महिला समाचार सम्बन्धी आचारसंहिताको मस्यौदा तयार


प्रकाशित मिति :2016-12-15 14:13:00

महिला खबर

press-council

काठमाडौं। प्रेस काउन्सिल नेपालले महिला समाचार सम्प्रेषण सम्बन्धी (विशेष) आचारसंहिता, २०७३ तयार पारेको छ। महिलाका मुद्दालाई संचार माध्यमले प्राथमिकता नदिएको र संचारमाध्यमहरू लैंगिक सम्वेदनशील नभएको भन्ने गुनासो आइरहेको सर्न्दभमा प्रेस काउन्सिल नेपालले यसलाई सम्बाेधन गर्न खाेजेकाे छ।

 महिलाका सम्बन्धमा समाचार सम्प्रेषण गर्दा अवलम्बन गर्नुपर्ने आचारसंहिताका विषयमा विस्तृत व्यवस्था गर्नका लागि अाचार स‌ंहिता बनाउन  प्रेस काउन्सिल नेपालको ४७ वर्षे इतिहासमा पहिलाे पटक यस्ताे कार्यदल बनाइएको हो।

काउन्सिलका सदस्य शुभेच्छाविन्दु तुलाधरकाे संयोजकत्वमा गठित कार्यदलले तयार पारेको सो आचारसंहिताले खासगरि महिला समाचार सम्प्रेषण गर्दा पालना गर्नुपर्ने नियम र सो को पालना गर्नुपर्ने कारण र महिला पत्रकारका वृत्ति विकासका सर्न्दभमा महत्वपूर्ण व्यवस्था ल्याएको छ।

मस्यौदाको पहिलो पृष्ठमै विचार र अभिव्यक्तिको स्वतन्त्रता एवं वैयक्तिक अधिकार सम्मान र गोपनियता, लैङ्गिक समता, सारभूत समानताको प्रत्याभूति, लिङ्गका आधारमा गरिने भेदभावको अन्त्य जस्ता विषय महिलासँग सम्बन्धित समाचार सम्प्रेषणमा अत्यधिक महत्वपूर्ण हुने भएकोले आचारसंहिता आवश्यक भएको उल्लेख छ।

के छ आचारसंहितामा ?

आचारसंहितालाई महिला सम्बद्ध आठवटा विषयमा केन्द्रित गरिएको छ। यी आठ विषयमा महिलाको सर्वाङिगण हित र विकास, महिलाको पेशागत हित र अवसर, लैङ्गिक समता र सारभूत समानता, सकारात्मक र सम्मानजनक समाचार सम्प्रेषण, पत्रकार महिलाको हक, हित र पेशागत अवसर, उत्तरदायित्व र जवाफदेहिता, अधिकार र सचेतना र लिङ्गको आधारमा गरिने भेदभावको अन्त्य रहेका छन्।

महिलाको सर्वाङ्गीण हित र विकास विषयमा समाचार सम्प्रेषण गर्दा महिलाको मर्यादापूर्ण जीवनको सुनिश्चितता, लिङ्गको आधारमा गरिने कुनैपनि विभेदको अन्त्य, महिलाको वैवाहिक अवस्था जस्तोसुकै भएपनि सामाजिक, राजनीतिक, साँस्कृतिक, नागरिक र अन्य कुनै पनि क्षेत्रमा पुरूष र महिलाबीच सारभूत समानता, महिला मानव अधिकारको प्रर्वद्धन, सम्बोधन, परिपूर्ति जस्ता विषयलाई सम्बोधन हुने गरी उनीहरूको सर्वाङ्गीण विकास र हितलाई ध्यानमा राख्नुपर्ने बताएको छ। र, यस सर्न्दभमा संविधान, ऐन, नियम, व्यावसायिक मर्यादा सम्बन्धी नीति, आचारसंहिता, निर्देशन एवं अर्न्तराष्ट्रिय मापदण्डलाई ध्यानमा राखी समाचार सम्प्रेषण गनुपर्ने आचार संहिताको मस्यौदामा उल्लेख छ ।

मस्यौदामा समाचार सम्प्रेषण गर्दा महिलालाई आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक र व्यक्तिगत जीवनलाई प्रभाव पार्ने तत्वहरू र तीनले पार्ने प्रभावका सम्बन्धमा पनि विश्लेषण गर्नुपर्ने, महिलाले गरेका प्रगति समेट्नुपर्ने, राज्यका निकायले महिलाको हित र विकासमा गरेका कार्यलगायत राज्य र महिलासँग सम्बन्धित विषयलाई लेख्नुपर्ने जनाइएको छ।

यसबाहेक, महिलाको हितको लागि निजी क्षेत्रबाट गरिएका कार्यहरू, महिलाका लागि संसदमा भएका बहस, छलफल, नीति, निर्णयहरू, अदालतले गरेका निर्णय, सुरक्षा निकायले गरेका कार्य, दलित, गरिब एवं असहाय महिलालाई गरिएका सहयोग, महिलाको हित सम्बन्धी अर्न्तराष्ट्रिय अभ्यास र अनुभव तथा समग्रमा महिला सशक्तीकरण, सहभागिता र नेतृत्वलाई लगायतलाई समाचारमा समेट्नुपर्ने उल्लेख छ।

यसैगरि महिलाको पेशागत हित र अवसर विषयमा महिलाको निजी एवं सार्वजनिक क्षेत्रमा पेशागत अवस्था र अवसरको स्थिती, पेशागत रूपमा महिलालाई दिइएका अवसर र तिनको अवस्था, पर्याप्तता, कमी, कमजोरी, सुधारका क्षेत्र र सम्भावना, पेशागत रूपमा महिलामाथि हुने व्यवहार, महिलाले भोग्नु परेका चुनौती, समस्या र प्राप्त अवसर, निजी तथा सार्वजनिक क्षेत्रमा महिलालाई पेशागत अवसर दिन गरिएका कार्य र तिनको परिणाम, पेशागत रूपमा महिलाले भोग्नु परेको चूनौति, पेशागत रूपमा महिलामाथि हुने असमानतालगायतलाई विश्लेषण गर्नुपर्ने उल्लेख छ।

कार्यक्षेत्रमा हुने यौन दुर्व्यवहार, यौन हिंसा, महिलाविरूद्ध निजी तथा सार्वजनिक क्षेत्रमा हुने कुनै पनि प्रकृतिको हिंसा तथा अपराधमा समाचार सम्प्रेषण गर्दा महिला तथा पुरूष कसैको पनि सामाजिक इज्जत, प्रतिष्ठा एवं कानुनी अधिकारमा असर नपर्ने गरी गर्नुपर्ने, हिंसाबाट पीडित महिला तथा बालिकाको आत्मसम्मानमा ठेस पुर्‍याउने, उनीहरूलाई कमजोर वर्गको रूपमा चित्रण गरी उनीहरूको मनोबल कमजोर बनाउने किसिमको समाचार बनाउन पाइने छैन।

यसले महिलामाथि सामाजिक, साँस्कृतिक, आर्थिक, राजनीतिक क्षेत्रमा के कसरी भेदभाव भइरहेका छ भन्ने सम्बन्धमा खोज गर्न र त्यस्ता भेदभावले परिवार, समाज र राष्ट्रले के कस्तो क्षति व्यहोरेको छ भन्ने खालका समाचार सम्प्रेषण गर्न निर्देश गरेको छ। समानताका लागि राज्यबाट गरिएका पहल, कानुन तथा यसमा कार्यरत संघसंस्था तथा निजी क्षेत्रलाई जिम्मेवार बनाउने गरि समाचार सम्प्रेषण गर्ने तथा नकरात्मक र असम्मानजनक समाचार, व्यक्तिगत स्वतन्त्रता, कानुनले गोप्य मानिएका विषय, निजी व्यवहारलगायतलाई समाचार बनाउन नहुने उल्लेख छ।

यसैगरि पत्रकार महिलाको हक हित र पेशागत अवसर परिच्छेदमा महिलाका सम्बन्धमा अपनाउनुपर्ने आचारसंहिता पत्रकार महिलाको हकमा पनि अपनाइनुपर्ने, पत्रकार महिलालाई समान अवसर, पेशामा प्रोत्साहन, पेशागत नेतृत्वमा पुग्न र पुर्‍याउन मद्दत, पेशागत सीप र ज्ञान सिक्न उपयोगी हुने समाचार सम्प्रेषण गर्नुपर्ने उल्लेख छ। सोही पृष्ठमा महिला पत्रकारले पनि महिलाले पाउने सुविधा र विशेषाधिकारको दुरूपयोग गरी पत्रकार महिलाले पनि समाचार सम्प्रेषण गर्नु नहुने तथा पत्रकार महिलाको गुनासो सुन्ने र प्रभावकारी उपचार दिने व्यवस्था प्रत्येक सञ्चार माध्यमले आफ्नो कार्यालयमा स्थापना गर्नुपर्ने उल्लेख छ।

उत्तरदायित्व र जवाफदेहिता शिर्षकमा महिलासँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा उत्तरदायी र जवाफदेही हुनुपर्ने, समाचार सम्प्रेषणले कसैको कानुनी अधिकार, व्यक्तिगत स्वतन्त्रता र गोपनीयतामा आघात पर्न नहुने, महिलासँग सम्बन्धित समाचार सम्प्रेषण भएमा बेइजिङ घोषणापत्रलगायतका अन्तराष्ट्रिय मापदण्डको पालना गर्नुपर्ने उल्लेख गरिएको छ।

यसैगरि महिला अधिकारको प्रर्वद्धनमा सञ्चार माध्यमले घरेलु कानुन र अन्तराष्ट्रिय कानुनले सुरक्षित गरेका महिलाका अधिकारलाई प्रचार प्रसार गर्नुपर्ने, समाचार प्रसारणको मुख्य उद्देश्य महिलाका अधिकारको सम्मान र जर्गेना गर्नेतर्फ लक्षित हुनुपर्ने उल्लेख छ।

आचारसंहितामा उल्लेख नभएका विषयमा पत्रकार आचारसंहिता २०७३ बमोजिम हुने, आचारसंहिताको उल्लंघन भएमा प्रेस काउन्सिल ऐन, २०४८ को दफा १२ अनुसार उजुरी गर्न सोही दफा र पत्रकार आचारसंहिता २०७३ लागू हुने र यसलाई पालना गर्न प्रत्येक सञ्चारमाध्यमले महिला समाचार सम्प्रेषण सम्बन्धमा आन्तरिक आचारसंहिता बनाई लागू गर्नुपर्ने पनि बताएको छ। आचार संहिताकाे यो पहिलो मस्यौदालाई सरोकावालाबीच छलफलमा ल्याइ अन्तिम रुप दिने कार्यदल संयोजक सुभेच्छा विन्दुले बताउनुभएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: