मनिषाले भनेपछि औषधी खाएँःसुजाता काेइराला


अब सामाजिक काममा धेरै सक्रिय हुन्छु

प्रकाशित मिति :2016-12-29 16:53:21

स्तन र पाठेघरको क्यान्सर उपचार मलेसियामा गरेर गत महिना फर्किएकी नेपाली काँग्रेसकी नेता सुजाता कोइराला अहिले घरमै आराम गरिरहनु भएको छ। कोइरालाको स्वास्थ्य र नेपाली राजनीतिमा महिलाको स्थितीबारे महिला खबर डटकमका लागि सुशीला बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंशः

कस्तो छ तपाईलाई ?

म एकदम ठीक छु। स्वास्थ्य सुधारको क्रममा छ।

नेपाल कहिले फर्किनुभयो ?

म फर्केको तीनहप्ता भइसक्यो। मेरो पहिले ब्रेष्ट क्यान्सर देखियो। ब्रेष्ट निकालेर फालिसकेको छ। त्यो पहिलो स्टेजमै थियो त्यसैले त्यति डराउनुपर्ने थिएन।
ब्रेष्ट क्यान्सर देखिएको एक महिनामै  पाठेघरमा  पनि क्यान्सर देखियो। ओभरीमा क्यान्सर देखिँदा त्यही विषयमा विशेषज्ञता पाएका र महिलाकै स्वास्थ्य हेर्ने डाक्टरले हेर्नुभयो।  दुईटै ओभरी र युटेरसको शल्यक्रिया भयो। त्यसलाई काटेर फालियो। त्यसमा क्यान्सर पनि शुरुवाती चरणमा, ब्रेष्ट क्यान्सरको भन्दा पनि कम थियो। त्यसैले त्यस्तो डरलाग्दो भएन। अहिले पूर्णरुपमा क्यान्सर मुक्त नै जस्तो छ, तर स्याहार त गर्नैपर्छ।

तर, शल्यक्रिया भन्दा पनि क्यान्सरको प्रभाव धेरै हुँदो रहेछ। महिलाको स्वास्थ्यलाई विभिन्न हर्मोनहरूले प्रभाव पारेका हुन्छन्। महिलाको ओभरीले हर्मोनलाई ब्यालेन्स गरिराखेको हुन्छन्। दुईटै ओभरी काटेर फ्याँकेपछि त्यो ब्यालेन्स नभएर मुड स्वीङ हुने (भाव बदलिरहने) र डिप्रेसन (मानसिक चिन्ता) हुँदो रहेछ।

दश दिन अघिसम्म मलाई एकदम डर लाग्ने, कुरा गर्न पनि डर लाग्ने हुन्थ्यो। त्यतिखेर तपाई आउनुभएको भए म यसरी तपाईसँग बोलिरहेको हुने थिइनँ। मान्छे भेट्दा पनि डर लाग्ने हुन्थ्यो। आफूलाई एकदम सम्हालेर बस्थें। अहिले ठीक छ।  एकदमै गाह्रो समय रहेछ, महिलालाई ओभरी र युटेरस निकाल्दा खेरी। एकदमै समस्या हुन्छ। त्यो समय मैले पनि भोग्नुपर्‍यो। मलाई मुड स्वीङ हुने, डिप्रेसन हुने, मान्छेलाई भेट्नै नसक्ने, बाहिर निस्कनै नसक्ने, कसैसँग फेस नै गर्न नसक्ने हुन थाल्यो।

यो त अप्रेसन भन्दा पनि यातना हुने खालको हुने रहेछ। त्यसपछि मलाई अब कसलाई सोध्ने, कोसँग आफ्ना कुरा सेयर गर्ने जस्तो भयो। न मलाई मात्र यस्तो भएको हो कि भन्ने छट्पटी हुन थालेपछि मैले भतिजी मनिषा कोइरालालाई सर्म्पक गरें। अनि उनले पनि आफूलाई त्यस्तै अनुभव भएको र अहिले खुसी छु भनिन्। उनको त क्यान्सर अन्तिम स्टेजमा थियो र ठीक छन्। मनिषा झन् युवा, म त मेनोपज (महिनावारी रोकिइसकेको) भइसकेको। उनलाई झन् बढी गाह्रो भयो होला। उनले अब दिदी तपाईलाई यस्तो हुन्छ, रिस उठ्न थाल्छ भनिन्। उनले त्यसो भनेपछि म ढुक्क भएँ। ए, यो त मलाईमात्र भएको होइन रहेछ, अरुलाई पनि भएको रहेछ भन्ने भयो।

एकदिन मनिषाले मलाई अब तपाईले एन्जाइटी (चिन्ता) को औषधी खानुपर्छ भनिन्, तर म खान डराएकी थिएँ। म त रोगी हैन, म किन खाने? भन्दै औषधी खान डराइरहेकी थिएँ, तर मनिषासँग कुरा गरेपछि म ढुक्क भएँ। त्यसपछि मैले औषधी खाने र विस्तारै बिस्तारै कम गर्दै जाने गर्न थालें।

एकदिन राति एन्जाइटीको औषधी खानुपर्ने थियो त्यो दिन मलाई ब्लड प्रेसर हाई भएको जस्तो भयो। टाउको पनि दुखिरहेको छ, छातीमा एसिडिटी भएको जस्तो भयो। औषधी खाएर पनि नजाने भयो। त्यो सब एन्जाइटी नै रहेछ। अनि मेरो जाँच गर्ने डाक्टरले मेरो ब्लडप्रेसर चेक गर्नुभयो। उहाँले तपाईको ब्लड प्रेसर ठीक छ भनेपछि म तुरुन्तै ठीक भैहालें। भनेपछि, यो सब दिमागले मात्र भएको रहेछ। त्यो रात म मज्जाले सुतें।

मलाई लागिरहेको थियो त्यो सब मलाई मात्रै भइरहेको छ। तर छलफल गरेपछि कुरा सेयर हुने रहेछ। त्यहीकारणले नेपालमा पनि यस्तो वेलफेयर सोसाइटीको आवश्यकता रहेछ जहाँ बिरामीले आफ्ना अनुभवहरू सुनाउन सक्ने, सरसल्लाह गर्न सक्छन्। नत्र मानिसलाई डर हुने, चिन्ता हुने, बाँच्ने होइन कि भन्ने खालको भय हुन्छ। त्यो भय नै ठुलो रोग रहेछ। हुन त त्यो हिलिङ प्रोसेस (निको हुने प्रक्रिया) नै रहेछ। तर, उसलाई सम्झाउनु आवश्यक हुन्छ।

यसबारे कुरा गर्न सकियो भने, यो सबै समस्या हार्मोन व्यालेन्स नभएर रहेछ, मानिस एब्नर्मल (असामान्य) भएर होइन रहेछ भनेर अरुले पनि थाहा पाउने थिए। यस्ता अनुभवहरू भन्नुपर्छ। लाज मान्ने, डराउने, लुकाउने हैन। आफ्नो समस्या अरुलाई सेयर गर्दा यसले अरुलाई पनि फाइदा गर्छ। यसले मानिस ढुक्क हुन्छ र रोगलाई झन् ठीक पार्दो रहेछ।

क्यान्सरसँग लड्नका लागि के आवश्यक रहेछ ?

पहिले त आफ्नो जीवनशैली बदल्नुपर्छ। बाहिर निस्कने, मानिसहरूसँग भेट्ने, समयमा सुत्ने, समयमा खाने गर्नुपर्छ। म योगा, ध्यान पनि गर्छु। ब्रिदिङ एक्सरसाइज पनि गर्न थालेकी छु। ध्यान चाँहि भर्खरै गर्न थालेको तर असाध्यै फाइदा भइरहेको छ। पहिले त मलाई यो ध्यान के हो भन्ने जस्तो लाग्थ्यो। अहिले बुझ्दै छु।

आफ्नो शरीरलाई ध्यान दिने, खुला ठाउँमा गएर स्वास फेर्ने र स्वस्थ खानेकुरा खानुपर्छ। अक्सिजनले त क्यान्सरको सेललाई पनि मार्छ। खानामा अल्कोलिन डाइट खानुपर्छ, यो भनेको हरियो सागपात, काँचो फलफुल, हरिया खानेकुरा हो, जसले अरु खानेकुरासँग व्यालेन्स गर्छ र क्यान्सरलाई कम गर्छ। आजकल गुगल छ, इन्टरनेट छ। त्यहाँ गएर हेर्‍यो भने सबैकुरा भेटिन्छ। पहिलेको जस्तो छैन।

सरकारले पूर्वराष्ट्रपति र पूर्व मन्त्रीहरूलाई उपचार खर्च उपलब्ध गराएको थियो। तर तपाईलाई दिंदा विरोध भएको देखियो। किन होला?

किन होला, त्यो मलाई थाहा छैन। मान्छेका आफ्ना समस्या हुन्छन्। सबैकुरा भनिँदैन। सबैकुरा खोलेर भन्ने ठाउँ हुँदैन, भन्दैनन्। मेरो पनि समस्या थियो। सरकारले मलाई सहयोग गर्‍यो। त्यसका लागि म सरकारलाई धेरै धन्यवाद दिन्छु।

मैले पनि अस्पताल खोलेको छु। हामीले अरुलाई पनि उपचार गर्नुपर्छ। त्यो साँखुको सुष्मा मेमोरियल ट्रष्टले खोलेको सुष्मा मेमोरियल हस्पिटल हो, म नै त्यसको संस्थापक। अहिले त्यो कति ठुलो भएको छ। त्यहाँ गरिबहरूले निः शुल्क उपचार पाइरहेका छन्। गाउँगाउँमा हामीले क्याम्प चलाइरहेका छौं। त्यहाँ तपाई गएर हेर्न सक्नुुहुन्छ। त्यहाँ धेरै राम्रा काम भइरहेका छन्। त्यसलाई जनरल हस्पिटलतिर पनि लाने कुरा छ, महिलाका लागि पनि धेरै कामहरूभइरहेका छ।

तपाईलाई भएको समस्याको उपचार नेपालमा गर्न सम्भव छ ?

त्यसका लागि म प्रयासरत छु। अर्को कुरा, गिरिजाबाबुको नाममा तनहुँमा अस्पताल खोल्न भनेर ९०० रोपनी जग्गा लियौं, म मन्त्री (परराष्ट्र मन्त्री) हुँदा। आज सात, आठ वर्ष भयो त्यो हस्पिटलमा कहिले मुद्दा हालिदिएको छ, कहिले अख्तियारमा, कहिले सर्वोच्चमा पुगेको छ। चारवटा मुद्दा हामीले छिन्यौं। यत्ति दुःख भएको छ।

यसैले, अब त्यो हस्पिटललाई चलाउने हामीले प्रयास गरिरहेका छौं। स्वास्थ्य मन्त्रालयले पहल गरी त्यसलाई चलाउन सक्छ। त्यसमा ठुला ठुला भवन बनाउँ। त्यहाँ धेरै काम भइरहेका छन्। पोष्ट ग्राजुएट लेभलमा डाक्टर तयार गर्ने व्यवस्था नेपालमा छैन। विशेषज्ञ चिकित्सकहरू उत्पादन गर्ने, रोगहरूमा रिर्सच गर्ने, डाक्टरलाई बाहिर पढ्न पठाउने प्रस्ताव पनि त्यसमा छ। यो काममा मैले सबैजसो समय र इनर्जी लगाइरहेकी छु।

त्यत्रो समस्यालाई हामीले चिर्‍यौं। यसैले नकरात्मक कुरा छोडेर अगाडि बढ्नुपर्छ। नेपालमा यस्तो हस्पिटल होस्, यस्ता डाक्टर हुन्, तालिमहरू हुन्, उपचारको लागि कसैले पनि विदेश जानु नपरोस्। त्यो हस्पिटल सञ्चालनमा आउँछ। त्यसले धेरै नेपालीलाई उपचार गर्नेछ। त्यसलाई नेपालमा ठुलो रिर्सच सेन्टरको रुपमा पनि लान सकिन्छ। जस्तो विदेशमा क्यान्सरको रिर्सच भइरहेको हुन्छ। यहाँ पनि त्यस्तै गर्न सकिन्छ। यहाँको रिर्सच सेन्टरसँग विदेशको रिर्सच सेन्टरलाई जोड्न सके हाम्रा रोग उपचार गर्न सजिलो हुन्छ।

मलाई लाग्छ, अब बढी कुरा गर्नु वा पपुलर हुन आफ्नो प्रचार गर्नुभन्दा कसरी हामीले अरुलाई सेवा दिने भन्नेतिर लाग्नुपर्छ। कसरी नेपालमा टप हस्पिटल बनाउने, कसरी वेल इक्विप्ड (सुविधायुक्त) हस्पिटल बनाउने भन्नेतिर लाग्नुपर्छ। राम्रो सेवा दिने भन्नेतिर लाग्नुपर्छ। कसरी सबैले सहज रुपमा स्वास्थ्य सेवा पाउँछन् भन्ने ध्यान दिनुपर्छ। सकरात्मक सोच गरिकन अघि बढ्नुपर्छ, नकरात्मक कुरा गरेर हुँदैन। नकरात्मक कुरा मात्र हेर्‍यौं भने हामी कहिल्यै अगाडि बढ्न सक्दैनौं।

अब राजनीतिमा कहिले फर्किनुहुन्छ?

म त सक्रिय नै छु। तपाईलाई अर्न्तवार्ता दिइरहेकी छु। अब विस्तारै सामाजिक काममा संलग्न हुने र राजनीतिमा पनि फर्कने सोच छ। मेरो फाउन्डेसन पनि छ, जसमा मैले युवालाई लिएर काम गर्ने योजना बनाएको छु। हाल म यो फाउन्डेसनलाई सक्रिय बनाउन लागिरहेको छु।
यसकै लागि यही जनवरीको पहिलो हप्तामा मैले डिबेट कार्यक्रम गर्न लागिरहेको छु। सुरुमा १६ वटा स्कुल लिएर सानो नमुना जस्तो गराउने र पछि ३६ वटा स्कुललाई ल्याएर ठुलै कार्यक्रम गर्ने। अहिले युवालाई एक्सपोजर गर्नुपनि आवश्यक छ। हाम्रो पार्लियामेन्टरी सिस्टम, ब्रिटिश पार्लियामेन्टरी सिस्टममा डिबेट गराउने र युवालाई राजनीतिबारे जानकारी दिने। यो पनि एकखालको राजनीति नै हो।

मुलधारको राजनीतिमा महिला देखिंदैनन् नी ?

मुलधारको राजनीतिमा महिलालाई आउन एकदमै गाह्रो छ। महिलाले नै महिलालाई सर्पोट नगरेको पनि देखिन्छ, कतिपय ठाउँमा। त्यसैले महिला जबसम्म नेतृत्व तहमा आउँदैनन् महिलाको समस्या समाधान पनि हुन सक्दैन। उ त्यो ठाउँमा आयो भने स्वतः समस्या समाधान गर्छ। जस्तो कि, विद्या भण्डारी राष्ट्रपति हुनुभयो, उहाँले मलाई तीजको कार्यक्रममा बोलाउनुभयो, तर म जान पाईनँ। उहाँले सबै महिलालाई तीजको कार्यक्रममा बोलाउनुभएको थियो। तर, यसअघि यस्तो भएको थिएन। उहाँले मलाई किन बोलाउनुभयो भने महिलाले महिलालाई सम्झिन्छन् ।

महिलाले महिलाको लागि कसरी विकास गर्ने भन्ने बुझ्छन्। उसको के समस्या छ भन्ने बुझ्छन्। जस्तो अब अरु कसैलाई क्यान्सर भयो भने मैले यो यस्तो हो भनेर बुझ्न सक्छु, मद्दत गर्न जान्छु। किनकी मलाई थाहा हुन्छ उसलाई सहयोग गर्नुपर्छ भन्ने।
अहिले महिला धेरै सक्रिय हुनुहुन्छ, उहाँहरू धेरै क्षमतावान् भइसक्नु भएको छ। अलिकति हामीले उहाँहरुलाई अगाडि बढाउन सक्यौं भने एकदम राम्रो हुन्छ भन्ने मलाई लाग्छ।

अहिले स्थानीय तहलगायत प्रदेश र केन्द्र गरी तीनवटा चुनाव हुने कुरा भइरहेको छ। महिलाको सहभागिता बढाउन तपाँइको पार्टीको कस्तो रणनिती छ ?

संविधान अनुसार महिलाले प्रान्तमा ४० प्रतिशतसम्म सहभागी हुन पाउँछन्। यो असाध्यै राम्रो कुरा हो तर, यसले मात्रै पुग्दैन। अब, महिलाहरूलाई तालिम दिनुपर्छ। चुनाव के का लागि हो, कसरी चुनाव लड्ने, कसरी चुनाव जिताएर ल्याउने भन्ने कुराको तालिम आवश्यक छ। महिलालाई सक्रिय बनाउन, उनीहरूको ज्ञान बढाउन प्रशिक्षण कार्यक्रम गर्नुपर्छ।

यसको लागि पार्टीले गाउँ, जिल्ला र क्षेत्र तहमा विभिन्न खाले तालिम दिनुपर्छ। कति महिलालाई थाहा नै छैन, कसरी चुनाव लड्नुपर्छ भनेर। अहिले मथिल्लो किसिमको ठुलो तालिम मात्रै भइरहेका छन्। यो ठुलो तालिमले हुँदैन। गाउँबाटै, गाउँकै जान्नेबुझ्नेले दिनुपर्छ। त्यसको अभाव मैले देखेकी छु। गाउँमा पार्टीले निर्देशन दिनुपर्छ। व्यापक रुपमा यो, यो विषयमा यस्तो, यस्तो तालिम गर्नुपर्छ भनेर निर्देशन दिनुपर्छ।

राजनीतिक दलका भगिनी संगठन पनि निष्किृय देखिन्छन्। खासमा उनीहरूले के गर्नुपर्थ्यो ?

हामीले सुझाव दिने हो पार्टीलाई। पार्टीले जे निर्देशन दिन्छ, त्यो निर्देशन अनुसार जाने हो तर त्यसअगाडि पनि आफ्ना सुझाव दिनुपर्छ। आफ्नो व्यक्तिगत सुझाव पनि दिन सकिन्छ नी! यसरी पार्टी पनि सक्रिय हुन्छ। भातृसंस्थाहरू सक्रिय हुनुपर्छ। उनीहरू भनेको पिलर हो। यो कमजोर भयो भने पार्टी पनि कमजोर हुन्छ। यसैले सक्रिय भइरहनुपर्छ। अरु दलसँग पनि छलफल गर्ने, कुरा मिलाउने गर्नुपर्छ।

गिरिजाबाबुको सपना पुरा गर्ने उद्देश्यमा पनि हुनुहुन्छ। के के योजना छन् ?

सबैभन्दा पहिले गिरिजाप्रसाद कोइराला फाउन्डेसन फर पीस डेमोक्रेसी एण्ड डेभलपमेन्ट भन्ने छ। यो तीनवटा बिषयमा काम गर्‍यौं भने उहाँको सपना पुरा हुन्छ।  अबको राजनीति भनेको विकास हो। तर, अहिले सर्वसाधारणमा नकरात्मक कुराहरू गइरहेको छ। जसले डेमोक्रेसी टिक्दैन भन्ने गलत मानिसलाई मौका मिल्छ। प्रजातन्त्रबारे नकरात्मक कुरा भइरहेको छ। अहिले देशको समस्या समाधान गरेर अगाडि बढ्ने बेला हो।


हिजो बंगलादेश गरिब देशमा गनिन्थ्यो, आज त्यो ठाउँमा नेपाल पुगेको छ। नागरिकलाई बाटोघाटोको सुविधा दिने, सेवा सुविधा दिनुपर्छ। स्रोत साधनमा मुलुक धनी तर, जनता गरिब छन्। उच्चस्तरको शिक्षा दिने गर्नुपर्छ। अब चुनाव गरेर यी कुरा व्यवस्थापन गर्नतिर लाग्नुपर्छ। सधैं लडेर मात्र हुँदैन। एक अर्काको आलोचना गरेर मात्र हुँदैन। हामीले राजनीति मात्रै गर्ने होइन, देशको फाइदा पनि हेर्नुपर्छ। राजनीतिको आधार शान्ति, विकास हो, स्थिरता हो, हरेक नागरिकले यी कुरा अनुभव गर्न पाउनुपर्छ।

गिरिजाबाबुले पाँच विकास क्षेत्रलाई संघको रुपमा लानुपर्ने बताउँदै आउनुभएको थियो। उत्तर र दक्षिणलाई खुला राख्ने। त्यो भएन भने हामीलाई समस्या हुन्छ भन्दै आउनु भएको थियो। म यो कुरा बोलिरहेको छु, अहिले यहि कुरा अरुले पनि भन्न थालेका छन्। यसबाट पहाडलाई तराईसँग जोड्न सकिन्छ। तराईको रिर्सोस पहाडले, पहाडको तराईले लिन सक्छ। त्यहाँ आवतजावत हुन्छ, व्यापार हुन्छ। यता मित्रराष्ट्र भारत र चीनसँग सम्बन्ध बढाउन सकिन्छ।

तस्बिरः  खेमा बस्नेत

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: