किन चुनौतीपूर्ण बन्दै छ महिला हिंसा ?


प्रकाशित मिति :2017-01-19 11:12:53

श्रीप्रसाद प्रसाईं

sri-psrasad-prasai-217x300महिलाउपर हुने जस्तोसुकै शारीरिक एवं मानसिक तनाव, यातना तथा दुव्र्यवहारजन्य कार्यलाई महिला हिंसा भनिन्छ भन्ने कुरा सर्वविदितै छ । शारीरिक एवं मानसिक रूपमै पीडादायी बन्ने यस्ता हिंसात्मक कार्य पारिवारिक सदस्य, समाज, सहकर्मी र राज्य संयन्त्रबाटै उत्पन्न हुने गर्दछन् । महिला हिंसा नियन्त्रणका लागि राज्य संयन्त्रदेखि अनेकौं सरकारी एवं गैरसरकारी संघसंस्था लागिपर्दै आएको देखिए पनि यसको नियन्त्रण हुन सकेको छैन । नियन्त्रण हुनुको सट्टा घरायसी कारणबाटै उत्पन्न हुने सामान्य विवादले पनि हत्याको रूप लिने क्रम बढ्दै आएको छ ।

परिवारकै सदस्यहरूबीच, साथीसंगतिबीच, सहकर्मीबीच कायम रहँदै आएको सुसम्बन्धमा कटुता आउँदा उत्पन्न हुने महिला हिंसाबाट परिवार मात्र होइन, समाज नै प्रभावित बन्दै आएको छ । महिला हिंसा नियन्त्रण गर्ने उद्देश्यले यथेष्ट कानुनी व्यवस्था राज्यका तर्फबाट नभएको होइन । विभिन्न अधिकारवादी सघसंस्थाहरू नै महिला हिंसाविरुद्ध बारम्बर अभियान सञ्चालनमा लाग्दै आएको पाइन्छ । राज्य संयन्त्र पनि यसतर्फ सचेत छ, तथापि अपेक्षकृत रूपमा महिला हिंसा नियन्त्रण हुन सकेको छैन । सम्बन्धित निकायदेखि सम्बद्ध पक्षसमेत लागिपर्दै आएको अवस्थामा पनि महिला हिंसा नियन्त्रण हुन सक्नुको कारकतŒव पहिचान गरी त्यसलाई नियन्त्रण गर्ने आवश्यक प्रक्रिया नचालेसम्म औपचारिक रूपमा आयोजना गरिने प्रचारात्मक कार्यले मात्रै हाम्रो समाजबाट महिला हिंसाको अन्त्य हुने सम्भावना देखिँदैन ।

महिला हिंसाका कारण अनेकौं हुन सक्छन् । यसको कारणलाई वर्गीकृत गरी सीमित बनाउन सकिँदैन । महिला हिंसाको प्रकृतिलाई हेर्दा सुनियोजित तवरबाट हुने हिंसाका घटनादेखि कहिल्यै देखभेट नभएको अपरिचित व्यक्तिसँग हुन पुगेको क्षणभरकै अप्रत्याशित भेट पनि कतिपय अवस्थामा महिला हिंसाको कारण बनेको देखिन्छ । आकस्मिक रूपमा व्यक्तिमा उत्पन्न हुने आवेग एवं अनियन्त्रित इच्छा आकांक्षालाई संयमित तवरले नियन्त्रणमा राख्न नसक्ने व्यक्तिलाई हिंसा नियन्त्रणका लागि तयार पारिएका मापदण्डले छेक्न सक्दैन । यस्ता व्यक्तिहरूबाट आकस्मिक रूपमा महिलाउपर हुन पुगेका यौनजन्य घटना समाजमा बारम्बर दोहोरिरहेका हुन्छन् भने सुनियोजित तवरले हुने घटनाको त पृष्ठभूमि नै अगाडिदेखि नै बन्दै आएको हुन्छ । आकस्मिक रूपमा होस् वा सुनियोजित, महिला हिंसाका कारणहरू अनेक हुने भए पनि हाम्रो मुलुकको सन्दर्भमा घटित घटनाको प्रकृतिलाई हेर्दा महिला हिंसाको कारकतŒवका रूपमा देखापर्दै आएका प्रमुख सम्बद्ध पक्षबारे यहाँ उल्लेख गर्नु सान्दर्भिक देखिन्छ ।

खासगरी महिला हिंसाको कारकतŒवका रूपमा अन्य व्यक्ति सम्बद्ध व्यवहार र महिला स्वयंको आचरण एवं बानीबेहोरा सम्बद्ध रहने गरेको पाइन्छ । अन्य व्यक्तिको कारणबाट हुने हिंसात्मक घटनामा घरपरिवारकै सदस्य, नाता सम्बन्धका परिचित व्यक्ति, साथीसंगति, अपरिचित व्यक्ति सहकर्मीदेखि राज्य संयन्त्रसम्मका व्यक्तिहरूबाट हुने गर्दछ । जसले आकस्मिक एवं सुनियोजित तवरले महिलाउपर हिंसात्मक कार्य गर्छन् । यसका अतिरिक्त ऐन, कानुनमा कायम रहँदै आएको विभेद तथा ऐन, कानुनमा भएकै व्यवस्थालाई व्यवहारमा नउतार्ने राज्य पक्ष पनि पछिल्लो समयमा महिला हिंसा बढाउन जिम्मेवार देखिन्छ । यस पृष्ठभूमिमा महिला हिंसा निम्त्याउन पीडकदेखि राज्य पक्ष नै संलग्न रहँदै आएको भन्ने अधिकारवादीका तर्फबाट बारम्बर उठाउने गरेको आवाज गलत छ भन्न मिल्दैन । यसरी अन्य पक्षको कारण निम्तने महिला हिंसा पनि अधिकाशतः पारस्परिक व्यवहारमा हुने विभेद, सम्पत्ति उपभोग उपरको विभेद, कानुनी विभेद, परम्परागत सामाजिक कुरीतिमा आधारित व्यवहार तथा दोषरोपण, नजरिया प्रेममा आधारित यौनजन्य क्रियाकलाप, महिलालाई निरीह ठानी विश्वास तथा जिम्मेवारी प्रदान नगर्ने प्रवृत्तिसँग सम्बन्धित हुने गर्दछन् ।

महिला हिंसाका कुल घटनामध्ये करिब ८० प्रतिशत घटनाहरू अन्य व्यक्ति वा पक्षका तर्फबाट हुने गरेको पाइन्छ भन्ने २० प्रतिशत हिंसाका घटनाहरू महिला स्वयंकै तर्फबाट उत्पन्न हुने गरेको देखिन्छ । सामान्य बुझाइमा महिला आफ्नै लागि हिंसाको कारण बन्न पुग्छन् भन्ने कुरा पत्यार लाग्दो नदेखिए पनि यसलाई गभीरताका साथ अध्ययन मनन गर्ने हो भने वास्तविक ठहरिन्छ । महिला हिंसाका लागि व्यक्ति स्वयं कारक बन्न पुगेका अनेकौं दृष्टान्त छन् । कतिपय अवस्थामा महिलाको आफ्नै बानीबेहोरा, स्वभाव र आचरण नै हिंसाको कारकतŒव बन्ने गर्दछ । व्यक्ति स्वयंमा आधारित रहने यस्ता कारणहरूमा मुख्य गरी घरपरिवारउपरको आफ्नो दायित्व सम्पादन नगर्नु, महिला स्वयंको गलत आचरण र बानीव्यहोरा, पारिवारिक हैसियतबाहिरको देखासिखी गर्ने प्रवृत्ति तथा आडम्बर एवं धाकरवाफ आदि पर्छन् । घरपरिवारका सदस्यको महिलाप्रति सकारात्मक धारणा भए पनि व्यक्तिविशेषमा रहने उपरोक्त नकारात्मक आदत र बानीबेहोरा नै महिला स्वयंकै लागि हानी पु¥याउने तथा पारिवार कलहको जड बन्ने गरेका दृष्टान्त समाजमा नभएका होइनन् । यही कारणले नै कतिपय अवस्थामा महिला हिंसा निम्तने गर्दछ ।

राज्य सञ्चालकदेखि राज्य संयन्त्रकै विभेदित व्यवहार र स्थानीय समाजले पनि चासो नदिँदा पछिल्लो समयमा महिला हिंसा बढ्दै आएको देखिन्छ । महिला हिंसा नियन्त्रण गर्ने उद्देश्यले बनाइएका ऐन–नियम पनि प्रभावकारी ढंगले कार्यान्वयन हुन सकेका छैनन् । राजनीतिक आस्था र नाता सम्बन्धका आधारमा पीडकको वर्गीकरण गरी निकटवर्ती व्यक्तिलाई दण्ड सजायबाट मुक्त गराउन सत्तासीन व्यक्तिहरू नै लागिपर्ने गर्दछन् । पीडितलाई नै प्रभावमा पारी उजुरी नगर्ने अवस्थामा पुर्‍याउने, यो सम्भव नभए सम्बन्धित निकायबाटै उजुरी दर्ता नगरी मेलमिलापको नाटक मञ्चन गराई पीडकलाई छुटकारा दिलाउने तथा दर्ता भई अनुसन्धानको क्रममा रहेको मुद्दालाई नै प्रक्रियागत ढंगले फित्तलो बनाएर पीडकलाई उन्मुक्ति दिलाउन नेता कार्यकर्ता लागिपर्ने गर्दछन् ।

राज्य सञ्चालककै इसारालाई सर्वोपरि ठानी कार्यान्वयन गर्ने मातहतका कर्मचारीहरू नै कतिपय अवस्थामा मौकाको फाइदा लिन स्वार्थको बर्गेनिङ गर्न पछि पर्दैनन् । अभियुक्तले कानुनअनुसारको दण्ड सजाय पाउनै पर्दछ भन्ने कुरामा अडिग रहने इमानदार एवं कर्तव्यनिष्ठ कर्मचारीहरूले नेताको आदेश पालन नगरेको अवस्थामा उत्तिखेरै अक्षम एवं अयोग्य बन्नुपर्ने हुन्छ भने यही कारणले उनीहरूले अन्यत्र सरुवा भई जानुपर्ने अवस्था सिर्जना गराइन्छ । तर, नेताको इसारा बुझी कार्य गर्ने कर्मचारीहरू दक्ष र इमानदार ठहरिन्छन् । यस्तो प्रवृत्तिले गर्दा राज्यका ऐन, कानुनहरू प्रभावकारी ढंगले कार्यान्वयन हुन पाएका छैनन् ।

सम्बन्धित निकायदेखि सम्बद्ध पक्षसमेत लागिपर्दै आएको अवस्थामा पनि महिला हिंसा नियन्त्रण हुन नसक्नुको कारकतत्व पहिचान गरी त्यसलाई नियन्त्रण गर्न आवश्यक प्रक्रिया नचालेसम्म औपचारिक रूपमा आयोजना गरिने प्रचारात्मक कार्यले मात्रै हाम्रो समाजबाट महिला हिंसाको अन्त्य हुने सम्भावना देखिदैन।

कसैको घरभित्र हुने झैंझगडा र हिंसाका घटनालाई अर्काको घरभित्रको हो वा लोग्नेस्वास्नीबीचको कुरा हो भनी छिमेकी नै मौन रहने प्रवृत्ति बढ्दै आएको छ । यतिसम्म कि हिंसाको कारणबाट आएको महिलाको चित्कार सुनेर पनि त्यहाँ नपुग्ने उल्टै ‘चढेकी थिई, फलानी ठीक भयो’ भनी मज्जा लिने प्रवृत्ति बढेको छ । सकेसम्म तत्कालै सो स्थानमा पुगी झगडियालाई छुट्ट्याइदिने, सम्झाउने, बुझाउने व्यक्ति वा सम्बन्धित निकायमा खबर गरिदिने सामान्य सामाजिक दायित्वबाट पनि हामी आफैं विमुख बन्दै आएको छौं । यस्ता घटनालाई कतिपय अवस्थामा छरछिमेकीले नै राजनीतिक रंग दिई साम्य पार्नुको सट्टा एकअर्कालाई बोकाबोक गरेर बल्झाउने गरेको पाइन्छ । यहाँ महिला हिंसाको सम्बन्धमा समाज पूर्ण रूपमा आफ्नो दायित्वबाट पन्छिएको भन्न खोजिएको होइन । तर, दायित्व विमुख हुँदै गएको भने कुरा व्यावहारिक यथार्थमा आधारित छ ।

एकातिर राज्य सञ्चालककै विभेदित व्यवहारबाट त अर्कोतिर समाजले चासो नदिँदा उल्टै पीडकलाई प्रोत्साहन मिलिरहेको कारण पनि महिला हिंसा नियन्त्रण हुन नसकेको हो । वास्तवमा अड्डा अदालतको कार्यविधि छिटोछरितो हुन सक्दैन । निर्णय गर्नुभन्दा अघि अपनाउनुपर्ने प्रक्रिया पूरा गर्ने क्रममा महिनौं लाग्न सक्छ । साथै अड्डा अदालतबाट हुने अन्तिम निर्णय पनि छरछिमेक, गाउँ समाज र घटनासम्बद्ध प्रकृति विवरणकै आधारमा हुने गर्दछ । प्रारम्भमा हिंसा सम्बद्ध वास्तविकताबारे गाउँ समाज एवं छरछिमेकीले मौकामै अवलोकन गरेको हुनाले सामान्य प्रकृतिका विवादास्पद कुराहरू दुवै पक्षलाई राखी छरछिमेरकी र गाउँ–समाज बसी चाहेमा मौकैमा समाधान गर्न सक्छन् । दुवै पक्षबीच मेलमिलापको वातावरण बनाई दिन सक्छन् । निरन्तर अनुगमन गरी सम्झौता–सहमतिको पालन भए नभएको जानकारी राख्न सक्छन् । पुनः असमझदारी देखापरे मिलाउन सक्छन् । वर्षौंपछि अड्डा अदालतबाट हुने निर्णयभन्दा गाउँ समाजले स्थलगत रूपमै दिन सक्ने निर्णय दुवै पक्षको निम्ति व्यावहारिक एवं हितकर हुन सक्छ भन्ने कुरा सबैले बुझेको भए पनि यसतर्फ सम्बन्धित पक्षको ध्यान पुग्न छोडेको छ । सामाजिक एकतामा खलल पु¥याउने मुलुकको दूषित राजनीतिक वातावरण पनि महिला हिंसा नियन्त्रण नहुनुको कारण बन्दै आएको छ । स्वार्थमा आधारित राजनीतिक प्रतिस्पर्धाले पनि महिला हिंसा नियन्त्रण हुन सकेको छैन । कानुनी प्रक्रिया एवं जनचेतनाको अभावबाटै महिला हिंसाका घटना सहर बजारको तुलनामा दुर्गम गाउँ बस्तीमा दबिएर रहने गर्दछन् भन्ने भनाइमा पनि अहिले परिवर्तन आएको देखिन्छ ।

अहिले दुर्गम गाउँ समाजमा भन्दा सहरबजारमा हुने महिला हिंसाका घटनालाई इज्जत र प्रतिष्ठासँग जोडेर सार्वजनिक नगर्ने प्रवृत्ति बढ्दै आएको पाइन्छ । सहरी क्षेत्रका घटना सार्वजनिक नहुनुको कारण भने जनचेतनाको अभावले होइन, सचेत भएकै कारण प्रकाशमा नआएका हुन् । किनकि, समाजले निरन्तर साथ नदिने, अदालती प्रक्रिया झनझटिलो हुने, न्यायका लागि लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने, सत्ता शक्तिको प्रभावले न्याय पाइने कुराप्रति पनि विश्वस्त हुन नसकिने, प्रक्रिया लामो हुँदा आर्थिक क्षति बेहोर्नुपर्ने तथा आफ्नै इज्जत र प्रतिष्ठाप्रति आँच आउने ठानेर पनि कतिपय सहरी क्षेत्रका हिंसापीडित शिक्षित महिलाहरू नै हिंसा दबाउन विवश देखिन्छन् । सम्बन्धित पीडित महिलाको इज्जत प्रतिष्ठाउपर समाजमा नकारात्मक टीकाटिप्पणी हुन सक्ने अवस्थालाई ध्यानमा राखेर घटना उजागर नगरिँदा पीडकलाई नै प्रोत्साहन मिल्छ भन्ने कुरा समाजले पनि महसुस गराउन सक्नुपर्छ, तर यो हदसम्म समाजको  जागरुकता देखिँदैन ।

महिला हिंसाले निमत्याउने चुनौती अत्यन्त हानिकारक एवं असरपूर्ण हुन्छ । पारिवारिक परिधिभित्रै हेर्ने हो भने यसले परिवारका सम्पूर्ण सदस्यमा मानसिक तनाव उत्पन्न गराउँछ । हिंसा अझै बढ्दै गए परिवारमा कलह र अशान्ति मचाउँछ । पारिवारिक एकतालाई टुक्र््याई भिन्न हुने अवस्थामा पु¥याउँछ । यति मात्र होइन, हिंसा बढ्दै गए यसले कायम रहँदै आएको नातासम्बन्धलाई नै विच्छेद गराइदिन्छ । अन्ततः व्यक्ति हत्याजस्तो गम्भीर अपराध पनि यसैको कारण निम्तन सक्छ । यसैगरी, समाज एवं राज्य पक्षको विभेदित व्यवहारका कारण महिलाका हक अधिकार कुण्ठित हुन सक्छ । योग्य एवं दक्ष महिलाहरूले आफ्नो कार्य दक्षता प्रदर्शन गर्ने अवसर पाएका हुँदैनन् । राजनैतिक, प्रशासनिक, कानुनीलगायत राज्यका अन्य विविध क्षेत्रमा कानुनले निर्धारण गरेको महिला सहभागिताको व्यवस्थालाई राज्य सञ्चालकबाटै उपेक्षा भइरहेको छ । महिलालाई हेर्ने सामाजिक दृष्टिकोण पूर्ण रूपमा परिवर्तन भएको छैन ।

यस्तै, विविध कारणले कतिपय सक्षम महिलाहरू मानसिक तनावग्रस्त जीवन बिताउन बाध्य छन् । यो राज्यका तर्फबाट हुने महिला हिंसाकै दृष्टान्त हो, यसर्थ महिला हिंसाले निम्त्याएको चुनौती हल गर्न परिवार, समाज र राज्य संयन्त्र नै एकत्रित हुन जरुरी छ, अन्यथा महिला हिंसा नियन्त्रण हुन सक्दैन ।

स्थानीय निकाय एवं समाज जागरुक हुने हो भने महिला हिंसा नियन्त्रण हुन सक्छ । यससम्बन्धी स्थानीय निकायलाई अर्धन्यायिक अधिकार प्रदान गरी सशक्त एवं जिम्मेवार बनाउन उत्तम हुन्छ । स्थानीय समुदायलाई पनि महिला हिंसाविरुद्ध स्वतःस्पूmर्त रूपमा जागरुक गराउने वातावरण निर्माण गर्नु आवश्यक छ । पीडकको आचरण र व्यवहारमा सुधार गराउने उद्देश्यमा आधारित सामान्य दण्ड तथा जरिबाना गर्न सक्ने अर्धन्यायिक अधिकार स्थानीय निकायलाई प्रदान गरी जिम्मेवार बनाउने हो भने अपेक्षाकृत रूपमा महिला हिंसामा सुधार आउन सक्छ ।

साभार: राजधानी दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: