कुरा मिल्दैन पढेका छोराबुहारीसँग


प्रकाशित मिति :2017-01-06 11:23:58

‘म एउटी बुढीसँग सबै अलग भए । मेरा लागि अनपढ सासु र पढेका बुहारी उस्तै भएका छन् ।’

खेमा बस्नेत


कैलाली । धनगढीकी यमकला पौडेल ६५ वर्ष पुग्नै आँटिन्, तर उनको व्यस्तता उनी बुहारी हुँदाको जस्तै छ । फरक यत्ति हो, उनका श्रीमान् बितिसके र छोराछोरी पनि साथमा छैनन् ।

उनको १०, १२ वर्षको उमेरमै विवाह भयो । विवाहपछि श्रीमान्को घर र ती घरका सदस्यको स्याहार गर्दै उनको समय बित्यो । दुई छोरा र दुई छोरीकी आमा बनिन् । तीनलाई हुर्काइन्, पढाइन् र विवाह पनि गरिदिइन् । छोरीहरू विवाहपछि श्रीमान्को घर गए । श्रीमान् बितेपनि दुई छोराको भर थियो उनलाई ।

त्यो उनको जीवनकै रमाइलो क्षण थियो, जब उनका छोराको विवाह भयो । त्यसमाथि पढेलेखेका बुहारी विवाह गर्दा छरछिमेकमा समेत उनको शान बढेको थियो । तर, त्यसपछि नै उनका दुःखका दिन दोहोरिन सुरु भए । बुहारीले सासुले धेरै किचकिच गर्ने भन्दै छोरासँग अलग्गै बस्न थालेपछि उनको बुढेसकाल दुःखमय बनेको छ ।

‘म बुहारी हुँदा बिहान भाले नबास्दै उठ्नुपथ्र्यो, घरको सबै काम गरेर घाँसदाउरा गर्नुपथ्र्यो । फर्केर आउँदा सासुले आधा पेट खान दिन्थिन् । तैपनि हामीले सहेकै थियौं,’ यमकला भन्छिन्, ‘त्यतिखेर सासुससुराको स्याहार गर्नु भनेको भगवानको पुजा गरेको जस्तो हुन्थ्यो । अहिले पढेलेखेका बुहारीले एक वचन पनि सहन सक्दैनन् ।’

छोराबुहारी छुट्टिएपछि उनलाई दैनिक गुजारा गर्न समेत कष्टकर भएको छ । जीउमा बल छैन, उमेरमा झैं केही गर्ने आँट छैन । छोरा बुहारीले कमाउलान्, लाउन खान दुःख नहोला भन्ने उनको सपना, सपना झैं अधुरो बनेको छ । छोरीहरू कहिलेकाँही उनलाई भेट्न आउँछन्, तर उनको व्यथा भने जहाँको तहीँ छ ।

‘म एउटी बुढीसँग सबै अलग भए । मेरा लागि अनपढ सासु र पढेका बुहारी उस्तै भएका छन् । बाँच्नका लागि जसोतसो जोहो गरिरहेकी छु,’ उनले आफ्नो दुःख सुनाइन् ।

बुहारीसँग कुरा नमिलेर एक्लै बस्नेमा धनगढी शान्तीटोलकी लक्ष्मी जोशी पनि हुन् । उमेरले ६० टेकेकी लक्ष्मी दुई छोरा र चार छोरीकी आमा हुन्, तर अहिले उनी निसन्तान झैं भएकी छिन् ।

उनका सबै छोरी विवाह गरेर गए । दुई छोराले पढेका बुहारी भित्र्याए । नातिनातिना पनि भए । तर, विस्तारै बुहारीको व्यवहारमा परिवर्तन आउन थाल्यो । हुँदा हुँदा उनकी बुहारी सुनेको कुरा नसुनेझै गर्न थालिन् । बुहारीको प्रशंसा गर्ने लक्ष्मी तिनै बुहारीले दुःख दिन थालेपछि एक्लै बस्न थालिन् । ‘हामी त सासुको बोलीको खुब मान राख्थ्यौं । उनले बोलेको जसरी पनि पुरा गथ्र्यौं । अहिले त बुहारीले कुरै बुझ्न खोज्दैनन् । जमाना फेरियो,’ उनी भन्छिन् ।

उमेरले ४५ पुगेकी धनगढी हसनपुरकी मालती भटट् हुन त छोराबुहारीसँगै बस्छिन्, तर उनको समस्या पनि कम छैन । उनले पनि छोराको विवाह गरेर पढेकी बुहारी भित्र्याएकी हुन् । बुहारी कलेज पढ्न जान्छिन् र घरधन्दामा समय दिन भ्याउँदिनन् । यसैले बुहारीको भर परेर उनी बस्दिनन् । विहान सबेरै उठेर भकारो सोर्होने, गाईवस्तुको सुसारपछि भातभान्सा गर्ने, घरमा खानेकुराको जोहो गर्ने र घाँसदाउराका लागि हिँड्दैमा दिन वित्छ उनको । बुहारी आएपछि घरधन्दामा सहयोग हुने ठानेकी मालतीले कहिले त बुहारीकै लागि पनि समय निकाल्नुपर्छ ।

बुढेसकाल लागि नसकेको र कामधन्दा गरिरहन सक्ने भएकोले उनी आफ्नो दिनचर्या भर्खर विवाह गरेर आएको अवस्था भन्दा फरक नभएको ठान्छिन् । उनलाई घरखेतको बढी चिन्ता हुने र बुहारीलाई आफ्नो पढाई र भविष्यको चिन्ता हुने भएकाले बुहारी आएपनि उनको पीरमर्का उस्तै छ । उनी भन्छिन्, ‘बुढेसकालको सहारा, मर्दा दागबत्ती दिन छोरा नै चाहिन्छ भन्थे सबैले । मलाई पनि बुढेसकालमा पाल्ने छोरा बुहारी हो भन्ने लाग्थ्यो, तर यस्तो होइन रहेछ । आफ्नो लागि सधैं आफैंले गर्नुपर्ने रहेछ ।’

धनगढी फुलबारीकी विष्णु खड्का (४९) ले पनि पढेकी बुहारी भित्र्याइन् । अहिले उनकी बुहारी पढ्न कलेज जान्छिन्, उनी चाँहि सधैंझैं घरधन्दामा । सधैं काममा व्यस्त हुने विष्णु आफूजस्तै काम गर्ने बुहारीको चाहना राख्थिन् । पढेका बुहारी पाएकाले मख्ख परेकी विष्णु उनीहरूले घरधन्दा र खेतीपातीमा ध्यान नदिँदा भने दुःखी हुन्छिन् । हाल जेठी बुहारीसँग बस्दै आएकी विष्णु भन्छिन्, ‘अरुबेला त आफैं पनि खटिरहेकी हुन्छु । तर, दिनभर काम गरेर घर आएको बेलामा पानी समेत दिने मान्छे नहुँदा पीडा हुन्छ ।’

फाईल तस्विर

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: