बालबालिकाले नै बुझ्दैनन् बालविवाह
मिति तोकिएका तेह्र बालविवाह रोकिए
खेमा बस्नेत

सलेना गाविसका किशोरीवृत्तका महिला तथा किशोरिहरु किशोरीवृत्तका बालबिबाह अन्त्यका लागि गाविसमा अन्तरक्रिया र छलफल गर्दै ।
बैतडी । जिल्लास्थित सलेना गाविसकी १६ वर्षीया गीता भाट मंसिरको दोस्रो साता आफ्नो विवाह हुने कुराले निकै उत्साहित थिईन । कक्षा १० मा पढ्दै गरेकी गीतालाई चैतमा हुन लागेको माध्यमिक शिक्षाको परीक्षा भन्दा विवाहको चासो बढी थियो । स्थानीय किशोरीवृत्तले कलिलो उमेरमा विवाह गर्न नहुने भन्दै सम्झाउँदा पनि उनले मानिनन् । उनका आमाबाबु विवाह रोक्न सहमत भएपछि विवाह त रोकियो, तर गीताले अझै आफ्नो विवाह तोडिनुका कारण बुझ्न सकेकी छैनन् ।
‘आमाबुबालाई सम्झाउँदा विवाह रोक्न सहमत भए । तर, गीताले मानिनन्, उनी विवाह गर्न इच्छुक थिइन्,’ किशोरीवृत्तका सचिव कुन्ती भट्टले सुनाइन् । उनका अनुसार गीताले आफूसँगैका साथीहरूको विवाह भएको भन्दै विवाह गर्न जिद्दी गरेकी थिइन् ।
गीता प्रतिनिधी पात्र मात्र हुन् । महिला विकास अधिकृत अनिता बुढाऐरका अनुसार बैशाखदेखि हालसम्म १३ वटा बालविवाह रोकिएका छन्, जसमध्ये छ वटा यही मंसिरमा रोकिएका हुन् ।
सुदूरपश्चिममा बालविवाहको प्रचलन धेरै भएपनि त्यसमा आमाबुबा मात्र नभई स्वयं किशोर किशोरी समेतको राजीखुशी हुने पाइएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीको अनुभव छ । उनी भन्छन्, ‘बालविवाहका लागि कतिपय किशोर किशोरी समेतको स्वीकारोक्ति रहेको देखिन्छ । हामीले रोके पनि केहीले पछि भागेर पनि विवाह गरेका पाइएको छ ।’ उनका अनुसार किशोर किशोरीमा एक, दुई साथीहरूको विवाह भएपछि अरु पनि विवाह गर्न हौसिने कारण प्रमुख बाधक बनेको बताउँछन् ।
शारिरीक र मानसिक रुपमा तयार नभई गरिने विवाहले भविष्यमा स्वास्थ्य सम्बन्धी समस्या उत्पन्न हुने विभिन्न अध्ययनहरूले बताएका छन् । यसैगरि अपरिपक्व उमेरमा गरिने विवाहले विभिन्न खाले मानसिक र सामाजिक समस्या निम्त्याउने भन्दै कानुनले समेत रोकेको छ । तर, सुदूरपश्चिमको बैतडीमा भने बालविवाह प्रचलन हटाउने प्रयास प्रभावकारी बन्न सकेको छैन ।
अधिकृत बुढाऐर अभिभावक र समुदायमा बालविवाह प्रतिको सचेतना अभावको कारणले यसले महत्व पाएको बताउँछिन् । उनी भन्छिन्, ‘यहाँका धेरैजसो अभिभावक आफ्ना छोराछोरीको विवाह सानो उमेरमै गर्ने र बालबालिकाले समेत सँगैको साथीको विवाह भएपछि यसलाई सामान्य ठान्ने गर्दछन् ।’
बैतडीमा बालविवाह दर बढी हुने गरे पनि पछिल्लो समय रोकथामको लागि थुप्रै पहलहरु हुन थालेको महिला विकास अधिकृत बुढाऐरले बताइन् । बालविवाह भइरहेको अवस्थामा समेत त्यसलाई तत्कालै रोक्ने सम्मका काम जिल्लामा भइरहेको उनको भनाई छ । बैतडीका १६ गाविसमा किशोरीवृत्त पनि बालविवाह रोक्न सक्रिय छ ।
बालविवाह नियन्त्रणका लागि सञ्चालित विभिन्न अभियानहरू नै केही उपलव्धी ठानिएपनि नियन्त्रण गर्न भने चुनौतिपूर्ण रहेको सरोकालवालाहरु बताउँछन् । ‘बालविवाह परम्परागत चलन भएकाले एकाएक नियन्त्रण गर्नु चूनौतिपुर्ण छ । त्यसैमा बालबालिका स्वयंले लहलहैमा लाग्न थालेपछि झन् अप्ठेरो बनेको छ,’ अधिकृत गणेश शाहीले भने । उनका अनुसार छोरीहरूको संख्या बढी भएको, आर्थिक अवस्था कमजोर भएको र दलित परिवारमा बालविवाह बढी हुने गरेको पाइएको छ ।
Comment Here!