बलात्कार पीडितलाई न्यायः ‘आकासको फल आँखा तरी मर’


प्रकाशित मिति :2017-01-05 12:38:11

बलात्कारका घटनामा पीडितलाई न्याय दिलाउनु कठिन काम हो। ध्ररैजसो घटना पैसा र घरघडेरी दिएर मिलाइन्छ। कति पीडित गरिबीका कारण अदालत जाँदैनन्। राजनीतिक दबाबले पीडक उम्काउने काम हुन्छ।

ज्ञानु पंगेनी

नवलपरासी। ०७२ चैत १८ मा नवलपरासी कावासोतीकी १४ वर्षीया एक बालिका सामूहिक बलात्कारमा परिन्। बलात्कारमा संलग्न स्थानीय तीन युवा तत्कालै फरार भए। प्रहरीले पीडक पहिचान गरेपनि पक्राउ गर्न सकेन। पीडकलाई उम्काउन राजनैतिक दलका केही स्थानीय नेता सक्रिय भएको थाहा पाएपछि घटनाले उग्र रुप लियो।

आरोपितलाई सजायको माग गर्दै महिला अधिकारकर्मीले निरन्तर आन्दोलन चर्काएपछि घटनाको झण्डै एक महिनापछि प्रहरीले आरोपितलाई पक्राउ गर्‍यो। अहिले घटना भएको नौ महिना भइसकेको छ, तर अदालतबाट मुद्दाको फैसला भइ नसकेकाले पीडितले न्याय पाउन सकेकी छैनन्। लामो समयसम्म मुद्दाको फैसला हुन नसक्दा किशोरीका परिवार न्याय पाउनेमा सशंकित हुन थालेका छन्।

न्यायमा ढिलाई हुँदा बालिका सामाजिक रुपमा समेत पीडित बनेकी छिन्। घटनापछि उनी दुई महिनासम्म परासीको सेवा केन्द्रमा बसिन्, तर उनी जब घर फर्किन्, त्यहाँको वातावरण अर्कै भइसकेको थियो। विद्यालयमा साथीहरूले घटनाका वारेमा सोधपुछ गर्न थालेपछि उनी विद्यालय जानै मानिनन्।

‘सेवाकेन्द्रबाट फर्केपछि दुई दिन त स्कुल गएकी थिई तर, साथीहरूले अनेकथरी कुरा सोध्दा रहेछन्, त्यसपछि त स्कुल जानै मानिनँ, हामीले सम्झाउँदा पनि केही लागेन,’ बालिकाका आफन्त जीत बहादुर मुसहर भन्छन्। कक्षा छ मा स्थानीय विद्यायलमा अध्ययनरत ती बालिका अहिले विद्यालय जानु नपरेकोमा खुशी देखिन्छिन्।

गाउँलेले नानाभाती कुरा गर्न थालेपछि उनी घरबाहिर निस्कन पनि मन गर्दिनन्। ‘गाउँमा अनेकथरि कुरा गर्छन्। कतिपय त मेरै छोरीलाई नराम्रो बनाउन समेत पछि पर्दैनन्’ बालिकाकी आमा देविका (नाम परिवर्तन) बताउँछिन्। यसले बालिकाका परिवारलाई उनको भविष्य नै अन्धकार बन्छ कि भन्ने चिन्ता बढेको छ।

यसैगरी जिल्लाको रामनगर गाविसमा ७ वर्षीया एक बालिका बलात्कारको शिकार बनिन्। छिमेक कै चौध वर्षीय बालकले उनीमाथि पटक पटक ललाईफकाई जबरजस्ति गर्दै आईरहेका रहेछन्। तर सो बारे २०७३ भदौमा मात्रै परिवारलाई थाहा भयो। भदौ मै फेरी जबरजस्ति गरेपछि बालिका विरामी परिन्। परिवारले बालिकालाई सोधपुछ गरेपछि उनले सबै कुरा बताईन्।

बालिकाका अभिभावकले रामनगर गाविसमा रहेर महिलाअधिकारको क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएकी लक्ष्मी ढकाललाई यस घटना बारे बताए। त्यसपछि बालिकाका अभिभावकले प्रहरीमा उजुरी दिए।  अधिकारकर्मी ढकालका अनुसार यो मुद्दामा पनि पीडकलाई निर्दोष सावित गर्न अनेकौं षडयन्त्र भए, स्थानीय राजनैतिक दलले मिलाउन अनेकथरी प्रलोभन देखाए ।

‘बालिका अस्पतालमा पीडामा छटपटाईरहेकी थिईन्, तर दोषीलाई उम्काउन उक्त पीडकको नक्कली जन्मदर्ता समेत बनाईयो। …दोषीलाई उम्काउन पीडक ११ वर्षको बालक भनेर जन्मदर्ता गरिएको थियो, तर यो फर्जी हो भनेपछि पीडकलाई बुटवल लगेर उनको उमेर पत्ता लगाउने काम भयो र प्रहरीले उनी १४ वर्षको भनेर प्रमाणित गर्‍यो’ ढकालले भनिन्।

समाजमा पीडितलाई न्याय दिलाउन भन्दा पीडकलाई बचाउन राजनैतिक दलले आफ्नो शक्ति खर्च गर्नु ज्यादै चिन्ताजनक भएको अधिकारकर्मी ढकाल बताउँछिन्। ती बालिकालाई न्याय दिलाउन पटक पटक अड्डा अदालत धाएपछिमात्र प्रहरीले पीडकलाई नियन्त्रणमा लिएर २५ दिन थुनामा राखेर छाडेको जानकारी उनले दिइन् ।

‘पीडकलाई छाडिएछ, तर यस वारे पीडित परिवार र मैले पनि केही समयपछि मात्रै थाहा पायौं, अनि बुझ्न गयौं १६ वर्षमुनीको भएकाले थुनामा राख्न नमिल्ने भनेर छाडेको प्रहरीले बतायो’ उनी भन्छिन् । ‘ती त बालक भए, तर पीडित बालिकालाई न्याय खोई त ? भनेर सोध्यौं, हामीसँग प्रश्न गर्नु बाहेक अरु कुनै विकल्प भएन’ ढकालले भनिन्। अहिले ती बालिका २ कक्षामा पढ्दैछिन्।

बालिकालाई सम्झाई बुझाई गरेर विद्यालय पठाएको र घरछिमेक , विद्यालयमा पनि सवैलाई उनीमाथि भएको घटना वारे उनीसँग कोही कसैले केही नसोध्नु भनेर सम्झाएको ढकाल बताउँछिन्।

जिल्लाको तिलकपुर गाविसमा भएको जबरजस्ति करणीको अर्को घटना जुन प्रहरी समक्ष पुग्दै पुगेन । २०७३ जेठ २ गते मधेशी मुलकी एक ३ वर्षीया अबोध बालिकामाथि जबरजस्ति करणी भयो। गरिवी र अशिक्षाको कारण ती बालिकाले न्याय पाउन सकिनन्। तिलकपुर गाविसमा सानो झुपडीमा बसेकी ती बालिकामाथि २ युवकले जबरजस्ति गरेर फरार भए ।

महिलाअधिकारकर्मी सतीदेवी चौधरीलाई आफ्नै गाउँको घटनाका पीडक सजिलै उम्किएको देख्दा बारम्बार पोलिरहन्छ । बाबु ज्याला मजदुरी गर्ने, आमा बैदेशिक रोजगारमा विदेशमा रहेकी र घरमा ११ र ९ वर्षकी दिदी र एकजना ७ वर्षको दाईमात्रै। घटना भएको दिन उनका दिदीदाई स्कुल गएका थिए। बाबु काममा, उनी घरमा एक्लै थिईन्। सोही मौका छोपेर १७/ १८ वर्षका दुई किशोरले उनीमाथि जबजस्ति गरे, स्कूल नजिकै घर भएको हुँदा बहिनी रोएको सुनेर दिदी घरमा आउँदा ती दुई पीडक उनलाई देखेर फरार भए।

त्यसपछि सो घटनाले गाउँमा हल्लाखल्ला मच्चियो, सबैजना जम्मा भए। बालिका रक्ताम्य थिईन्।
महिलाअधिकारकर्मी चौधरी भन्छिन् ‘सो घटना वारे प्रहरीमा उजुरी गर्न बालिकाका वुवालाई भन्यौं, तर उनी मानेनन्। ‘अड्डाअदालत गर्दा पैसा धेरै लाग्छ अनि ईज्जत जान्छ भने, प्रहरीमा जान मान्दै मानेनन्, बालिकाकी दिदीले घटनामा संलग्न दुवैजनालाई चिनेको सुनाईन्, ती दुई जना सोही स्कुलमा पढ्ने रहेछन्, तर पीडित परिवारले उजुरी गर्न नमानेपछि त्यो घटनामा यत्तिकै हात बाँधेर बस्नु पर्‍यो’ ‘चौधरीले भनिन्। अहिले ती दुवैजना फरार नै छन्।

बालिकाका बाबुलाई कत्ती सम्झाउँदा पनि उजुरी गर्नै नमानेको उनको भनाइ छ। बलात्कार जस्तो गम्भीर खालको घटनाका दोषी समेत यसरी सजिलै उम्कन्छ, पीडितलाई नानाथरी लान्छना लगाइन्छ र उनीहरू उल्टै सजाय भोग्न बाध्य भएको यथार्थ चौधरीले आैंल्याइन्।

घटनाको पक्षमा लाग्नेलाई सुरक्षा चुनौती

बलात्कारका मुद्दामा पीडितलाई सहयोग गर्ने महिला अधिकारकर्मीलाई समेत सुरक्षा चूनौति रहेको महिला अधिकार मञ्च नवलपरासीकी अध्यक्ष कल्पना विन्दु गौतम बताउँछिन्। ‘न्याय दिलाउन अगाडि सर्दा ज्यानै मार्ने धम्की आउँछ, कतिपयले पैसाको प्रलोभन देखाउँदै घटनाबाट पन्छिन् भन्छन्,’ गौतम आफ्नो अनुभव सुनाउ“छिन्। यस्तै अनुभव छ अधिकारकर्मी सतीदेवी चौधरीको पनि। अधिकारको क्षेत्रमा काम गर्दा बलात्कारका घटनामा न्यायका लागि पहल गर्न असाध्यै गाह्रो हुने चौधरीको अनुभव छ।

करणीको मुद्दा संवेदनशील हुने भएकाले यस्ता मुद्दाहरूमा काम गर्न कठिन हुने गरेको महिला अधिकार मञ्च नवलपरासीकी अध्यक्ष कल्पना विन्दु गौतम बताउँछिन् ।

‘बलात्कारका घटनामा पीडितलाई न्याय दिलाउनु कठिन काम हो। धेरैजसो यस्ता घटना पैसा र घरघडेरी दिएर मिलाइन्छ। पीडितलाई सम्झाएर घटना प्रहरीमा दर्ता गर्‍यो, राजनीतिक दबाबले पीडक उम्काउने काम हुन्छ। यसले पीडितलाई झन् पीडा थपिन्छ,’ उनी भन्छिन्।

बलात्कारका घटना धेरैजसो पिछडिएका, गरीब, अशिक्षित समुदायमा हुने गरेका कारण पीडितलाई न्याय दिलाउन गाह्रो भएको गौतमको भनाई छ। ‘पिछडिएको, गरीब, अशिक्षित समुदायमा यस्ता घटना बढी हुने गरेका छन्, यसले गर्दा केही प्रलोभन वा डर धम्की दिएर पीडकहरू सहजै उम्कन सफल हुन्छन्,’ गौतमले भनिन्।

साढे दुई वर्षमा ४४ बलात्कार

प्रहरी कार्यालय नवलपरासीको महिला तथा बालबालिका सेवा केन्द्रमा गएको साढे दुई वर्षमा ४४ वटा बलात्कारका घटना दर्ता भएका छन्। केन्द्र प्रमुख भीम कुमारी रानाका अनुसार आर्थिक वर्ष ०७१/०७२ मा १९ वटा, ०७२/०७३ मा २० वटा र चालु आर्थिक वर्षको चार महिनामा पाँचवटा जबरजस्ती करणीका घटना दर्ता भएका हुन्।

जिल्लामा आर्थिक वर्ष ०७१/०७२ मा ६३ वटा जर्वजस्ती करणीका मुद्दा दर्ता भएकोमा ४७ वटाको फैसला भएको र १४ वटा फैसला हुन बाँकी रहेको जिल्ला अदालतका केशव न्यौपानेले जानकारी दिए। यसैगरी आर्थिक वर्ष ०७२/०७३ मा अघिल्लो वर्ष फैसला हुन नसकेका १४ वटा सहित ५१ वटा मुद्दा दर्ता भएकोमा ३७ वटाको फैसला भएको र १६ वटा बाँकी रहेको उनले जानकारी दिए।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: