सृजना अर्याल
चितवन । पाँच बिकासक्षेत्रलाई नै पाँच प्रदेश बनाईनुपर्नेलगायतका ११ बुँदे माग राख्दै आमरण अनसन बस्नु भएकी तारा वरालले अनसन तोडेकी छन् । लोकतन्त्रको मुल्यमान्यतालाई बेवास्ता गरेर नेता आफ्नो स्वार्थमा लागेको भन्दै अनसन बसेकी भरतपुर १२ की तारा बरालले सांसद गीता वाग्लेको हातवाट जुस खाएर विभिन्न व्यक्तिको रोहवरमा अनसन तोडेकी हुन् । पाँच दिनदेखि आमरण अनसन बसेकी उनले मंगलवार चितवनका सांसद रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, शन्तराम दराई, स्थानीय विकास अधिकारी श्रवण कुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दिपक थापा, महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख महिला विकास अधिकृत शान्ता कुमारी पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक राजन भेटवाल पत्रकार मानवअधिकारकर्मीलगायत सरोकारवालाको उपस्थितिमा तोडेकी हुन् ।
उनको मागको बारेमा सांसदहरूले केन्दमा पुर्याएर सम्बोधन गर्न पहल गर्ने सहमति भएपछि उनले अनशन तोडेकी हुन् ।
वरालले देशमा विद्यमान समस्याको निकासका लागि अनसन बसेको बताइन् । उनले क्षणिक स्वार्थमा नलागिकन राष्ट्र र राष्ट्रियताको माया गर्न अपिल समेत गरिन् ।
चितवन राष्ट्रिय निकुञ्जलाई प्रदेशमा विभाजन गर्न नहुने खेतीयोग्य जमिनलाई प्लटिङ गर्न रोकिनुपर्ने, मुलुकलाई चाडो दीर्घकालिन निकास र देश विकासका लागि युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने लगायतका ११ बुँदे माग राख्दै जिविस चितवन परिसरमा उनी अनसन बसेकी हुन् ।
Comment Here!