्तान र तिनका सन्तानले नागरिकता नपाएकोमा र नपाउने हुन की भनेर चिन्तित देखिन्छन् । ‘मेरो जीवन त त्यतिकै बित्यो । तर, छोरा र नातिनातिनाको पनि नागरिकता बनेको छैन । हाम्रो त परिवारै नागरिकताविहीन हुने भयो,’ उनी भन्छिन् ।

रमा थापा

रमा थापा

मकवानपुर डुलकोटकी रमा थापामगरले पनि नागरिकता अभावमा आफ्ना सन्तानको जन्मदर्ता गराउन सकिनन् । उमेरले ३१ पुगेकी रमा दुई छोरी र एक छोराकी आमा हुन् । १७ वर्षको उमेरमै विवाह गरेको बताउने रमा श्रीमान्ले नागरिकता बनाउन आलटाल गरेकाले आफू अहिले समस्यामा परेको बताउँछिन् ।

‘नागरिकता बनाउँ भन्दा सुरुमा श्रीमानले किन चाहियो भनेर टारे,अहिले अर्को विवाह गरेर अन्तै बसेका छन्, अब के गर्ने होला ?’ उनी प्रश्न गर्छिन् ।

नागरिकताका लागि प्रशासनले श्रीमानको नागरिकता खोजेकाले आफू र छोराछोरी नागरिकता विहीन हुन पुगेको उनले सुनाइन् । ‘अहिले श्रीमान्ले न मेरो वास्ता गर्छन्, न छोराछोरीको, अरु त अरु, नागरिकता नभएपछि छोराछोरीलाई स्कुल, कलेजमा पढाउन समेत समस्या भइरहेछ ।’

विमला

विमला

एक सन्तानकी आमा धादिङ्ग दाखीकी विमला पनि अहिले नागरिकता बनाउन हारगुहार गरिरहेकी छिन् । स्थानीय कुमार तामाङसँग प्रेम विवाह गरेकी विमला एक छोराकी आमा समेत हुन् । छोरा ३ वर्षको भएपछि पतिले उनलाई एक्लै छाडिदिए । नागरिकताको अभावमा उनले विवाह समेत दर्ता गर्न सकेकी छैनन् ।

‘मैले के नै मागेकी थिएँ π मेरो नागरिकता र विवाह दर्ता गराइदिनुस् भन्दा समेत किन चाहियो तँलाई नागरिकता भनेर वास्ता गरेनन्,’ उनी भन्छिन् । हाल सात वर्ष पुगेका छोराको लालनपालनको जिम्मा पनि उनैको काँधमा आइपरेको छ । तर, जन्म दर्ता नभएको र स्कुलमा बाबुको नाम लेखाउनुपर्ने भएपछि उनले पनि छोरालाई स्कुल पठाउन सकेकी छैनन् ।

नागरिकता अभावमा बच्चा पढाउन नपाएकी अर्की पीडित हुन्, गोरखाकी बबिता बर्देवा । छोटो चिनजानमै प्रेम विवाह गरेकी बबिता श्रीमानले धोका दिएपछि पीडित हुन पुगेकी हुन् । श्रीमानको नाम अशोक भन्ने मात्रै थाहा पाएकी बबिताले उनको जात, ठेगाना थाहा पाइनन् । उनी भन्छिन्,‘सँगै झोला कारखानामा काम गर्दा प्रेम भयो, त्यसपछि विवाह गरी काठमाडौंमा बसियो, तर अचानक मालमत्ता लिएर उनी कहाँ गए पत्तै पाईंन ।’

अशोकसँगको सम्बन्धबाट जन्मिएको उनको छोरा हाल सात वर्षको भइसकेका छन् । ‘विवाह दर्ता गरौं, नागरिकता बनाउँ भन्दा आलटाल गरिरहेका थिए, तर यसरी एक्कासी छोडेर जालान् भन्ने लागेको थिएन्,’ उनी भन्छिन् ।

सुर्खेत छिन्छुकी विष्णु खड्का विवाह गरेको १० वर्ष भैसकेको छ । तर, उनीसँग नागरिकता पनि छैन र विवाह पनि दर्ता भएको छैन । सेनामा कार्यरत उनका श्रीमानले दुई सन्तानको जन्मपछि अर्को विवाह गरि बेपत्ता भए । खड्का अहिले सन्तानको भविष्यका लागि नागरिकता बनाउन दौडधुप गरिरहेकी छिन् ।

‘स्कुलले जन्मदर्ता नभएको भन्दै छोरीको भर्ना गर्ने मानेन । पछि श्रीमानलाई चिनेका मानिसले फलानाको छोराछोरी हो भनेपछि मात्र भर्ना भयो,’ उनी भन्छिन् । अहिले उनलाई अर्को चिन्ता थपिएको छ, किनकी प्रशासनले उनलाई छोरीको जन्मदर्ता गराउन बाबुलाई ल्याउनु भनेका छन् ।

गोरखा सौराखानीकी पुनम ढकाल पनि नागरिकता नपाउने विवाहित महिलाको हुलमा मिसिएकी छिन् । विवाह गरेर श्रीमान् विदेशिए र उतै बेपत्ता भए । एक सन्तानकी आमा पुनमलाई दैनिक गुजारा चलाउन र बच्चा हुर्काउन काम गर्नैपर्ने बाध्यता छ, तर यसमा नागरिकता तगारो बनिरहेको छ । ‘पाँच वर्ष भयो, श्रीमानले वेवास्ता गरेको । नागरिकता नभएकोले व्यवसाय गरि जीवन गुजारा समेत गर्न पाइएन,’ उनको दुखेसो छ । उनका सासुससुरा पनि छन् । तर उनीहरू अझै पनि नागरिकता किन चाहियो भन्न छाडेका छैनन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: