नागरिकता नहुँदा अनुदानबाट वञ्चित


प्रकाशित मिति :2017-01-17 13:04:07

महिला खबर

सिन्धुपाल्चोक । उदयपुर जिल्लाबाट भागेर सानै उमेरमा बिहे गरेकी ईर्खु–७ की सुनिता वन नेपाली नागरिकता नहुँदा भुकम्प पीडितले पाउने अनुदानबाट वञ्चित भएकी छिन् । अनुदान नपाएपछि उनी दुई छोराछोरी सहित टहरामै बस्न बाध्य भएकी छिन् ।

‘कलिलै उमेरमा भागेर काठमाडौं पुगियो, त्यसपछि यो ठाउँमा आइयो, माइतीघर पनि थाहा छैन । अब कुन ठाउँमा बन्छ मेरो नागरिकता ?’ उनी प्रश्न गर्छिन् ।

भूकम्पमा घर भत्केर टहरामा बस्नु परेको भन्दा पनि नागरिकताकै पीरलो छ, उनलाई । छिमेकीहरु आवास अनुदानको पहिलो किस्ता लिएर घर वनाउन तयार भइसक्दा उनको भने आवास अनुदान सम्झौता नै हुन सकेन । नागरिकता नभएकै कारण अनुदान सम्झौता हुन नसकेपछि उनको लागि घर सपना झैं बनेको छ । ‘टहरामा कतिञ्जेल बस्नु, घर वनाउन पैसा छैन । नागरिकता छैन भनेर सरकारले पनि हेरेन ।’

माइती उदयपुर हो भन्नेमात्र थाहा पाएकी सुनिता अहिले आफु जन्मेको घर पत्ता लगाउन सक्दिनन् । १० वर्षअघि स्थानीय बेलबहादुर नेपालीसँग आफुखुशी विवाह गरेकी सुनिताले विवाह दर्ता पनि गरेकी छैनन् । पटक पटक विवाह दर्ताको लागि अनुरोध गर्दा समेत श्रीमान् बेलवहादुरले कुनै वास्ता गरेनन् । उनका श्रीमान दोस्रो बिहे गरेर बेपत्ता छन् ।

श्रीमान बेपत्ता भएपछि उनले नागरिकता पाउने आशा नै मारेकी छिन् । नागरिकताको लागि जिल्ला प्रशाशन कार्यालयले पतिलाई खोज्ने वा माइतीको ठेगाना खोज्ने गर्दा उनी हैरान छिन् । सदरमुकाम चौतारामा नागरिकताको लागि हारगुहार गर्दै हिँडेकी सुनिताले भनिन्, ‘श्रीमान्ले अर्की लिएर हिँडे, नागरिकता पाउन सकिएन ।’

श्रीमानले दोस्रो विवाह गरेपछि छोराछोरी हुर्काउने जिम्मेवारी उनैमाथि आइपरेको छ । उनको नागरिकता नहुँदा विवाहपछि जन्मिएका एक छोरी र एक छोराको पनि जन्मदर्ता हुन सकेको छैन । अहिले उनकी छोरी ९ वर्ष र छोरा ३ वर्षका भइसकेका छन् ।

‘उनको माईतीपट्टीको ठेगाना त खुल्नुपर्‍यो, नत्र के आधारले नागरिकता दिने ?’ जिल्ला प्रशासन कार्यालयका अधिकृत हेमराज फुयाँलले भने । नागरिकताको सिफारिस गरिदिन सुनिता धेरै पटक गाउँ विकास समिति पनि गईन् । गाविसले उनको अवस्थाबारे जिल्ला प्रशासनलाई जानकारी त गरायो तर प्रशासनले सुनितालाई नागरिता दिलाउने कुनै आधार नभेटेको भन्दै नागरिकता बनाइदिएन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: