वैैदेशिक रोजगारीले दिएको अर्को पीडा


प्रकाशित मिति :2017-01-23 19:58:14

वैदेशिक रोजगारमा जाने पुरुषले घरमा कागजातको प्रतिलिपी नराख्दा महिलाले प्रशासनिक काममा सास्ती पाइरहेका छन् ।

राकेश प्रसाद चौधरी
पुसको कठ्याङग्रिदो जाडोमा एक महिला आफ्नो छोराको साथमा जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुलगेटमा भेटिइन् । मझौरा बिशनपुर गाविसकी उनी, अर्थात गुलसन खातुन आठ महिनादेखि दिनहुँजसो यसरी कार्यालय धाइरहेकी देखिन्छिन् ।

तर, जत्ति नै कार्यालय धाएपनि उनको काम बन्ने छाँटकाँट देखिँदैन । वैदेशिक रोजगारको क्रममा श्रीमानको मृत्यु भएपछि शोकमा परेकी खातुनलाई विदेशी बिमा कम्पनीबाट आएको क्षतिपूर्ति नपाउँदा थप पीडा भएको छ । बीमाबापत पाउने रकम बाबुआमाको नाममा आएकोले उनले पैसा नपाएकी हुन् । ‘त्यो पैसा पाए त छोरालाई काम गर्न विदेश पठाउँथे । तर, सासु र ससुराको नाममा आएको रकममा मेरो हक लागेपनि गाउँघरमा कसैले पहल गरिदिएनन्,’ उनले सुनाइन् ।

चारवर्ष अगाडि साउदी अरबमा श्रीमानको दुर्घटनामा मृत्यु भएपछि उनी कार्यरत कम्पनीले ४ हजार ५ सय ७४ डलर (४ लाख ५७ हजार ४ सय रुपैयाँ) क्षतिपूर्ति बापत दिएको थियो । तर, श्रीमानले संरक्षकको रुपमा आफ्ना आमाबाबुको नाम मात्र राखेको हुँदा उनले सो रकम नपाउने भएकी हुन् । आठ महिना अगाडि आएको सो रकम सासु र ससुराले उनलाई दिन नचाहेपछि आफ्नो अधिकारका लागि उनी कार्यालय धाउन बाध्य भएकी हुन् ।

‘श्रीमान वितेको पाँच वर्ष हुन लाग्यो । कम्पनीले पैसा पठाएको छ, तर मेरो नाम छैन’ खातुन भन्छिन्, ‘घरमा कुनै कागजातको प्रतिलिपी राखेको थिएन । संरक्षकमा पनि आमाबाबुको नाम राखिएको रहेछ, अहिले आएर समस्या भोग्न बाध्य भएँ ।’

श्रीमानको मृत्युदर्ता प्रमाणपत्र बोकेकी गुलसन

सोनमा गाविसकी ललिता देवी साहले पनि कुवेतमा दुई वर्षदेखि रोगले थलिएका श्रीमानलाई घर फर्काउन सकेकी छैनन् । उनका श्रीमान् विनोद कार्यरत कम्पनीको बारेमा केही थाहा नपाएकी साहले श्रीमानले फोनमा दिएको जानकारीकै भरमा विभिन्न सरोकारवाला निकायमा निवेदन त दिइन् तर, श्रीमा्न् फर्किने टुंगो छैन ।

विनोदलाई श्रममा लगाएको कम्पनीले दुईवर्षे भिसाको समयावधि सकिएपनि उनलाई घर फिर्ता पठाउन आनाकानी गरिरहेकाले नेपाल सरकारले पहल गरिदिनुपर्ने ललिताको आग्रह छ ।

भ्रमरपुरा गाविसकी नगीना देवी मिश्रको समस्या पनि उस्तै छ । चारवर्ष अघि उनका श्रीमानको विदेशमा काम गर्ने क्रममा मृत्यु भयो, तर उनले बीमाबापत पाउनुपर्ने रकम अझै पाएकी छैनन् । ‘बीमा रकम पाउन श्रीमान् विदेश गएको बेलाको मेडिकल रिपोर्ट चाहिने रहेछ, तर विदेशी बीमा कम्पनीले पटक पटक माग गर्दा समेत दिएको छैन,’ मिश्र भन्छिन्, ‘त्यो रिर्पोट आफैंसँग भएको भए यस्तो समस्या हुने थिएन, अब उहाँलाई विदेश पठाइदिने कम्पनी र मान्छेलाई खोज्नु परेको छ ।’

समस्या राख्दै नगीना देवी मिश्र

वैदेशिक रोजगारमा गएका श्रमिकहरूले विदेश जान आवश्यक कागजात साथै लिएर जाने, तर त्यसको नक्कल प्रति घरमा नराखेका कारण उनीहरूका श्रीमती तथा परिवारका सदस्यलाई निकै सास्ती भोग्नुपरेको छ । कागजात अभावमा, वैदेशिक रोजगारमा जानेहरू काम गर्ने क्रममा विरामी हुँदा, विभिन्न कारणले बीच बाटोबाटै फर्किनुपर्दा, ठगीमा पर्दा, बसेको स्थान पत्ता लगाउन, दलाललाई कारवाही गर्न र कारणवश मृत्यु भएमा तिनका घरपरिवारलाई सम्र्पक गर्न, क्षतिपूर्ति लिन, बीमा रकम दाबी गर्न तथा घर फर्काउन समेत समस्या हुने गरेको छ ।

विदेशमा अलपत्र परेका श्रमिकहरूले दिएको जानकारीको आधारमा श्रीमतीसहित घर परिवारका सदस्यले जिल्ला प्रशासन एवं प्रहरी कार्यालयहरूमा निवेदन, उजुरी दर्ता गराउने क्रम पनि उत्तिकै बढेको छ । तर, कागजात अभावमा यस्ता मुद्दा धेरैजसो अगाडि बढ्दैनन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दयाकृष्ण भट्ट वैदेशिक रोजगारसँग जोडिएका धेरै मुद्दामा कागजातको अभाव हुने भएकोले आरोपी दलाल वा घरेलु हिंसाका घटनालाई स्थानीयस्तरमै मिलाउने गरेको बताउँछन् । उनका अनुसार, यसका लागि पीडित र पीडक पक्ष राखेर छलफल गर्ने गरिएको छ ।

सुरक्षित वैदेशिक रोजगार सम्बन्धी काम गर्ने सामी परियोजनाका महोत्तरी संयोजक कमलेश कुमार सिंहले ११ महिनाको अवधिमा वैदेशिक रोजगारसँग सम्बन्धित ३५ वटा निवेदन दर्ता भएको बताए । जसमध्ये १२ वटा निवेदनमा कागजातकै अभाव छ । दुईपक्षीय छलफल गराई १७ वटा समस्या समाधान भएको तथा बाँकी समस्या राजधानी केन्द्रित सरोकारवालाहरू समक्ष पठाइएको उनले जानकारी दिए ।

वैदेशिक रोजगारमा गएका कतिपय पुरुषले घरमा नागरिकताको प्रतिलिपी समेत नराख्ने गरेको भेटिएको पूर्व शिक्षा निर्देशक सुशील पाण्डेय बताउँछन् । उनी भन्छन्, ‘प्रशासनिक काम कारवाहीमा पति तथा बाबुको नाम चाहिने भएकाले यसले घर व्यवहारमा समस्या पारिरहेको छ, अरु त अरु बच्चाको जन्मदर्ता बनाउन र स्कुल भर्ना गर्न समेत समस्या देखिन्छ ।’

जिल्लामा वैदेशिक रोजगार श्रीमती संघ खोल्न पहल गरेकी सविता झा वैदेशिक रोजगारमा श्रीमान् जानुपूर्वको तयारी, विदेशमा रहेका बखतको सूचना आदान प्रदान तथा फर्किएपछि गर्नुपर्ने सावधानी र आर्थिक सुरक्षाका विषयमा महिलालाई तयार गर्नुपर्ने आवश्यक भइसकेको बताउँछिन् ।

विभिन्न तथ्याङ्क अनुसार नेपालबाट वैदेशिक रोजगारमा जाने पुरुषको संख्या धेरै हुने जिल्लामा धनुषा पहिलो हो भने त्यसपछि महोत्तरी जिल्ला पर्दछ । श्रम तथा रोजगार मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार महोत्तरीबाट पछिल्लो ६ वर्षमा ८२ हजार ८ सय २९ पुरुष तथा १ सय ७८ महिला वैदेशिक रोजगारमा गएका छन् ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशक बद्री कुमार कार्कीले सीप सिकेर गएका कामदार भन्दा अदक्ष कामदारका श्रीमतीलाई कागजातको समस्या बढी हुने गरेको छ । ‘श्रीमानले विदेश जाँदा लिएर जाने हरेक कागजको प्रतिलिपी (फोटोकपी) घरमै राख्नुपर्छ भन्ने ज्ञानको अभावमा समस्या भइरहेको छ । अब यसबारे श्रीमानले पनि ध्यान दिनु आवश्यक छ ।’

सामी परियोजना महोत्तरीका संयोजक सिंह पासपोर्ट बनाउने ठाउँमै राज्यको खर्चबाट परामर्शदर्ता राख्नुका साथै श्रीमती वा घरका सदस्यको मोबाइल फोनमा प्रतिलिपी संरक्षण एवं सुरक्षा सन्देशहरूबारे जानकारी दिँदा प्रभावकारी हुने बताउँछन् । उनी भन्छन्, ‘कागजात भए सुरक्षा र कारबाहीका लागि पनि सहज हुन्छ, यसैले श्रीमान्को मात्र होइन, सुरक्षा निकाय तथा अन्य सरोकारवालाको सम्र्पक र ठेगाना पनि उनीहरूलाई आवश्यक हुनसक्छ । यसबारे पनि महिलालाई सचेत गराउनु आवश्यक छ ।’

वैदेशिक रोजगारको प्रभाव र आयआर्जनका विभिन्न कार्यक्रमका कारण महोत्तरी जिल्लाको गरिबी दर ह्वातै घटेको छ । तर, साक्षरता दर (पाँच वर्षभन्दा माथि) बढ्न नसकेकाले कागजी कामबारे धेरै अनभिज्ञ देखिन्छन् । २०६८ को जनगणना अनुसार जिल्लाको कुल साक्षरता ४६ प्रतिशत रहेकोमा पुरुष ५६ तथा महिला ३६ प्रतिशत मात्रै साक्षर छन् । जनगणना अनुसार जिल्लाको कुल जनसंख्या ६ लाख २७ हजार ५ सय ८० रहेकोमा ३ लाख ११ हजार १६ पुरुष र ३ लाख १६ हजार ५ सय ६४ महिला रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: