अब कुन तन्त्रले महिलालाई सरकारमा पुर्‍याउँछ ?


प्रकाशित मिति :2016-12-18 15:23:57

लोकतन्त्र अर्थात जनताले गर्ने शासन पद्धतिमा जनसंख्याको आधाभन्दा बढी संख्या भएका महिलालाई पाखा लगाउनु कुनैपनि कोणबाट सामाजिक न्यायमा पर्दैन, तर यहाँ महिला सहभागिताको कुरा गरेर नथाक्ने शासक आफै नेतृत्वमा पुग्दा समेत व्यवहारमा गरेर देखाउन सकेनन् ।

सुशीला बुढाथोकी

opmcm
काठमाडौं । नेपालमा गणतन्त्रपछि राज्यका तीन महत्वपूर्ण निकायमा महिला छन् । यो नेपाली इतिहासमै पहिलोपटक भएको हो । खासगरि २०६२/ ०६३ को आन्दोलनपछि राज्यले समावेशी सिद्धान्तका आधारमा महिलालगायत पछाडी पारिएका सवै समुदायको सहभागिता बढाउन नीतिगत रुपमै सम्बोधन गरिएको हो । अन्तरिम संविधानले महिला भएकै कारण विभेद गर्न नपाइने व्यवस्था गरेको हो र मौलिक हकमा महिलाको हकको व्यवस्था गरेको हो । तरपनि महिला नेतृत्व तहमा आउन सकेका छैनन् । लोकतन्त्रले महिलाको राजनीतिक सहभागिता र पहुँच केही बढायो, तर राज्यका निकायमा महिलाको उपस्थिति कानुन आएपनि बढाउन सकेन ।

सबैभन्दा बलियो नयाँ संविधान बनेपछिका सरकारहरूको दृष्टान्त नै काफी छ । लोकतन्त्रपछि दोस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्त्रीमण्डल उनको पहिलो कार्यकाल भन्दा असमावेशी बनेको छ । दाहालको ४१ सदस्यीय मन्त्रीमण्डलमा एक महिलामन्त्री र चार राज्यमन्त्री मात्र महिला छन् ।

लोकतन्त्र अर्थात जनताले गर्ने शासन पद्धतिमा जनसंख्याको आधाभन्दा बढी संख्या भएका महिलाहरू पुग्न नसक्नु मुलुककै दुर्भाग्य हो । निर्वाचन आयोग र प्रधानमन्त्रीको कार्यालयले सार्वजनिक गरेका दस्तावेजहरूले यस्तै देखाउँछन् । संविधानले नै राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता निश्चित गरेपनि व्यवहारमा ७ देखि २० प्रतिशत महिला मात्रै सो स्थानमा पुगेका देखिन्छन् । मन्त्री बनाइएकामध्ये पनि धेरैजसो मन्त्री भन्दा राज्यमन्त्री वा सहायक राज्यमन्त्रीहरू छन् ।

1

ती दस्तावेज अनुसार लोकतन्त्र स्थापनापछि, अर्थात २०६३ मा प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति स्व.गिरिजा प्रसाद कोइरालाले आफ्नो मन्त्रीमण्डलमा पुरुषलाई मात्रै राखेका थिए । माओवादी आन्दोलन र त्यसको जगमा बनेको गणतन्त्रले सबैलाई समान अधिकारको प्रत्याभूति गर्ने बताएपनि व्यवहारमा त्यसो हुन सकेन । ०६३ वैशाख १९ गते पहिलोपटक गठन गरिएको कोइरालाको सात सदस्यीय मन्त्रीमण्डलमा महिला एकजना पनि थिएनन् । यसको एक महिनापछि दुईचोटी विस्तार गरिएको सदस्यहरूमा पनि महिला परेनन् ।

त्यसपछि २०६३ चैत्र १८ मा पुनः गठन गरिएको उनको मन्त्रीमण्डलमा एकमात्र महिला मन्त्रीको रुपमा सहाना प्रधानलाई चुनियो, परराष्ट्र मन्त्रीको रुपमा । जबकि, यसअघिका सरकारले समेत कम्तिमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय खडा गरि एकजना महिला मन्त्री बनाएको इतिहास छ ।

