सामाजिक सेवामा सक्रिय किशोरी


प्रकाशित मिति :2017-01-18 11:55:02

भूकम्पले तहसनहस बनाएको आफ्नो गाउँमा देश विदेशका मान्छे आएर काम गरेको देखेपछि सामाजिक काम गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित नुवाकोट मैरिटारका किशोरी त्यो क्षेत्र मै उदाहरणीय बनेका छन् । एस एल सी पास गरेका किशोरीलाई समेत समेटेर उनीहरूले “मैरिटार्स गर्ल्स” नामक समूह बनाएरै सामाजिक काममा संलग्न भएका छन् ।

नवराज महतारा

चसाेबाट प्रभावितका  लागि सिरक र कम्मल बाेकेर लैजाँदै मैरिटार्स गर्ल्स

नुवाकोट । हरेक बिहान साढे ४ बजे उठेर आफ्नो अध्ययन गर्ने, ६ देखि १० बजेसम्म कलेज जाने, कलेजबाट घर फर्किएर खाना खाए लगत्तै नजिकैका गाउँमा सर्भेमा जाने र वेलुका साढे ४ बजेदेखि राती साढे ७ बजेसम्म गाउँका वालवालिकाका लागि सञ्चालन गरेको सामूहिक ट्युसन सेन्टरमा निःशुल्क ट्युसन पढाएर राती ८ बजे मात्र घर फर्किने निकै व्यस्त दैनिकी खड्ग भञ्ज्याङ्ग ९ नुवाकोटकी १८ वर्षीया उषा कट्टेलको हो ।

नजिकैको महादेव बहुमूखि क्याम्पसको कक्षा ११ मा अध्ययनरत उषालाई अहिले छिनभर फुर्सद हुँदैन । घरको काम र आफ्नो पढाई सकेर बाँकी रहेको समयमा प्राय साथीहरूसँग गफगर्ने र सामाजिक सञ्जाल (फेसवुक) चलाएर समय बिताउने उषा अहिले अध्ययन र घरको कामबाट समय निकालेर भएपनि गाउँको सामाजिक काममा लाग्न थालेपछि निकै व्यस्त भएकी हुन् ।

संयुक्त ट्युसन पढाउँदै किशोरी

गएको प्रवेशिका परिक्षामा अनुत्तिर्ण भएपछि अध्ययनको काम छोडेर सबै समय घरको काममा सर्मपण गरेकी १९ वर्षीया संझना माझी अहिले घरको काम राती गरेर भएपनि दिउँसो गाउँको सामाजिक काममा दौडिन थालेकी छन् । घरका जेठा दाजु पैसा कमाउन खाडी मुलुक गएपछि घरको सबै कामको जिम्मेवारी लिएकी माझी अहिले घरको काम भन्दा गाउँको धारा बनाउने, भूकम्प पीडितका टहरा मर्मत गर्ने काममै व्यस्त हुन्छिन् । यत्तिमात्र होइन गाउँका वालवालिकाहरूले समयमा गृहकार्य गरे नगरेको चिन्ताले समेत उनलाई हरेक दिन पिरोल्ने गरेको छ ।

उषा र संझना जस्तै नुवाकोट मैरिटारका सात जना किशोरी पछिल्लो ५ महिनादेखि सामाजिक काममा निकै व्यस्त हुन थालेका हुन् । बिहान १० बजेदेखि राती ८ बजेसम्म सामाजिक काममा व्यस्त रहने यी किशोरीको कामको चर्चा गाउँमा समेत हुन थालेको छ । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले तहस नहस बनाएको आफ्नो गाउँमा पीडितलाई राहत दिन देश विदेशका मान्छे आएको देखेपछि आफूले पनि सहयोग गर्नुपर्छ भन्ने भावनाबाट प्रभावित भएको उनीहरू बताउँछन् । पछिल्लो समय स्थानीयस्तरमै समेत स्वय‌ंसेवी भवाना जगाउन एस एल सी पास भएका किशोरीहरूले समेत समेटेर उनीहरूले “मैरिटार्स गर्ल्स” नामक समूह बनाएरै सामाजिक काममा संलग्न हुन थालेका छन् । शुरुशुरुमा पढाई छोडेर बैठकमा जान अविभावकले गाली गरेको गर्ने गरेको अनुभव गरेकी समूहकी सुप्रीया अधिकारीलाई अहिले घरबाट कुनै बन्देज छैन् । आफूले राम्रो काम गर्दै गए घर र समाजको निकै ठूलो सहयोग मिल्ने भन्दै सुप्रीया भन्छिन् ‘धेरै ठूलो काम गर्न नसकेपनि गएका पाँच महिनाको अन्तरालमा मैरिटार्स गर्ल्सले खड्ग भञ्ज्याङ्गमा सामाजिक काम गर्नुपर्छ भन्ने भावना जगाएको छ ।’

संयुक्त ट्युसन कक्षामा मैरिटार्स गर्ल्स

भूकम्पले गाउँका झण्डै ९० प्रतिशत घर भुईमै पुगेको खड्गभञ्ज्याङ्ग गाउँको एकमात्र खानेपानीको सार्वजनिक धाराको सरसफाईबाट आफ्नो काम थालेका उनीहरूले अहिले दिनहुँ जसो कुनै न कुनै नयाँ काम गर्ने गरेको समूहकी उषा कट्टेलले बताइन् । आफूले काम गर्छु भनेपछि स्रोतको जोहो गर्नपनि समस्या नहुँदो रहेछ भन्ने ताजा अनुभव गरेकी उषाका अनुसार अहिले मैरिटार्स गर्ल्सकै व्यवस्थापनमा २ वटा गाउँमा सामूहिक ट्युसन कक्षा सञ्चालन भएका छन् भने झण्डै चारवटा गाउँमा सिरक कम्मल र न्यानो कपडा वितरण समेत गरिएको छ । विकासको पहिलो आधार शिक्षा भएको बताउने सीता राई भन्छिन् ‘तीनमहिनादेखि गाउँका वालवालिकाहरूको शिक्षाको अवस्था सुधार्न बिहानवेलुका गाउँमै सामूहिक ट्युसन पढाउने काम भैरहेको छ ।’

समूहको बैठक बस्न र सामूहिक ट्युसन पढाउन क्वीक भोलन्टीयर्सको सहयोगमा गाउँमा दुई कोठे घर समेत बनाएका मैरिटारका किशोरीहरूले हरेक २ दिनमा बैठक बसेर नयाँ योजना बनाउने गरेका छन् । काम गर्दै जाँदा सहयोगी हात बढ्न थालेपछि उनीहरू उत्साहित भएका छन् । छिमेकी गाउँको स्थलगत सर्भेक्षण गर्ने र सोही अनुसारको योजना बनाएर कार्यान्वयन गर्ने उनीहरू बताउँछन् । किशोरी समूहकै पहलमा अहिले खड्गभञ्ज्याङ्ग, बुद्धसिंह गाविसका विभिन्न वस्तीमा झण्डै चार सय बढी भूकम्प पीडितलाई न्यानो कपडा र सिरक वितरण गरिसकिएको छ ।

कामका लागि गाउँगाउँमा सर्भे गर्दै मैरिटार्स गर्ल्स

प्रेरक बनिन् प्रमिला
रामधुनीभासी नगरपालिका ९ लालपुर सुनसरी घर भएकी प्रमिला खड्का सामाजिक सेवा (बिएसडब्लु) र पत्रकारितामा स्नातक तह पास गरेकी किशोरी हुन् । वुवा आमाको कमाईमा मनलाग्दो खर्च गरेर हिँड्ने किशोर किशोरीका लागि उनी उदाहरण बनेकी छन् । प्रमिला आफ्नाे शहरभन्दा निकै टाढा नुवाकोटको विकट गाउँमा आइ स्वयंसेवा गरेर नमुना बनेकी छन् ।

लाउनखान र थप अध्ययन गर्न घरमा खासै समस्या नभएको बताउने प्रमिला आफू कसरी मैरिटार आइपुगे भन्ने कारण थाहा छैन, तर उनी आफू यो गाउँमा आएपछि किशोरीमा आएको परिवर्तनदेखि भने निकै सन्तुष्ट छन् । सामाजिक सेवा (विएसडब्लु) पढेकी प्रमिलाले गाउँमा काम गर्ने इच्छा भएको भनेपछि स्वयम्सेवी सञ्जाल क्वीक भोलण्टीयर्सको सम्पर्कमा मैरिटार आइपुगेको बताईन् ।

छ महिनाअघि गाउँमा आउँदा आफूसँग कोहीपनि राम्रोसँग नबोल्ने गरेको उनले स्मरण गरिन् । ‘त्यो क्षण रत्तिभर सम्झन मन छैन’ प्रमिला भन्छिन् । परिवर्तनमा किशोरीहरूलाई उत्प्रेरित गर्न आफ्नै पहलमा मैरिटार्स गर्ल्स समूह बनाइ किशोरीलाई संगठित गरेको उनले बताइन् । शुरुमा नियमित बैठकमा सहभागी हुन निकै आग्रह गर्नुपरे पनि विस्तारै सहभागी हुन थालेको अनुभव उनले सुनाइन् । भनिन् ‘अहिले गाउँका सात जना किशोरी साथी आफै नयाँ नयाँ अवधारणासहित आउँछन्, कामका लागि आवश्यक रकम कसरी जुटाउने भनेर उल्टै मलाई दवाव दिन थालेका छन् ।’ उनीहरूको सहयोगले आफूले थोरै समयमा निकै सफलता हाँसिल गर्न सकेको प्रतिक्रिया प्रमिला दिन्छिन् । उनीहरूले सामाजिक सञ्जाल फेसवुकमै  Mairitar’s girls को नाममा पेज बनाएका छन् ।

वैठक बस्ने समय नभए फेसवुक ग्रुपबाट एक आपसमा छलफल गर्ने, काममा गएका वेला तत्काल समूहका अन्य सदस्यलाई केही जानकारी गराउन परे फेसवुकलाई उपयोग गर्ने गरेको उनले प्रमिलाले बताईन् ।

शुरुमा किशोरी समूहले गर्ने कामका लागि आवश्यक लागतका बारेमा निकै चिन्ता हुने भएपनि अहिले योजना अनुसारका काम गर्न क्विक भोलण्टीयर्स नामक स्वयमसेवी संस्थाले खर्च र स्थानीय भूकम्प पीडितलाई वितरण गर्ने न्यानो कपडा र सरक संकलन गरिदिएपछि मैरिटार्स गर्ल्सहरूलाई निकै साहस आएको छ । राजधानी काठमाडौंलगायतका स्थानमा संकलन गरेका सिरक, कम्मलहरू उनीहरू आफैँले बोकेर प्रभावितहरूसम्म पुर्याउने, नछुने भएको वेला सरसफाईमा समस्या हुने गरेको देखेका उनीहरूले अवको नयाँ काममा रुपमा महिनावारी भएको समयमा प्रयोग गर्ने प्याड,गाउँका विद्यार्थीका लागि आधारभूत कम्प्युटर तालिम, गाउँमा विभिन्न सचेतना सम्बन्धि कार्यक्रम गर्ने सोच बनाएको बताए ।

विद्यालयको पढाई सकेका गाउँका किशोरीहरू आफै स्वस्फुर्त स्वयंसेवा गर्न थालेको देखेपछि आफूले संकलन गरेको चन्दाबाट मैरिटार्स गर्ल्सलाई सानो सहयोग गर्ने गरेको क्विक भोलण्टियर्सका संयोजक अरुण खड्काले बताए । आफ्नो संस्था नितान्त स्वयंसेवी भएको प्रतिक्रिया दिँदै खड्काले मैरिटारका किशोरीहरूको सफल प्रयासलाई देशका अन्य भूभागमा समेत लैजानुपर्ने पर्ने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: