श्रमदेखि संस्कारसम्म लैङ्गिक विभेद


समाजका अगुवाले नै गर्छन् विभेदलाई प्रोत्साहन

प्रकाशित मिति :2017-01-17 17:36:25

कृषि क्षेत्रमा मजदुरी गर्नेदेखि निर्माण तथा उद्योगका क्षेत्रमा मजदुरी गर्ने, निजी शिक्षण र वित्तिय संस्थाहरु लगायत सामाजिक, धार्मिक र संस्कारगत कार्यहरुमा अगुवाई गर्नेदेखि प्रतिनिधित्व गर्ने कुराहरुमा समेत लैङ्गिक विभेद हुने गरेको छ ।

ध्रुवसागर शर्मा

म्याग्दी । गत पुस २४ मा जिल्लाको बेनी नगरपालिका बगरफाँटका ४६ वर्षिय हर्कबहादुर थापाको ट्याक्टर दुर्घटनामा मृत्यु भयो । अत्यन्त सहयोगी र सामाजिक कार्यमा अगुवाई गर्ने थापाको मृत्युले गाउँ नै शोकाकुल बन्यो । उनको मृत्युको खबर जापानमा रहेका उनका दुवै छोराछोरीलाई गरियो । तीन दिनपछि आएर छोराले बाबु हर्कबहादुरको किरिया गरे । तर, अन्तिम पटक बुबाको अनुहार हेर्छु, बाबुको अन्तेष्टी म आएपछि मात्र गर्नु भन्ने छोरीलाई भने कसैले पर्खिएन ।

बुबाको मृत्युको खबर पाएपछि दाजु सुनिलसँगै बहिनी सुजाता पनि घरमा आउन चाहेकी थिइन् तर पढ्ने कलेज र काम गर्ने ठाउँमा बिदा मिलाउनु पर्ने भएकाले उनलाई एक दिन ढिला भयो । उनी आउँदा बुबाको अन्तेष्टि भइसकेको थियो । अरु त अरु बुबाको किरिया बस्न चाहेकी सुजातालाई वेवास्ता गरियो ।

एउटै बाबुका दुई सन्तान, दुवैजनाको जापानमा उत्तिकै कमाई । दुवैले पारिवारिक दायित्व र जिम्मेवारी पनि समान रुपले बहन गरिरहेका थिए । छोरा भएकै कारण सुनिलले बुबाको मुख हेर्न र अन्तेष्टिमा सहभागी हुन पाए । तर, छोरी भएकै कारण सुजातालाई दागवत्ति दिन र किरिया बस्न नपर्ने भन्दै उनलाई पर्खन आवश्यक ठानिएन र उनी विना नै बाबुको अन्तेष्टि गरियो ।

सदरमुकाम बेनीबजारसँगैको म्याग्दी नदी किनारमा जाने हो भने महिला र पुरुषलाई ज्यालामा गरिएको विभेद प्रष्टै देखिन्छ । जस्तो कि, त्यहाँ ढुङ्गा, बालुवा संकलनको काम गर्ने म्याग्दी मरेककी युदेवी विकले जत्ति धेरै काम गरेपनि पुरुष सरह ज्याला पाउँदिनन् । दैनिक ज्यालादारीमा काम गर्ने विकले दिनभरी काम गर्दा ३ सय ५० रुपैयाँ पाउँछिन् भने सँगै काम गर्ने पुरुष मजदुरले ५ सय ५० रुपैयाँ पाउँछन् ।

घर निर्माणको काममा मजदुरी गर्ने तीर्था किसान पनि यस्तै भेदभावबाट पीडित छिन् । उनी दैनिक पुरुष मजदुरसँगै एउटै काममा मजदुरी गर्छिन् तर ज्याला पाउँदा भेदभाव हुन्छ । ढुङ्गा, सिमेन्ट र छड बोक्ने, मिस्त्रीलाई चाहिएको सामान पुर्याउने सहयोगीको काम गर्ने तीर्थाले दैनिक ज्यालाबापत ४ सय पाउँदा सहकर्मी पुरुषले ६ सय रुपैयाँ पाउँछन् ।

सुजाता, तीर्था र युदेवी फरक स्थान र विषयवस्तुका प्रतिनिधि पात्र मात्र हुन् । समाजका धेरै क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लैङ्गिक विभेद र हिंसा हुने गरेको छ । कृषि क्षेत्रमा मजदुरी गर्नेदेखि निर्माण तथा उद्योगका क्षेत्रमा मजदुरी गर्ने, निजी शिक्षण र वित्तिय संस्थाहरु लगायत सामाजिक, धार्मिक र संस्कारगत कार्यहरुमा अगुवाई गर्नेदेखि प्रतिनिधित्व गर्ने कुराहरुमा समेत लैङ्गिक विभेद हुने गरेको महिला अधिकारकर्मी एवम् म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मीको अनुभव छ ।

‘समानता, समावेशिता र समान सहभागिताका जति नै कुरा गरिएपनि व्यवहारमा लागु हुन सकेको छैन,’ सहायक क्याम्पस प्रमुख रेग्मी भन्छिन्, ‘समाजका अगुवाहरुमा रहेको पूर्वाग्रही सोच र संस्कारगत अहम्का कारण लैङ्कि विभेद कायमै रहेको हो ।’

महिला तथा बालबालिका कार्यालयका प्रमुख निर्मला शर्माले धर्मको आड लिएर पण्डित र पुरोहितहरुले जन्म संस्कारदेखि मृत्यु संस्कारसम्म छोरीको संलग्नतालाई आवश्यक नठानेका कारण लैङ्गिक विभेदले परम्पराको रुपमा समाजमा स्थान पाएको हो । उनी भन्छिन्, ‘न्वारान (नामाकरण), विवाह र मृत्यु संस्कारमा बुबा अथवा छोराले नै महत्व पाउँछ, आफुले जन्माएको शिशुको न्वारान गर्न, विवाह गर्न तथा आमाबाबुको मृत्युमा किरिया गर्न महिलाले पाउँदैनन् । संस्कारलाई नै विभेदकारी बनाइएको छ ।’ उनी यसको अन्त्यका लागि धार्मिक सम्प्रदाय, समाजका अगुवा र बुद्धिजिविहरुले नै साहस गर्नुपर्ने बताउँछिन् ।

बौद्धिक र सामाजिक प्रतिष्ठा पाएका व्यक्तिहरुबाट पहल नहुञ्जेल लैङ्गिक विभेदको अन्त्य हुन नसक्ने अर्जुन माविका शिक्षक नविन घिमिरे बताउँछन् । ‘बुबाको मृत्युमा शोक गर्ने, आशौच बार्ने र जिम्मेवारी बहन गर्ने कार्यमा समेत छोरा र छोरीको बीचमा विभेद गरिन्छ भने लैङ्गिक विभेदको अन्त्य कसरी हुनसक्छ ?’ घिमिर भन्छन्, ‘हामी पढेलेखेका र जान्ने बुझ्नेहरुबाटै यसखाले विभेद र हिंसाजन्य गतिविधिलाई प्रोत्साहित गरिएको छ ।’

श्रमदेखि सामाजिक संस्कारसम्म कायम रहेको लैङ्गिक विभेदले समाजमा बलियो जरा गाडेको महिला अधिकारकर्मीहरुको भनाइ छ । कानुनले मात्र लैङ्गिक विभेदको अन्त्य गर्न नसक्ने बताउँदै म्याग्दीकी महिला अधिकारकर्मी अमृता बानियाँ पनि धार्मिक परम्परा, अन्धविश्वास, सामाजिक कुरीति जस्ता कारणहरुले लैङ्गिक विभेद र हिंसा नरोकिएको मान्छिन् ।

कानुनमा लैङ्गिक विभेद र महिला हिंसालाई दण्डनीय भनेपनि व्यवहारमा त्यो लागु हुन सकेको छैन । महिलालाई घरेलु, सामाजिक, साँस्कृतिक, धार्मिक वा कानुनी कुनै पनि दृष्टिकोणले विभेद गर्नु, शारिरिक, मानसिक वा श्रम शोषण गर्नु, अन्यायमा परेकालाई पारिवारिक वा सामाजिक मानप्रतिष्ठा र इज्जतको नाममा जर्बजस्ती मिलापत्र गर्न बाध्य पार्नु अक्षम्य अपराध भएको राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा बताउँछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: