नागरिकताः पहिले चाहिएन, अहिले दुःख पाइयो


प्रकाशित मिति :2017-01-05 14:18:49

यमुना खनाल

नागरिकता बनाउन प्रशासन कार्यालय पुगेकी बिनिता यादब

सिरहा। जिल्लास्थित सखुवा सिमरौनकी बिनिता यादव अहिले समयमै नागरिकता नलिएकोमा पछुतो मानिरहेकी छिन्। आफ्नो नागरिकता नभएपछि उनले आफ्ना बालबच्चाको जन्मदर्ता गर्न सकिनन्। जन्मदर्ता नभएपछि छोराछोरीलाई स्कुलले भर्ना गर्न मानेन। अरु त अरु कमाएको पैसाको सानो हिस्सा समूहमा बसेर बचत गरौं भन्ने उनको चाहना पनि नागरिकता नहुँदा पुरा हुन सकेन।

बिनिताको विवाह भएको १२ वर्ष भइसकेको छ, उनलाई नागरिकता कहिल्यै आवश्यक परेको थिएन। तर, दिनहुँ समस्यामाथि समस्या थपिँदै जान थालेपछि बिनिता परिवारै लिएर नागरिकता बनाउन लहानस्थित ईलाका प्रशासन कार्यालय पुगेकी छिन्। बिनिता भन्छिन्, ‘नागरिकता चाहिने कुरा हो भन्ने थाहा थिएन, अहिले दुःख पाइयो, बालबच्चालाई स्कुल पढाउन समेत नागरिकता चाहिने रहेछ।’

सिरहा एकरतियाकी बबिता चौधरी पनि गाउँलेले नागरिकता बनाएको भन्ने सुनेर आफ्नो पनि बन्छ कि भन्दै प्रशासनमा पुगेको बताउँछिन्। उनको विवाह दर्ता भए पनि नागरिकता भने बनेको थिएन। दुई वर्षकी छोरी च्यापेर श्रीमान्का साथ ईलाका प्रशासन कार्यालय लहानमा भेटिएकी बबिता प्रशासनमा पुगेपछि मात्रै नागरिकताको महत्व बुझेको बताउँछिन्।

नागरिकता बनाउन छोरी च्यापेर आएकी बबिता चौधरी पालो पर्खदै कार्यालय परिसरमा

जिल्लामा हरेक सयजना विवाहित महिलामा १० देखि १५ जना नागरिकता नभएका महिला रहेको अनुमान गरिएको छ। गाउँका कतिपय महिला विवाह भएको २०, २५ वर्षसम्म नागरिकताविहिन भएर बसेका पनि भेटिए। नागरिकताबारे जानकारी नहुने, परिवारले विभिन्न बहानामा नागरिकता नबनाईदिने, महिला आफैंले पनि आवश्यक नपरुन्जेल चासो नराख्ने कारणले धेरै महिला नागरिकताविहिन अवस्थामा रहेका जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकीय अधिकृत बासुदेब यादव बताउँछन्।

उनका अनुसार प्रशासन कार्यालयमा दैनिक दुईदेखि चार महिला नागरिकता सम्बन्धी समस्या लिएर आउने गरेका छन्। ‘काम नपरुन्जेलसम्म नागरिकता बनाउन चासो नगर्ने भएकाले ढिलोसम्म नागरिकता नबनाउने चलन बढी देखिन्छ, जसले गर्दा सरकारले दिने सेवा सुविधाबाट उनीहरू बन्चित भईरहेका छन्,’ यादव भन्छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: