पार्वती पाण्डे
कपिलवस्तु । चेलीबेटी बेचबिखन मुद्दामा पुर्पक्षका लागि थुनामा परेका पाँचजना विचौलियालाई जिल्ला अदालत तौलिहवाले जेल चलान गरेको छ । जिल्ला न्यायाधिश कृष्णप्रसाद पौडेलको इजलासलले गत असोज २३ गते जरिवाना र कैद फैसला गरेको हो । मानव बेचविखनमा संलग्न विचौलिया ललिता वि.क., प्रदिप वि.क. र रेखा वि.क.लाई अदालतले १५ वर्ष जेल सजाय र जनही एक लाख क्षतिपूर्तिको दण्ड सजायसहितको फैसला गरेको छ । इन्द्रबहादुर खड्का र मोहन पाण्डेलाई ७ वर्ष ६ महिना जेल र ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।
एक वर्षअघि ती विचौलियाले रोल्पाका गीता, मीना र सीमा (नाम परिवर्तन) लाई ललाईफकाई कृष्णनगर सीमानाका हुँदै भारत लैजाने क्रममा किशोरीको उद्धार गर्ने क्रममा पक्राउ परेका थिए । मानव बेचविखनविरुद्ध कृष्णनगरमा कार्यरत के.आई. नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले विचौलियालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेको पाँचै जनालाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अन्तर्गत इलाका प्रहरी कार्यालय कृष्णनगरमा मुद्दा दर्ता भएको थियो ।
कानुनी प्रकृया अनुसार प्रहरीको अनुसन्धानपछि जिल्ला अदालत कपिलवस्तुमा पेश भएको थियो । पीडित र साक्षीको बयान तथा प्रहरीको अनुसन्धानबाट आएका प्रमाणका आधारमा जिल्ला अदालत कपिलवस्तुका न्यायाधिश कृष्णप्रसाद पौडेलको इजलासले विचौलियालाई दण्ड सजाय सुनाएको हो ।
उद्धार गरिएका पीडित किशोरीहरु के.आई. नेपालको सुरक्षित आवास गृह चितवनमा रही बिभिन्न सीप सिकी अभिभावकसँग पुनर्मिलन भइसकेको के.आई. नेपाल कपिलवस्तुका जिल्ला संयोजक केसर विश्वकर्माले जानकारी दिए । यसअघि मानव बेचबिखनमा संलग्न समीर महमद अन्सारी र निसान भन्ने अनुप गुरुङ्ग समेत जिल्ला अदालत कपिलवस्तुको फैसला अनुसार १० वर्षका लागि जेल चलान भइसकेका छन् ।
Comment Here!