सुन्तला खेती बन्यो महिलाको शक्ति


सुन्तला बेचेर धनी बन्दै म्याग्दीका महिला

प्रकाशित मिति :2017-01-09 14:17:18

सुन्तला महिलाको शक्ति बनेको छ, आम्दानीमा पुरुषसँग प्रतिस्पर्धा गर्ने हैसियत महिलाले बनाएका छन्।

ध्रुबसागर शर्मा

म्याग्दी। पहाडी जिल्ला म्याग्दीमा व्यावसायीक सुन्तला खेती महिलाहरूको आम्दानीको बलियो माध्यम बनेको छ। घरायसी काममा सीमित र परिवारका अन्य सदस्यमा निर्भर रहेका महिलाले आफ्नै सक्रियतामा धमाधम सुन्तला खेती विस्तार गरेपछि तीनवर्ष यता यहाँका महिलाले रहरलाग्दो आम्दानी गरिरहेका छन्।

जिल्लामा महिलाको नेतृत्व रहेका कृषक समूहले व्यावसायीक रुपमा सुन्तला खेती विस्तार गरेर वार्षिक २ देखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्। म्याग्दी भकिम्ली मरेककी एकल महिला जमुना थापाले यसवर्ष साढे ३ लाख रुपैयाँको सुन्तला उत्पादन गरिन् ।

अविवाहित थापाको दिन अधिकांश समय सुन्तला बगैँचामै बित्ने गर्छ। ‘आम्दानी हुन थालेपछि काम गर्न पनि जाँगर लाग्दो रहेछ’ थापाले भनिन् ‘यस वर्ष सुन्तला बेचेर ३ लाख रुपैयाँ कमाइसके, अझ १ लाख रुपैयाँ वरावरको सुन्तला बोटमै छन्।’

त्यसैगरी सोही गाउँकी कर्ण कुमारी पुर्जाले पनि बारीबाटै ३ लाख रुपैयाँ बराबरको सुन्तला विक्री गरिन्। करिव २२ घरधुरी रहेको मरेकमा थापा र पुर्जाले सुन्तलाबाट सबैभन्दा धेरै आम्दानी गरेका छन्। सामान्य खर्चको जोहो गर्न श्रीमान तथा छोराछोरीमा निर्भर रहने गरेका महिला सुन्तला खेती गर्न थालेपछि पुरुषको भन्दा बढी आम्दानी गर्न सफल भएका छन्।

‘सुन्तला खेतीले आत्मनिर्भर बनाएको छ, आर्थिक अभावकै कारण आफन्तसँग सापटी माग्नुपरेको छैन’ किसान थापाले भनिन् । उनले एकल महिलालाई समाजमा फरक दृष्टिकोण हेर्ने गरिएको अवस्थामा आफ्नो साहारा सुन्तला खेती बनेको बताइन्। सुन्तला बेचेर महिलाले गाउँमै तीन लाखसम्म नगद बु‰न थालेपछि सुन्तला खेतीप्रति पुरुषको समेत आर्कषण बढेको छ। ‘एउटा महिला शिक्षत भए परिवार शिक्षित हुन्छ भन्ने भनाईको यहाँका महिलाले पुष्टी गरेका छन्, महिलाकै मेहनतमा सुन्तला खेती विस्तार भएको छ’ नवजनज्योती प्राविका प्रधानध्यापक प्रेम बहादुर थापाले भन्नुभयो।

थापाले सुन्तला बारीको रेखदेख, मलजल, पुराना बोटको उपचार, कृषि कार्यालयसँग परार्मश तथा तालिममा समेत महिलाको सहभागिता रहने गरेको जानकारी दिनुभयो। आफ्नी श्रीमतीले समेत सुन्तला विक्रीबाट बार्षिक २ लाख रुपैयाँ कमाउने गरेको बताउँदै थापाले महिलाले सुन्तलाबाट आम्दानी गर्न थालेपछि गाउँमा पुरुषले समेत सिको गर्न थालेको बताउनुभयो।

भकिम्लीको मरेक र राखु गाउँमा महिला सुन्तला खेतीप्रति आकर्षित भएपछि दुईगाउँबाट यसवर्ष करिव ३३ लाख रुपैयाँको सुन्तला पोखरा, काठमाडाैं, बुटवललगायतका जिल्लामा खपत भएको छ। सुन्तला खेतीमा सक्रिय रहेका महिलाले धेरै आम्दानी गर्न थालेपछि गाउँमा रहेको कृषक समूहको नेतृत्वमा समेत पुरुषले दावी गर्न छाडेका छन्।

त्यसैगरी राखुकी मन कुमारी पुनको नेतृत्वमा रहेको ओखरबोट सुन्तला कृषक समूहले यसवर्ष २० लाख रुपैयाँको सुन्तला गाउँबाटै विक्री गरेको छ। ‘सुन्तला महिलाको शक्ती बनेको छ, आम्दानीमा पुरुषसँग प्रतिस्पर्धा गर्ने हैसियत महिलाले बनाएका छन्’ समूहकी अध्यक्ष पुनले भनिन् । पुनले आफ्नो सुन्तलाबारीबाट करिव ३ लाख २० हजार बराबरको आम्दानी गरेको बताइन्। गाउँमा भिम कुमारी घर्ती, जसिकला रोका, लिला पुन र भुमी पुनले पुरुषको तुलनामा सुन्तलाबाट धेरै आम्दानी गरेका छन्। महिला आफ्नै प्रयासमा गरेका सुन्तला लगायतका कृषिजन्य खेतीमा समेत पुरुषको सहयोग भनेर महिलाको सक्रियतालाई अपमान गर्ने गरेको समेत उनीहरूको गुनासो छ।

यता जिल्ला कृषि विकास कार्यालय म्याग्दीका प्राविधिक श्यामराज क्षेत्रीले महिलाको सक्रियतामा गरिएको सुन्तलाले राम्रो फल दिएको बताउँछन्। ‘सुन्तला टिपेपछि अर्को फल टिप्ने बेलासम्म महिलाले रेखदेख गरेको देखियो। ‘तालिममा पनि पुरुषको तुलनामा महिलाको सक्रियता धेरै छ’ क्षेत्रीले भने। उनलेे कृषिजन्य वस्तुको उत्पादन सम्बन्धि तालिममा सहभागी हुन अघि सर्ने गरेका महिलाहरूले कुनै समस्या देखिए तत्कालै फोनबाट जानकारी गराउने र परार्मशका आधारमा उपचार विधीको प्रयोग गर्ने गरेको समेत बताए ।

सुन्तलाको पकेट क्षेत्र मानिएका जिल्लाका विभिन्न गाउँमा महिलाहरूको सक्रियता बढेपछि उत्पादनमा बृद्धिका साथै नयाँ विरुवा समेत धमाधम विस्तार भइरहेको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: