रात काट्न मुश्किल भयो : भूकम्पपीडित


प्रकाशित मिति :2016-12-18 16:18:16

विदुर आचार्य

capture

सिन्धुपाल्चोक । पुषको महिना, पुराना जस्तापाता बेरेर बनाईएको एउटा अस्थायी टहरो । टहरो सुनसान देखिन्छ । बेलाबेलामा एउटी वृद्धा देखापर्छिन् । उनी हुन्, पुण्यशीला आर्चाय । उमेरले ८४ पुगेकी आर्चाय टहरोमा एक्लै बस्छिन् । दिन त उनको जसोतसो बित्छ, तर रात कटाउन मुश्किल । उनी आफू बस्ने घर बनाउन चाहन्छिन् तर, सक्दिनन् । ‘न काम गर्ने मान्छे पाइन्छ, न त घर बनाउने सामान ! अब यहि छाप्रोमै मर्ने त होला नी,’ उनले दुःख विसाइन् ।

०७२ वैशाखको भूकम्पपछि टहरोमै डेढ वर्ष गुजारिसकेकी आर्चायले आवास अनुदानको पहिलो किस्ता पाइसकिन् । ५० हजार रुपैयाँले कस्तो घर वनाउने भन्ने अन्यौल भएपछि घर वनाउन नसकेको उनी बताउँछिन् । ‘पैसाले जाडो थेग्दैन, घर वनाउन सकिएन,’ उनको गुनासो छ ।

पाङ्ग्रेटारकी लक्ष्मी माझीले पनि सरकारले भूकम्प पीडितलाई बाँडेको रकमले घर बनाउन सकिनन् । उमेरले ८० पुगेकी माझीले आवास अनुदानवापत सरकारले दिएको पहिलो किस्ताले पुनः जस्ताकै टहरो बनाइन् । ‘त्रिपाल च्यातियो बनाइदिने कोही भएनन्, अनि त्यही पैसाले जस्ताको टहरो बनाएँ,’ उनको भनाई छ । तर, चिसो बढ्दै गएपछि उनलाई त्यो नयाँ टहरो पनि काम लागेको छैन ।

अस्थायी टहरोमै भेटिएकी चोकटीकी राममाया थामीलाई पनि चिसोले पिरोलेको छ । जति रात पर्छ, उनको चिन्ता बढ्दै जान्छ । ‘निदाउनु अघि नै जस्तावाट तप तप शीत झर्न सुरु हुन्छ’ उनी भन्छिन्, ‘घर बनाउने पैसा सकिहाल्यो, अब काम गर्ने मान्छे कहाँबाट ल्याउनु ?’

जाडो सुरु भएसँगै जिल्लाका भूकम्प पीडितहरूको अवस्था कष्टकर बन्दै गएको छ । त्यसमा पनि टहरोमा बसिरहेका महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गको अवस्था झन् दर्दनाक वनेको छ । चिसो बढेसँगै बालबालिकामा निमोनियाको समस्या थपिएको मांखाकी स्वास्थ्य स्वयंसेविका रेलीमाया पराजुली बताउँछिन् । उनका अनुसार विशेष गरी सुनौला हजार दिन अभियानमा संलग्न आमाले चिसोको कारण समस्या बढेको बताएका छन् ।

सरकारले भूकम्पपीडितलाई आवास अनुदान बापत ५० हजार रुपैयाँ वितरण गरेपनि पीडितहरू टहरोमै जाडो काट्न बाध्य भएका छन् । पहिलो किस्ता लिएर घर बनाउन नसक्नेमा वृद्धा, महिला र अपाङ्गता भएकाहरू धेरै रहेको पुननिर्माणमा खटिएका ईन्जिनियर नवराज पौडेल वताउँछन् । उनका अनुसार जनशक्ति, निर्माण सामग्रीसँगै आवास निर्माणमा आवश्यक रकम अभाव भएपछि आवास निर्माण हुन नसकेको हो । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण विशेष सम्पर्क कार्यालयको तथ्यांक अनुसार अनुदान प्राप्त गरेकामध्ये दुई प्रतिशतले मात्र आवास निर्माणको काम शुरु गरेका छन् । पुननिर्माणले गति नलिए पनि गाउँ बस्तीमा आवास निर्माणको काम गाउँलेले आफ्नै पहलमा शुरु गरिरहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका निमित्त प्रमुख टंकप्रसाद गौतमको बुझाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: