प्रजनन् स्वास्थ्यका बारेमा सरलाई सोध्ने आँट हुँदैनः किशोरी


प्रकाशित मिति :2016-12-24 10:00:35

सुशिला बुढाथोकी


काठमाडौं। किशोरकिशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा जानकारी दिन सके वालविवाहमा कमी आउन सक्ने विज्ञहरु बताउँछन् । किशोरावस्थामा उत्सुक हुने जिज्ञाशाहरू बढ्ने हुनाले र शारीरिक परिवर्तका बारेमा जानकारी नहुँदा दुर्घट्ना हुनसक्ने र गलत गतिविधिमा संलग्न हुने खतरा रहन्छ । कतिपय विद्यालयमा शिक्षकले नै स्वास्थ्य विषयलाई राम्रोसँग नपढाउने, पढाउन लजाउने वा पढाएपनि व्याख्या नगरिदिने समस्या रहेको पनि सुँदिे आएको छ । अहिले विद्यालयमा कक्षा नौका विद्यार्थीलाई स्कुलमा यौन तथा प्रजनन् स्वास्थ्यबारे पढाइन्छ । यौन तथा प्रजनन् स्वास्थ्यबारे किशोरीले के बुझेका छन् र शिक्षकले कसरी बुझाउँछन् भन्नेबारेमा महिला खबर डट कमले कक्षा ९ मा अध्ययनरत केही किशोरीलाई जिज्ञाशा राखेको थियो ।

सिर्जना मल्ल : श्रम राष्ट्रिय माध्यमिक विद्यालय, टुसाल
यो विषयमा हामीले महिला र पुरुषको यौन अंगबारे पढ्नुपर्छ । सन्तान उत्पादनमा पुरुषको अण्डकोष र महिलाको पाठेघर पर्दछन् । कक्षामा सरले सबै भन्नुहुन्छ, हामी केही पनि सोध्दैनौं । सरलाई सोध्ने आँट हुँदैन । यो विषयमा धेरै भन्न सक्दैनौं, तर लेख्न सक्छौं ।

पोनिका भण्डारीः नवसुन्ताखान एकेडेमी, गोर्कण
मानिस मात्र नभएर जनावरको समेत सन्तान उत्पादन हुँदा कुन कुन अंगहरू हुन्छन् भन्ने कुरा कितावबाट थाहा पाएका छौं । यसबाहेक, सन्तान उत्पादनको प्रक्रिया, आमालाई के गर्नुपर्छ, उनीहरूलाई कसरी स्याहार गर्ने, अंगहरूको सरसफाई कसरी गर्ने भन्ने कुराहरू पढ्छौं । पढाउँदा त्यतिबेलै नबुझे सरलाई सोध्छौं नत्र, साथीभाइसँग सोध्ने वा इन्टरनेटमा खोज्ने गर्छौ ।

रुजा विष्टः नवसुन्ताखान एकेडेमी, गोर्कण
प्रजनन् स्वास्थ्यमा हामीले बच्चा पाउने बेला कस्तो स्याहार गर्नुपर्छ त्यतिबेला के–के गर्नुपर्छ, सन्तान उत्पादनमा के–कस्ता अंग आवश्यक हुन्छ कसरी काम गर्छन्, सन्तान जन्माउने कस्तो प्रक्रिया हुन्छ, अंगहरूले कस्तो काम गर्छन् भन्ने पढ्छौं ।
हामीलाई प्रिन्सिपल सरले पढाउनु हुन्छ । तर हाम्रो कुरा बुझ्ने भएकाले यो विषयमा नजानेको कुरा हामी गणित पढाउने सरसँग पनि सोध्ने गर्छौ ।
काजल खडकाः भृकुटी सेकेण्डरी स्कुल, काठमाडौं
यो हामीले स्वास्थ्य विषयमा पढ्नुपर्छ । यसमा हामीले महिलाको शरीरको संरचना र यसका कामबारे पढ्छौं । सरले पनि यो यस्तो, यस्तो हो भनेर भन्नुहुँदैन । सरले शीर्षक भन्नुहुन्छ अनि हामी आफैं पढ्छौं ।

यो विषयमा हामी केटी साथीहरूसँग छलफल पनि गर्छौ । महिनावारीबारे, सन्तान उत्पादनबारे सबैलाई थाहा भएकै कुरा भएकोले बुझ्नलाई गाहृो छैन । हाम्रो उमेर पनि यस्तै भइरहेको र किताबमा पनि यस्तै लेखेको भएर हामी केटाहरूसँग छलफल गर्दैनौं ।

दिपक खवास : शिक्षक, सामाजिक शिक्षा विषय
विद्यार्थीले सामान्यतया चार, पाँच कक्षामा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सामान्य कुरा पढ्छन् । त्यसपछि निम्न माध्यमिकमा विस्तृत परिभाषासँगै त्यसको परिपक्वताबारे जानकारी, समय अगावै प्रयोग गर्दा हुने नकरात्मक कुराहरू बारे जानकारी पाउँछन् । मैले स्याङ्जाका गाउँमा पनि पढाएको छु । त्यहाँका विद्यार्थीमा लजाउने चलन थियो । त्यसैले मैले आजकल पढाउँदा, पहिला नै यो यस्तो हो, यसबारे हामीले थाहा पाउनुपर्छ भन्दै विद्यार्थी विश्वस्त गराउँछु । यसपछि मात्र मैले पढाउने गर्छु ।

सोनिका राईः बौद्ध चिल्ड्रेन हेभन बोर्डिङ स्कुल, बौद्ध
हाम्रो वातावरण, जनसंख्या र स्वास्थ्य विषयको च्याप्टरमा छ यो कुरा । यसमा हामीले महिला र किशोरी १३, १४ वर्षको उमेरमै महिनावारी हुने, कसैको चाँडो वा ढिलो हुने र लामो समयसम्म हुने भन्ने जस्ता कुरा थाहा पायौं । महिनावारीपछि यौनसम्र्पक भएमा पेटमा बच्चा कसरी बस्छ र महिलाले के कस्ता समस्या बेर्होनुपर्छ भन्ने पनि थाहा पायौं । कतिले छोरा नपाएको भन्दै गर्भपतन गर्छन् जुन कानुन विपरित हो । बच्चा जन्मेपछि अर्को बच्चा जन्माउँदा कत्तिको फरक राख्ने, कस्तो वातावरणमा हुर्काउने भने आमाबाबुले योजना बनाउँछन् ।

तनिसा ढकालः बौद्ध चिल्ड्रेन हेभन बोर्डिङ स्कुल, बौद्ध
हामीले महिलाले कसरी बच्चा जन्माउँछन्, सही उमेरमा विवाह नर्गदा कस्तो दुःख पाइन्छ भन्ने कुरा थाहा पायौं । सरले हामीलाई बुझ्ने गरी पढाउनुहुन्छ । साथीहरूसँग खासै छलफल हुँदैन । नबुझेको कुरा सरलाई सोध्न पनि सजिलो छ ।

सुविना श्रेष्ठ : गोल्डेन गेट स्कुल
हामीले यो विषयमा बिभिन्न अंगको महत्व थाहा पायौं । शिक्षकले हामीलाई किताबमा भएका कुरा बताउनुहुन्छ । नबुझेमा उदाहरण दिएर बताउनुहुन्छ । कतिपय कुरा हामीले बुझेका हुँदैनौं । धेरैजसो पाठमा भएका शब्द बुझिदैंनन्, कतिपयले वाक्य पनि बुझिदैंन ।

रोशनी तामाङ : स्वर्णिम शिक्षा सदन सेकेण्डरी स्कुल डल्लु
यो विषयमा हामी सन्तान उत्पादन, किशोरावस्थाका समस्या र किशोर किशोरी वृद्धि हुने तरिकाबारे पढ्छौं । सरले पहिला हामीलाई आफैं किताब पढ्न लगाउनुहुन्छ, अनि पछि आफ्नै तरिकाले बुझाउनुहुन्छ । महिला गर्भवती हुँदा के गर्ने, विपरित लिङ्गीप्रति हुने आर्कषण र त्यसले पार्ने असरको बारेमा पनि हामीले थाहा पायौं ।

शान्ता श्रेष्ठ : शिक्षिका, विज्ञान विषय
म कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई विज्ञान विषय पढाउँछु । प्रजनन् स्वास्थ्य विषयमा सन्तान उत्पादनका अंगहरू, महिला पुरुषका सन्तान उत्पादनका अंगहरू र तिनले कसरी काम गर्छ भन्ने हामीले पढाउने हो । यो छुट्टै पाठ्यक्रम होइन, यसलाई विज्ञान विषयमा राखिएको छ । त्यहाँ खासगरि यौन अंग र यसका कार्यहरूको बारेमा थोरै जानकारीमात्र राखिएको छ ।

हामीले किताबमा मात्र भर पर्नुपर्ने छैन । उनीहरूले धेरै कुरा थाहा पाइसकेका हुन्छन् । विद्यार्थीले औपचारिकमात्र होइन अनौपचारिक रुपमा धेरै ज्ञान पाइरहेका हुन्छन् । उनीहरूले यो विषयमा ठुला दाजुभाइ, साथीभाइबाट थाहा पाएका हुन्छन् । केहीले इन्टरनेट, टिभीबाट पनि थाहा पाएका हुन्छन् । त्यसैले अहिले किताब नै पढ्नुपर्छ भन्ने छैन ।

विद्यार्थीले असाध्यै ध्यान दिएर सुन्छन्, तर कक्षामा खुलस्त रुपले भन्न सकेका छैनन् । खासगरि किशोरहरूले बढी चासो देखाउँछन् । सोधुँ झैं गर्छन्, तर सोध्दैनन् ।

शिताष्मा विष्ट : सरस्वती एकेडेमी माध्यमिक विद्यालय, चाबहिल
प्रजनन् स्वास्थ्य यौनसँग सम्बन्धित छ । अहिले हामीले किताब धेरै पढेका छैनौं, तरपनि, यो विषयमा अलिअलि त थाहा हुन्छ । हामीलाई सरले किताबमा भएका कुराहरु राम्ररी बताउनु हुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: