छाउपडीले फेरि लियो ज्यान
छाउगोठमा बसेकी रोशनीको निस्सासिएर मृत्युः प्रहरी
महिला खबर
ललितपुर । अछाम जिल्लाको गाज्रा गाविसमा आइतबार एक किशोरीको छाउगोठमै मृत्यु भएको छ । १५ वर्षिया रोशनी तिरुवालाई छाउपडी गोठमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
महिनावारीका कारण गत शुक्रबारदेखि गोठमा सुत्न थालेकी तिरुवा शनिबार बेलुका पनि खाना खाइवरी त्यहाँ सुत्न गएकी थिइन् । आइतबार बिहान सात बजेसम्म नउठेपछि परिवारले हेर्न जाँदा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख गणेशसिहं महतोले वताउनुभयो ।
रोशनीका बुवा भरत तिरुवाले छोरीलाई उठाउन खोज्दा छोरी मरिसकेको भन्दै प्रहरीलाई खबर गरेका थिए । रोशनी सुतेको छाउगोठ उनको घरदेखि १९ फिट टाढा रहेको छ ।
प्रहरी प्रमुख महतोका अनुसार जाडोमा गोठमा आगो बालिएको देखिएको र हावा आउने जाने कुनै झ्याल नभएकोले धुँवाले निस्सासिएर उनको मृत्यु भएको हुनसक्ने बताउनुभयो । पोष्टमार्टमको रिपोर्ट आएपछि यथार्थ कुरा आउने उहाँको भनाई छ । ‘मृतकको शरीरमा कुनै चोटपटक छैन, गोठमा आगो बालेको देखिएको छ । हावा जाने आउने ठाउँ छैन, जसले निस्सासियर मृत्यु भएको देखिन्छ ।’
छाउगोठमा दश महिलाले ज्यान गुमाइसके
अछाममा हालसम्म छाउगोठमा बस्दा दश जना महिला तथा किशोरीको मृत्यु भइसकेको छ । छाउ गोठमा बस्ने कति महिलाले ज्यान गुमाए भन्ने यकिन तथ्याङक नभएपनि २०६३ यता दश महिलाले ज्यान गुमाएको महिला तथा बालबालिका कार्यालय अछामले जनाएको छ ।
गत ४ मंसिरमा जिल्लाको तिमिल्सैन गाविस ७ की २६ वर्षीया डम्बरा उपाध्यायको पनि छाउपडी गोठमै ज्यान गएको थियो । डम्बराको मुत्यु भएको एक महिनामै अछाममा अर्की एक किशोरीले छाउगोठमै ज्यान गुमाउनुपरेको छ । अछाम जिल्लाका ३१ गाविसलाई छाउपडी गोठमुक्त घोषणा गरिएको छ । गाज्रा गाविस पनि छाउपडीमुक्त घोषणा गरिएको गाविस पर्दछ ।
यो पनि पढ्नुस…
मनमा रहेको छाउ गोठ भत्काउन सकिएन : प्रमुख अर्याल
फाईल तस्विर
Comment Here!