निजामती सेवामा महिलाः कार्यक्षमतामा प्रश्न


प्रकाशित मिति :2017-01-04 15:37:52

कर्मचारी छनौट र बढुवामा कार्यक्षमता र उसका सकारात्मक कुरा हेरिन्छ । तुलनात्मक रुपमा जो अगाडि छ, उही नै छानिने हो । महिला पनि प्रतिस्पर्धामा आउन सक्ने बन्नुपर्छ ।

सुशीला बुढाथोकी
काठमाडौं । गएको वर्ष लोकसेवा आयोगका विभिन्न पदमा परिक्षाका लागि दरखास्त दिनेमा आधा भन्दा बढी महिला थिए तर, धेरैले नाम निकाल्न सकेनन् । कुल पाँच लाख ९५ हजार ३१ जनाले आयोगमा दरखास्त दिएकोमा महिलाको संख्या तीन लाख १८ हजार पाँचसय तीन भएपनि सो वर्ष नियुक्तिको सिफारिस पाउने कुल ५ हजार ६३८ मा महिला २ हजार १४० मात्र थिए । आयोगको आर्थिक वर्ष ०७२/०७३ को प्रतिवेदन अनुसार यसरी नियुक्तिमा पर्नेमा केही अघिल्लो वर्षका र केही सोही वर्ष परिक्षा दिनेहरू थिए ।

निजामती सेवामा आरक्षण लागुभएपछि महिलाको आर्कषण बढेको छ तर खुल्ला प्रतिस्पर्धामा भने कमजोर देखिएको उदाहरण हो यो ।

निजामती सेवाको प्रवेश ढोका मानिने लोक सेवा आयोगका परिक्षा उर्तीण गर्न नसक्दा महिलाको संख्या देशको प्रशासनिक निकायमा बढ्न सकेको छैन । आरक्षणका कारण महिलाको सहभागिता सुनिश्चित गरिएपनि खुलातर्फ महिलाले प्रतिस्पर्धा गर्न नसक्दा महिलाको संख्या नबढेको आयोगका सहसचिव किरणराज शर्माको भनाई छ । ‘महिला यस्ता पात्र हुन् जो अगाडि बढेमा कसैलाई बेफाइदा हुँदैन, प्रत्येक महिलासँग सहकार्य गर्न सकिन्छ, तर महिलाका आफ्नै कारण, सामाजिक संरचना र परम्परागत कुराले उनीहरू पछाडि परेका छन्’ उनी भन्छन् ।

उनका अनुसार खासगरि क्षमता बढाउन पछि परेकाले माथिल्लो तहमा पुग्ने महिलाको संख्या कम देखिएको हो । भन्छन्, ‘कर्मचारी छनौट र बढुवामा समेत कार्यक्षमता र उसका सकारात्मक कुराहरू हेरिन्छ । यसैले तुलनात्मक रुपमा जो अगाडि छ, उही नै छानिने हो । महिला पनि प्रतिस्पर्धामा आउन सक्ने बन्नुपर्छ ।’

नेपालको अन्तरिम संविधानले राज्यका हरेक निकायमा एकतिहाइ महिला सहभागिताको सुनिश्चित गरेको छ । यस अनुसार महिलाको संख्या केही बढेपनि उल्लेख्य सहभागिता भने देखिदैंन । निजामती किताबखानाको तथ्याँक अनुसार पुस पहिलो सातासम्म देशभर कुल ८२ हजार चार सय बैसठ्ठी जना कर्मचारी कार्यरत छन्, जसमा ६६ हजार दुई सय ५४ पुरुष र १६ हजार दुई सय आठ महिला छन् । प्रतिशतका हिसाबले हेर्दा ८० प्रतिशत भन्दा बढी पुरुष छन् भने महिला मुश्किलले २० प्रतिशत छन् । यसैगरि प्रशासनमा १२ प्रतिशत, स्वास्थ्य सेवामा ४२ प्रतिशत र सबैभन्दा कम न्याय क्षेत्रमा १.७३ प्रतिशत महिला छन् ।

निजामती सेवामध्ये पनि सबैभन्दा कम न्याय सेवामा देखिन्छ । कुल २२० जिल्ला न्यायाधिशमा महिला दुई जना, पुनरावेदन अदालतका कुल ५३ दरबन्दीमा महिला ३ जना, सर्वोच्च अदालतमा प्रधान न्यायाधिशसहित तीन जना गरी जम्मा आठ महिला न्यायक्षेत्रमा कार्यरत छन् । कुल दुई सय ८९ दरबन्दीमा महिला जम्मा आठजना मात्र हुनुले न्याय क्षेत्रमै महिलालाई अन्याय भएको देखिन्छ ।

तर, न्याय क्षेत्रमा देखिएको महिला सहभागिता पहिला हुँदै नभएको भन्दा राम्रो भएको अधिवक्ता तथा नेपाल बार एसोसिएसनका उपाध्यक्ष उषा मल्ल पाठकको बुझाई छ । उनका अनुसार न्याय क्षेत्रमा गर्नुपर्ने काम गर्न विभिन्न योग्यता र मापदण्ड बनाइने गरिएकोले महिला त्यसमा पर्न नसकेको कुरा बढी गरिन्छ । ‘योग्यता र दक्षताका विभिन्न मापदण्ड हुन्छन्, त्यसैले धेरै महिला आउन सकेका छैनन्,’ उनको भनाई छ ।

पाठकका अनुसार महिला वकिलको संख्या कम भएकाले पनि न्याय क्षेत्रमा महिलाको संख्या कम देखिएको हो । पाठक भन्छिन्, ‘कुल १५ हजार वकिलमा हामी जम्मा १५ सय मात्रै छौं ।’ अझ त्यसमा व्यवसायिक रुपमा आउने पाँचदेखि सातसय मात्रै छन् । त्यसमा महिलाको संख्या माथिल्लो तहमा पुर्याउनु चूनौतिपूर्ण छ ।’ उनका अनुसार पछिल्लो समयमा न्याय क्षेत्रमा नयाँ नियुक्तिमा महिलाका लागि ५० प्रतिशत छुट्याउनुपर्ने माग उठिरहेका छन् ।

जनसंख्या तथा वातावरण मन्त्रालय प्रशासन सेवाका सहसचिव लक्ष्मी बस्नेत निजामती सेवामा अहिले आशालाग्दो ठाउँ देखिएकोले निराश हुनुपर्ने अवस्था नरहेको बताउँछिन् । उनका अनुसार खासगरि दुर्गम क्षेत्रका महिलालाई सूचनाको पहुँच नहुने, लोकसेवा कहिले खुल्छ, कहाँ जान, पढ्ने सामग्री नपाउने, परिक्षा दिन टाढासम्म जानुपर्नेलगायतका विभिन्न समस्या छन् । यी समस्याका कारण बाहिरी जिल्लाका धेरै महिलाले लोकसेवा आयोगका परिक्षामा राम्रो परिणाम ल्याउन सक्दैनन् । उनी भन्छिन्, ‘आरक्षणका कारण धेरै महिलाले अवसर पाइरहेका छन् । तर, लोकसेवाका परिक्षा दिन पढाई र पढेका कुराले मात्र पुग्दैन । कहाँ के चाहिन्छ, आफूलाई कसरी तयार गर्ने, आफू कसरी प्रस्तुत हुने थाहा छैन । अनि कसरी महिलाले राम्रो गर्न सक्छन् ?’

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: