पाठेघर खस्ने समस्या बढ्दो


प्रकाशित मिति :2017-01-21 10:00:29

जाजरकोटमा धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित छन् । तर, उनीहरूको उपचारमा सरकारी निकायको खासै चासो देखिन्न ।

जनक केसी
जाजरकोट । नायकवाडा– २ जिरीकी दुर्गा सिंहको १५ कात्तिक ०७२ मा मृत्यु भयो । २० वर्षदेखि पाठेघर खस्ने समस्याबाट पीडित ४३ वर्षीया दुर्गाको समयमै उपचार हुन नसक्दा अकालमै ज्यान गएको हो ।

सानै उमेरमा बिहे गरेकी दुर्गाले गरिबी र भौगोलिक विकटताका कारण गतिलो उपचार पाउन नसकेर अकालमै ज्यान गुमाएकी थिइन् । स्थानीय कालीबहादुर शाहीका भनाइमा तीन छोरीकी आमा दुर्गाका लागि पाठेघर खस्ने समस्याको उपचारका लागि कतैबाट उपचार सहयोग नजुटेका कारण ज्यान गएको हो । ‘उपचार कहाँ र कसरी गर्ने भन्ने केही थाहा भएन । धामी–झाँक्रीको भर परियो । आज श्रीमतीको ज्यान गयो,’ दुर्गाका श्रीमान् नयनबहादुर सिंहले दुःखेसो गरे । दुर्गाजस्तै पाठेघर खस्ने समस्याबाट जिल्लामा धेरै महिलाले ज्यान गुमाउनुपरेको छ र धेरैले शारीरिक पीडासमेत भोग्नुपरेको छ । दुर्गाजस्ता धेरै महिला उपचारको अभावमा लामो समयदेखि पीडाको जीवन बाँचिरहेका छन् ।

दसेरा– ८ की धनसरा नेपालीको उमेर ५९ वर्ष पुग्यो । उनी १८ वर्षदेखि पाठेघर खस्ने समस्याबाट पीडित छिन् । १४ वर्षको उमेरमा बिहे गरेर ५ छोराछोरी जन्माएकी धनसरालाई पाठेघर खस्ने समस्याका कारण आधा जीवन मरेसरह भएको छ ।

०७२ माघमा मिसन अस्पताल चौरजहारीमा अप्रेसन गरेपछि उनको अवस्था सामान्य छ । तैपनि आफूलाई पीडित ठान्छिन् उनी । पाठेघर खस्ने समस्याले गर्दा १८ वर्षसम्म निकै ठूलो दुःख पाएको उनले बताइन् । यही कारण घरमा कामकाज गर्न पनि समस्या भएको धनसरा बताउँछिन् ।

भुर– ९ की बिर्मी पुनले १३ वर्षदेखि पाठेघर खस्ने रोगका कारण धेरै दुःख पाइन् । १६ वर्षकै उमेरमा बिहे गरेकी बिर्मीका वर्षेनीका सन्तान छन् । पीडित बिर्मीले समयमै गतिलो उपचार नपाउँदा १३ वर्ष कष्टपूर्ण जीवन बिताउनुपरेको थियो ।

गाउँमा आङ खस्ने समस्याको रूपमा परिचित पाठेघर खस्ने समस्याका कारण आफूले सजिलोसँग दिन काट्न नपाएको र घरायसी काम पनि गतिलोसँग गर्न नपाएको बिर्मीले बताइन् ।

नायकवाडाकी मृतक दुर्गा, लामो समय कष्टपूर्ण जीवन बाँचिरहेकी दसेराकी धनसरा र भुरकी बिर्मी मात्र होइन, जिल्लाका १० हजारभन्दा बढी महिलामा पाठेघर खस्ने समस्या छ । जिल्लामा सबैभन्दा बढी पाठेघर खस्ने समस्या भएको गाविस मजकोट रहेको वातावरणीय कृषि विकास केन्द्र केडका जिल्ला कार्यक्रम अधिकृत रामविक्रम शाहले बताए । केन्द्रले यसबारे जनचेतना जगाउन विभिन्न कार्यक्रम गर्दै आएको छ ।

उनले सानो उमेरमा गरिने विवाह, गर्भवती र सुत्केरी अवस्थामा पोषणयुक्त खानाको अभाव, गह्रौँ भारी बोकाइ, वर्षेनी धेरै बच्चा जन्माउने र जनचेतना अभावजस्ता कारणले जिल्लामा पाठेघर खस्ने समस्या गम्भीर बन्दै गएको बताए ।

तेह्र–चौध वर्षकै उमेरमा विवाह गरेर विभिन्न कारणले पाठेघर खस्ने समस्याबाट पीडित बनेका धेरै ग्रामीण भेगका महिलाको समस्या उपचार अभावमा झन् भयङ्कर बन्दै गएको सरोकारवालाहरू बताउँछन् ।

जिल्लामा क्रियाशील विभिन्न सङ्घसंस्थाका अनुसार कुल विवाहितमध्ये ४७ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या छ । जिल्लामा नौ वर्षदेखि पाठेघर खस्ने समस्याबाट पीडित महिलाको पहिचान तथा उनीहरूको निःशुल्क उपचारका लागि गरिएको प्रयासबाट अहिलेसम्म जम्मा २ सय ३७ को उपचार गरिएको केडका जिल्ला कार्यक्रम अधिकृत शाहले बताए ।

शाहका भनाइमा जिल्लामा २१ देखि ८० वर्षसम्मका महिला पाठेघर खस्ने समस्याबाट पीडित रहेको भेटिएको छ । उपकरण अभावमा जाजरकोटमा अप्रेसनको सम्भावना नभएपछि जिल्लाका पीडित महिलालाई चौरजहारी तथा कोहलपुरको मेडिकल कलेजमा उपचार गर्ने गरिएको छ ।

जिल्लामा पाठेघर खस्ने रोगबाट पीडित महिलाका लागि सरोकारवालाहरूको पहलमा ‘पाठेघर उपचार कोष’ स्थापना गरिएको छ । यसले पाठेघर खस्ने समस्या भएका महिलालाई सम्पूर्ण उपचार खर्च व्यहोर्न सहयोग पुगेको जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स सरिता चन्दले बताइन् ।
उनले जिल्ला अस्पतालमा सुविधा र उपकरण नभएका कारण पाठेघर खस्ने समस्या भएका बिरामी महिलालाई अप्रेसन र थप उपचारका लागि चौरजहारी र नेपालगन्जका अस्पतालमा ‘रिफर’ गर्ने गरिएको बताइन् ।

उनका अनुसार जिल्लामा ३० प्रतिशतभन्दा बढी महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको र त्यसमध्ये ५ प्रतिशत महिलालाई अप्रेसन नगरी नहुने अवस्था छ । यस वर्ष पाठेघर खस्ने समस्यामा परेका महिलाको उपचारका लागि जिल्लामा तीनवटा शिविर सञ्चालन गर्न लागिएको चन्दले बताइन् ।

जिल्लामा धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको र उनीहरूका लागि सरकारी निकायले गतिलो ध्यान नदिएको स्थानीय समाजसेवी सरिता सिंहले बताइन् । उनले गाउँमा अशिक्षा, अज्ञानता र गरिबीका कारण महिलाले पाठेघर खस्ने रोग लुकाएर कष्टपूर्ण जीवन बाँचिरहेको बताइन् । महिलाको जीवन निकै कष्टपूर्ण बनाउने पाठेघर खस्ने समस्यालाई सरोकारवालाले गम्भीरताका साथ नलिएका कारण यो भयङ्कर रूपमा बढ्दै गएको सिंह बताउँछिन् । ‘कष्टपूर्ण पीडा कस्तो हुन्छ त्यो भोग्ने महिलालाई मात्र थाहा छ,’ उनले भनिन् ।

नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाह पाठेघर खस्ने समस्या जाजरकोटमा निकै गम्भीर भएकाले सरोकारवाला निकायले बेलैमा सोच्नुपर्ने बताउँछन् । उनले दीर्घकालीन रूपमा योजनाबद्ध तरिकाले यसलाई हल गर्न सबै सरोकारवाला लाग्नुपर्ने सुझाब दिए ।

(सञ्चारिका फिचर सेवा)
(जनक, जाजरकोटका पत्रकार हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: