सर्मिला बुढाथोकी

ट्रयाक्टरले खेत जोत्दै कालिका उप्रेती
दोलखा। बाँझो खेत जोत्न पुरुषकै भर पर्नुपर्ने बाध्यताबाट पन्छिदै दोलखा सुन्द्रावतीकी कालिका उप्रेती यतिबेला डिजेल ट्रयाक्टरले खेत जोतेरे गहुँ छर्न ब्यस्त छिन्।
खनजोतका लागि घरमा सघाउने अरु कोही नभएपछि खेती गर्नकै लागि समूहमा भएको ट्रयाक्टर ल्याएर आफैले खेत जोत्न सुुरु गरेको कालिका बताउँछिन्।
कालिका भन्छिन्–’गोरु भन्दा सस्तो, सजिलै चलाउन सक्ने भएकाले हाते ट्रयाक्टर महिलाका लागि उपायोगी हुने रहेछ।’
‘महिलाले गोरु जोत्न हुन्छ भनेपनि गोरु दाएर जोत्न गाह्रो हुन्छ। कान्लो उकाल्न र ओराल्न झनै गाह्रो, एकजना साथी भए ट्रयाक्टर जोत्न साह्रै सजिलो हुने भएकाले आफैले खेतबारी जोत्न शुरु गरें’ सुन्द्रावतीकी गौरी थामी बताउँछिन्।
गौरी भन्छिन्– बैदेशिक रोजगार र विभिन्न कामको शिलशिलामा पुरुष अन्यत्र जाँदा खेताला नपाईने र मेरो काम गरिदेउ न भनेर सँधै छिमेकमा हारगुहार गर्नुपनि राम्रो नहुने भएकोले महिला आफै ट्रयाक्टरले खेतजोत्न सक्रिय भएका छन्।’
दोलखाको सुन्द्रावती गाविसमामात्र हैन अहिले जिल्लाका अधिकांश गाविस तथा नगरपालिकाको खेतीयोग्य जमिन भएको ठाँउमा ट्रयाक्टरको प्रयोग बढेको छ।
गोरुको सट्टा ट्रयाक्टर नभित्रिएको भए यतिबेला धेरै खेतियोग्य जमिन बाँझै हुन्थ्यो, किनभने महिलाले गोरु जोत्न असहज नै हुन्थ्यो गौरीले भनिन् – खेत जोत्न ट्रयाक्टर राम्रो बिकल्प भएको र गोरु भन्दा सहज तथा छिटो समेत हुने भएकोले घरमा पुरुष नहुँदा पनि महिलाले खेतीको काम सजिलै गर्न सक्ने भएका छन्।’
दोलखा जिल्लामा ट्रयाक्टरको माग धेरै रहेकोले जिल्ला कृषि विकास कार्यालय दोलखाले किसानका लागि अनुदानमा दिने ट्रयाक्टरको संख्या बृद्धि गरी माग अनुसार दिन सके हली र गोरुको समस्याले खेतबारी बाझै नबस्ने सुन्द्रावतीका बेद चन्द्र उप्रेती बताउँछन्।
जिल्ला कृषि विकास कार्यालय दोलखाका प्रमुख नारायण श्रेष्ठले जिल्लामा ट्रयाक्टरको माग अत्यधिक रहेको भएपनि सो अनुसार वितरण गर्न नसकिएको बताए।
ट्रयाक्टरको प्रयोगले काम छिटो हुने, जनशक्ति कम लाग्ने, माटोको उर्वरा शक्ति कायम रहने, महिलाले समेत सजिलै प्रयोग गर्न सक्ने भएकोले ट्रयाक्टरको माग बढेको प्रमुख श्रेष्ठ बताउँछन्।
जिल्ला कृषि विकास कार्यालय मार्फत भूकम्पपछि गत असार मसान्तसम्ममा विश्व खाद्य संगठनको सहयोगमा ९० प्रतिशत अनुदानमा ४० वटा, अन्तर्राष्ट्रिय गहुँ तथा मकै बाली अनुसन्धान संस्था (सिमिट) को सहयोगमा ९० प्रतिशत अनुदानमा ४५ वटा र कृषि मन्त्रालयको कृषि इन्जिनियरीङ विभागको सहयोगमा ५० प्रतिशत अनुदानमा १ सय ५९ वटा ट्रयाक्टर दोलखा जिल्लाका बिभिन्न गाविस तथा नगरपालिका भित्र वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए।
यो आर्थिक वर्षको लागि पुर्ननिर्माण कार्यक्रम अर्न्तगत २८ वटा ट्रयाक्टर ९० प्रतिशत अनुदानमा वितरण गर्न प्राप्त भएको, तर माग भने झण्डै ५ सय वटाको आएकोले वितरणमा समस्या भै रहेको प्रमुख श्रेष्ठ बताउँछन्।
जमिन जोत्ने क्षमताको आधारमा ट्याक्टरको मूल्य रहने र दोलाखमा वितरण गरिएको ट्रयाक्टर ६० हजार देखि १ लाख रुपैयाँसम्म मूल्य पर्ने रहेको श्रेष्ठले जानकारी दिए।
Comment Here!