आमाहरू नै जुटे बालमैत्री शिक्षामा : सुधार भयो पढाई


प्रकाशित मिति :2017-01-19 11:25:23

छोरीछोराले राम्रो पढेको देखेर आमाहरू सङ्गठित भइ विद्यालयमा आमा समूह गठन गर्न थालेका छन् । आमा समूहले आ–आफ्ना छोराछोरीलाई समयमा खानादिने, सरसफाइ गरेर दैनिक विद्यालय पठाउने र महिनामा एक पटक विद्यालयमा कक्षा शिक्षकसंँग बैठक बसेर छलफल गर्ने गरेका छन् ।

ध्रुबसागर शर्मा

म्याग्दी । पाँच वर्षदेखि जिल्लामा सुरु भएको बालमैत्री शिक्षा कार्यक्रम बालबालिकामा लोकप्रिय भएपछि त्यसको विस्तारका लागि अहिले आमाहरू नै जुटेका छन् । यस्तो शिक्षण विधिप्रति अहिले बालबालिका र अभिभावकहरू नै आकर्षित भएका छन् ।

यो आकर्षणका कारण जिल्लामा बालमैत्री शिक्षण सिकाइ प्रक्रिया लागु गर्ने विद्यालयहरूको सङ्ख्या पनि प्रतिदिन बढिरहेको छ । पछिल्लो समयमा सामुदायिक विकास प्रवद्र्धन केन्द्र र जिल्ला शिक्षा कार्यालय म्याग्दीले जिल्लाका विकट पश्चिमीभेगका पाँच गाविसमा रहेका २० सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०७० देखि बालमैत्री शिक्षा कार्यक्रम लागू गरेपछि अभिभावकहरूमा उत्साह बढ्न थालेको छ ।

बालबालिकालाई खेलकुद, गीत तथा मनोरञ्जनात्मक क्रियाकलापका साथ पठनपाठन गराउने विधि नै बालमैत्री शिक्षा हो । पठनपाठनको यो विधि देखेपछि आमाहरू नै बालमैत्री शिक्षा कार्यक्रमलाई राम्रो बनाउनुपर्छ भनेर सङ्गठितरुपमा लागेका छन् ।

बालमैत्रीपूर्ण शिक्षण सिकाइ प्रक्रियाद्वारा विद्यार्थीहरूलाई शिक्षा दिनुपर्छ भनेर विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घका साथै सम्पूर्ण अभिभावकले नै जुटेर कक्षाकोठा, कार्पेट र चकटीको व्यवस्थापन गरेका छन् ।

यसका लागि पहिला शिक्षकलाई तालिममा पठाइएको थियो । तालिमप्राप्त शिक्षकले पढाउन सुरु गरेपछि बालबालिका पनि रमाएरै विद्यालय जान थालेका छन् र यस्तो पढाउने तरिका सञ्चालनपछि कहिले विद्यालय नआउने आमा बुबाहरू पनि विद्यालयमा आउन थालेको बाल जागृति प्रावि बगुवाखोलाका प्रधान अध्यापक भक्त कार्की बताउँछन् । ‘यस्तो पढाइ पहिला नै सञ्चालन गर्नुपर्ने रहेछ, हामी पछाडि परेछौं’ उनी भन्छन् ।

बालमैत्री तरिकाले पढाउन थालेपछि आफ्ना बच्चामा निकै परिवर्तन आएको स्थानीय शेरवहादुर वानियाँले बताए । ‘पहिला मेरो छोरा मसंँग पनि बोल्न सक्दैनथ्यो, तर आजकाल सबैसँंग आफ्नो कुरा राख्छ, आफ्नो काम र सरसफाइबारे घरपरिवारलाई सल्लाह दिन्छ’ उनले भने ।

पहिला स्कुल जाउ भनेर कर गर्दा पनि नमान्ने बालबालिका आजकाल समय हुनासाथ आफैँ विद्यालय जान तयार भएको देख्दा खुसी लाग्ने बताउँछन् सरस्वती प्रावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्की ।

जब विद्यालयमा बालमैत्री तरिकाले रमाईलो वातावरणमा विद्यार्थीलाई नै सक्रिय बनाएर पढाउन थालियो त्यसपछि बालबालिकाका बुबा आमाहरूमा विद्यालयलाई सहयोग गर्नु पर्दो रहेछ भन्ने महसुस भएर सहयोग गर्न थालेको सरस्वती प्रावि बगरफाँटका प्रधान अध्यापक प्रेमवहादुर कार्की बताउँछन् ।

आफ्ना छोरीछोराले राम्रो पढेको देखेर आमाहरू सङ्गठित भइ विद्यालयमा आमा समूह गठन गर्न थालेका छन् । आमा समूहले आ–आफ्ना छोराछोरीलाई समयमा खानादिने, सरसफाइ गरेर दैनिक विद्यालय पठाउन र महिनामा एक पटक विद्यालयमा कक्षा शिक्षकसंँग बैठक बसेर छलफल गर्नाले आफूलाई शिक्षण गर्न सजिलो भएको अनुभव शिक्षक नविन घिमिरेको छ ।

आमा समूहले छोराछोरीको पढाइलाई गुणस्तरीय बनाउन मासिकरुपमा रकम जम्मा गर्दै दश हजार रुपैयाँसम्मको कोष स्थापना गरेर व्याजमा परिचालन गरी प्राप्त रकम कक्षा सञ्चालनका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापन गर्न थालेको जयन्ति मावि भकिम्लीका प्रधान अध्यापक रामबहादुर पुन बताउँछन् ।

बालबालिकालाई नै बढी सक्रिय गराएर शैक्षिक सामग्रीको प्रयोग गरेर शिक्षण गर्दा सजिलो र विद्यार्थीलाई बुझाउन सकिने शिक्षक नविन घिमिरेको अनुभव छ । बालमैत्री तरिकाले शिक्षण गरेमा विद्यार्थीको सक्रियता र सहभागिता बढ्ने तथा शिक्षक र विद्यार्थीबीचको सम्बन्ध राम्रो हुने अर्जुन उच्चमावि स्रोत केन्द्रका स्रोतव्यक्ति दुर्गाराम सुबेदीले बताए ।

बालमैत्री शिक्षा प्रक्रियाले विद्यार्थीको नियमितता र विद्यालयप्रति अभिभावकको चासो बढ्न थालेकोमा उनले खुसी व्यक्त गरे ।

बालमैत्री विद्यालय कार्यक्रमले विद्यालयको शैक्षिक प्रगति हुने निश्चित रहेको बुद्ध एकेडेमीका प्रिन्सिपल राजेन्द्रप्रसाद शेढाई बताउँछन् । ‘कक्षामा केटाकेटीलाई खेल खेलाएर पढाएको देखेपछि २ कक्षामा पढदै गरेको छोरालाई फेरि कक्षा १ मा ल्याएर पढाउन पाएहुन्थ्यो भन्छन्’ अर्जुन उमाविका प्रधानाध्यापक शिवकुमार खत्रीले सुनाए । सबै अभिभावकले समेत बालबालिकालाई दण्ड सजायबिना नै रमाइलो तरिकाले शिक्षा दिनुपर्छ भनिरहेका छन् ।

जिल्ला शिक्षा कार्यालय म्याग्दीका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीले बाल अधिकारको संरक्षण, सम्वद्र्धन गर्दै बालबालिकाको चौतर्फी विकासलाई ध्यानमा राखेर बालकेन्द्रित विधिहरू प्रयोग गर्दै बालमनोविज्ञान अनुसार गरिने शिक्षण सिकाइ प्रक्रिया नै बालमैत्री शिक्षण भएको बताए । हामी यस दिशामा अगाडि बढिसकेका छौं र जिल्लाका सबै विद्यालयहरूलाई बालमैत्री विद्यालयमा रुपान्तरण गर्न लागिपरेको जानकारी उनले दिए ।

जिल्लाभित्र असल छिमेकी नेपालले पनि २४ वटा विद्यालयमा शिक्षकहरूलाई तालिम दिएर बालमैत्री तवरले शिक्षण सिकाइ गर्न थालिएको हो । बालमैत्री कक्षा सञ्चालन भएका विद्यालयको अनुभवमा यो कार्य सकारात्मक देखिएको उल्लेख गर्दै बालमैत्री शिक्षण प्रक्रियालाई इमान्दारीकासाथ लागु गर्न सकिएमा बालबालिकाको भविष्य उज्ज्वल हुने सरोकारवालाहरूले बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: