निःसन्तानको पीडा महिलालाई मात्रै होइन पुरुषलाई पनि हुन्छ, तर हाम्रो समाजमा महिलालाई हेर्ने दृष्टिकोण फरक भएका कारण पुरुषको तुलनामा महिलालाई बढी दोषी मानिन्छ ।
निलिफा सुब्बा
हरेक महिलाले विहेपछि आमा बन्ने सपना देखेका हुन्छन्, रमाईलोसँग जीवन बिताउने सपना सजाएका हुन्छन्, तर त्यो सपना सबै महिलाको पुरा हुँदैन । हाम्रो समाजमा सन्तान जन्माउने सपना पुरा नभएका कयौं महिलाको कथा व्याथा प्रशस्त भेटिन्छन् । उनीहरूले चाहेर पनि खुलेर आफ्नो कुरा गर्न सकेका छैनन् ।
आखिर किन निःसन्तानको दोष महिलालाई मात्रै ? के पुरुष निःसन्तानको दोषीे बन्न सक्दैनन् र ? यस्ता धेरै प्रश्न छन् निःसन्तान महिलाका मनमा । निः सन्तानको अपुताली खानेपनि कोही भएनन् भन्ने यो समाजमा जीवन जिउन धेरै गाह्रो भईरहेको बताउँछिन् धरानकी शर्मिला मगर । उनले विहे गरेको ७ वर्षसम्म बच्चा नभएपछि श्रीमानले घरबाट निकाली दिए । ‘अहिले बहिनीकै घरमा बसेर जीवनको गुजारा चलाउँदै आईरहेकी छु’ उनी भन्छिन् ।
त्यस्तै इटहरीकी गीता प्रधानको पनि आफ्नै कथा छ । उनले प्रेम विवाह गरिन् । उनी भन्छिन् ‘श्रीमानको घर आएपछि मात्रै आफू दोस्रो श्रीमती भएको कुरा थाहा पाएँ ।’
आफूले रोजेर आएका कारण घर फर्केर जान सक्ने अवस्था थिएन । वाध्य भएर उनी श्रीमानसँग बस्न थालिन् । विवाह भएको पाँचवर्ष बितिसक्दा पनि सन्तान जन्मिएन । पछि थाहा भयो श्रीमानबाट नै बच्चा नहुने भएका कारण नै जेठी श्रीमतीले छोडेर गएकी रहिछन् ।
‘आफूले मन पराएर आएको मान्छेलाई छोडेर जान पनि सकिनँ, मनलाई चित्त बुझाएँ, अनि आफ्नो जीवनस“ग सम्झौता गर्न पुगें’ उनले थपिन् । पुरुषमा बाँझोपन भयो भने पनि महिलालाई दोष आउने र सहेर बस्नुपर्ने, तर महिलामा बाँझोपन भयो भने पुरुषले तुरुन्तै दोस्रो विवाह गर्ने चलन उनलाई कत्तिपनि मन परेको छैन । भनिन ‘मेरो कारणले सन्तान नभएको भए मैले अझ बढी के–के भोग्नुपर्ने थियो होला ।’
आज श्रीमानका कारण निःसन्तान हुँदा पनि पुरुषलाई साथ दिएर बस्ने धेरै महिला हाम्रो समाजमा छन्, उनले भनिन् ‘ती महिला मध्ये एक महिला म पनि हो ।’
त्यस्तै धरानकै ६५ वर्षीया अन्जना लिम्बुको पनि आफ्नै कथा छ । उनी भन्छिन् ‘मेरो पनि सन्तान नभएका कारण श्रीमानले दोस्रो विवाह गरेपछि मात्रै मेरोे श्रीमानबाट सम्बन्ध बिच्छेद भयो । अहिले साथमा न सन्तान छ न श्रीमान नै ।’ उनी बहिनीसँगै बस्छिन् । समाजमा निःसन्तान महिलालाई बिहानै हेर्नु हुँदैन हेर्दा साइत बिग्रिन्छ भन्ने भनाई सुन्दा भने उनलाई नरमाइलो लाग्छ । उनी मन भुलाउन धार्मिक कार्यमा लागेकी छिन् ।
निःसन्तान भएका कारण महिलामा पारिवारीक, सामाजिक र मानसिक समस्या देखिने गरेको निःसन्तान केन्द्रकी कार्यकारी निर्देशक डाक्टर उमा श्रीबास्तवले बताईन् । भनिन् ‘विवाह भएको दुईवर्ष वित्नासाथ केटीको कुरालाई लिएर समस्या उठाइहाल्छन् ।’ यस विषयमा सार्वजनिकरुपमा यहा“ कुरा नउठेको डाक्टर श्रीवास्तवको अनुभव छ ।
नेपालमा कति महिला र पुरुष निःसन्तान छन् भन्ने अनुसन्धान भएको छैन । न तथ्याङ्क नै छ । तर डा. श्रीवास्तवको अनुमानमा १३ देखि १५ प्रतिशत मानिसमा बच्चा नहुने समस्या छ । उनीकहाँ यस्ता समस्या लिएर आउने दैनिक १० जनासम्म हुने गर्छन् । ४७ वर्ष उमेरसम्मका महिला पनि उपचारका लागि आउ“छन् । उनले भनिन ‘निःसन्तान हुनुमा बढी महिलाको दोष देखाइन्छ यस्को जा“च गरेपछि मात्र कस्को समस्या हो थाहा हुन्छ ।’
निःसन्तानको पीडा महिलालाई मात्रै होइन पुरुषलाई पनि हुन्छ, तर हाम्रो समाजमा महिलालाई हेर्ने दृष्टिकोण फरक भएका कारण पुरुषको तुलनामा महिला बढी पीडित भएको मणि भुजेलले बताए । भने ‘मेरो पनि बच्चा छैन, तर दोस्रो विवाहको लागि दवाव आएको छ, महिलालाई यस्तो छुट छैन ।’
बाँझोपनको कारण पुरुष भएपनि यसको सम्पूर्ण दोष भने महिलाले नै बेहोर्नु पर्ने समाजसेवी कुमारी राईले बताइन् । भनिन ‘बच्चा नभएपछि पुरुषले दोस्रो विवाह गर्छन्, अनि जेठी श्रीमती हिंसामात्र खेप्छिन् ।’ गर्भवती हुनुमा महिला पुरुष दुवैको भूमिका हुन्छ । महिलाकोमात्र दोष देखाएर गल्ती गर्न नहुने र समाजका यस्ता गलत भ्रमको निराकरण गर्नु आवश्यक रहेको वी.पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका प्रसूति बिज्ञ डाक्टर मोहन रेग्मीले बताए । भने ‘हाम्रो देशमा पनि बाँझोपनको धेरैजसो उपचार सम्भव छ । बाँझोपन जचाउँनका लागि दम्पतीको उपस्थित अनिवार्य भएपनि महिलामात्र समस्या लिएर आउँछन् ।’
यो समस्याको समधान गर्ने महिला पुरुष दुवैको समान सहभागिता आवश्यक छ । अहिले नेपालमा पनि बाँझोपनको उपचारका लागि बिभिन्न ठाउँमा स्वास्थ्य केन्द्र खुलेका छन् । त्यस्तै निःसन्तानको समस्या परिवारले समेत भोग्नु परेको परिवारको गुनासो छ । छोरीको पीडा उनका आमा बुबाले पनि भोग्नु परेको छ । बाँझोपनकै कारण अधिकाशं महिला श्रीमान तथा पारिवारिक अपहेलना सहन बाध्य छन् । निःसन्तान महिला धेरै छन् । उनीहरूले घरेलु हिंसाको समस्या भोग्नु परेपनि आफ्नो पीडा बाहिर ल्याउन र प्रहरीमा उजुरी समेत दिन सकेका छैनन् ।
Comment Here!