०६३ देखि ०६५ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हालेका कोइरालाले गोपालमान श्रेष्ठलाई दुईचोटी, रामशरण महत र महन्थ ठाकुर दुवैलाई तीन तीन चोटी विभिन्न मन्त्रालयको जिम्मा दिएका थिए । नेपालको इतिहासमा पाँचौपटक र लोकतन्त्रपछि पहिलो प्रधानमन्त्री बनेका कोइरालाले महिला सहभागितालाई वेवास्ता गरेको प्रष्ट देखियो ।

कोइरालापछि देशको नेतृत्व गर्न आइपुगेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मन्त्रिमण्डलका २४ सदस्यमा जम्मा चारजना महिलालाई मन्त्री बनाए । सर्वहारा वर्गको नेतृत्वले सत्तामा पुगेका दाहालले पनि उनकै शब्दमा भन्दा लोकतन्त्र अघिकै सरकारको जस्तो सामन्ती पारा देखाए । माओवाद, महिला, दलित र पिछडिएका वर्गको मुक्तिको नारा लिएर जनतालाई राज्यविरुद्ध विद्रोहमा उतारेका दाहालले सो ‘जनयुद्ध’मा महिलाले देखाएको बहादुरी समेत बिर्सिए । राज्यले भेदभाव गरेकै कारण माओवादीलाई सर्मथन गरेका महिलाहरू त्यसपछि निराश बन्नु स्वाभाविकै थियो ।

2

दाहालपछि क्रमशः प्रधानमन्त्री बनेका माधवकुमार नेपालले आफ्नो ४३ सदस्यीय मन्त्रिमण्डलमा दुई मन्त्री, एक राज्य मन्त्री र दुई सहायक राज्यमन्त्री गरी पाँच महिला मन्त्री बनाए । जबकी, त्यत्रो जम्बो मन्त्रालयमा एकजना पनि पुरुष सहायक राज्यमन्त्री थिएनन् । महिला सहभागिता देखाउनमात्र उनहिरूलाई सहायक राज्यमन्त्री बनाइएको प्रष्ट देखिन्थ्यो ।

नेपालपछि प्रधानमन्त्री बनेका एमाले नेता झलनाथ खनालले पनि पूर्व प्रधानमन्त्रीहरूले झैं महिलालाई मन्त्रालयमा स्थान दिएनन् । ३५ सदस्यीय मन्त्रीमण्डलमा उनले सात मन्त्रालय मात्र महिलालाई जिम्मा दिए ।

खनालपछिका प्रधानमन्त्री बाबुराम भट्टराइले पनि आफ्नो मन्त्रीमण्डलमा ४९ सदस्यमध्ये केवल १२ जना महिला चुनेका थिए । उनको मन्त्रिमण्डलमा रहेका कुल १२ महिला मन्त्रीमध्ये चार मन्त्री र आठ राज्यमन्त्री थिए ।

पहिलो संविधानसभाको विघटनपछि दोस्रो संविधान सभाको निर्वाचन गराउन भन्दै अप्रत्यासित रुपमा मन्त्रिमण्डलको अध्यक्ष बन्न पुगेका खिलराज रेग्मीले पनि पुरानै प्रक्रियालाई निरन्तरता दिए । उनले आफ्नो ११ जनाको मन्त्रिमण्डलमा एकजनामात्र महिला मन्त्री छाने । रेग्मीपछि प्रधानमन्त्री बन्ने पालो पाएका स्व. कांग्रेस नेता सुशील कोइरालाले २२ मन्त्रालयमध्ये तीनमात्र महिलालाई दिएका थिए । यसैगरि नयाँ संविधान जारी भएपछि प्रधानमन्त्री बनेका केपी ओलीको ३० सदस्यीय मन्त्रिमण्डलमा पनि ३ जनामात्रै महिला थिए । समावेशी सिद्धान्तसहित आएको नयाँ संविधानको कार्यान्वयन उनले आफैबाट कार्यान्वयनको सुरुवात गर्न सकेनन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: