घट्दैछ मातृमृत्यु दर


प्रकाशित मिति :2017-01-24 14:58:32

खेमा बस्नेत
काठमाडौं । नेपालमा मातृमृत्युदर घट्दै आएको तथ्याङकले देखाएको छ । सन् १९९० देखि सन् २०१५ सम्म विभिन्न सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले सार्वजनिक गरेको तथ्याङकले नेपालको मातृमृत्युदर घटेको देखिएको छ ।

नेपालमा सन् १९९० प्रति एकलाखमा ९०१ का दरले महिलाको सुत्केरी हुने क्रममा मृत्यु हुने गथ्र्यो । यो दरलाइ आधार मान्दा यो वर्ष कुल ६ हजार ६ सय जना आमाको सुत्केरी हुने क्रममा मृत्यु भएको थियो भने १९९५ मा यो संख्या पाँच हजार १ सयमा झरेको थियो । त्यसैगरी सन् २००० मा ४ हजार दुईसय आमाको ज्यान सुत्केरी हुने क्रममा गएको थियो भने ०१० मा २ हजार दुईसय र २०१५ मा यो संख्या १५ सयमा झरेको छ । अर्थात प्रति एकलाखमा २५८ जना महिलाको मृत्यु हुने गरेको नेपालस्थित  Maternal Mortality Estimation Inter-Agency Group को तथ्याङ्कमा उल्लेख छ ।

यो संख्यामा १५ वर्षदेखि ४९ वर्ष उमेरसमूहका महिला पर्दछन् । उक्त तथ्याङ्कमा सन् १९९० देखि २०१५ सम्ममा विश्वमा मातृमृत्युदर अनुपात ४४ प्रतिशतले झरेको छ । अर्थात एक वर्षमा १ लाखमा ३ सय ८५ जना महिलाको मृत्यु हुन्थ्यो भने अहिले यो संख्या २ सय १६ मा झरेको छ । दक्षिण एसियामा सन् १९९० देखि २०१५ सम्मको तथ्याङक हेर्दा मातृमृत्यु ५ सय ८८ वाट १ सय ८२ मा झरेको छ ।

नेपालमा सन् १९९६ मा मातृमृत्यु अनुपात प्रतिलाखमा ५ सय ३९ थियो भने यो अनुपात घटेर सन् २०१५ मा २ सय ५८ मा झरेको छ । विश्व स्वास्थ्य संगठनको २०१० को तथ्यांक अनुसार विश्वव्यापीरुपमा बर्सेनी अनुमानित २ लाख ८७ हजार महिला गर्भ वा गर्भ सम्बन्धि जटिलताका कारण मर्ने गरेका छन् । जसमध्ये ९९ प्रतिशत मृत्यु कमविकसित मुलुकमा हुने गरेको छ । कम विकसित मुलुकमा हरेक सोह्र जनामा १ जना महिला मातृमृत्युको जोखिम हुन्छन् भने विकसित मुलुकमा ३८ सयमा १ जना हुने विश्व स्वास्थ्य संगठनको तथ्याङ्का उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार गर्भावस्था र सुत्केरी भएको ४२ दिन (६ हप्ता) सम्मको अवधिमा गर्भवती वा सुत्केरी महिलाका मृत्यु भएमा यसलाई मातृमृत्यु भनिन्छ ।

पाँच वर्षमा १२५ मा झार्ने लक्ष्य
नेपाल सरकारले नेपाल स्वास्थ्य क्षेत्र रणनीति अन्र्तगत सन् २०१५ देखि २०२० सम्ममा नेपालको मातृमृत्यु १ सय २५ मा झार्ने लक्ष्य राखेको छ । दिगो विकास लक्ष्य हासिल गर्ने सन् २०३० सम्ममा नेपालको मातृमृत्यु प्रति लाखमा ७० मा झार्ने लक्ष्य राखेको छ ।

नेपाल सरकारले सहस्राब्दी विकास लक्ष्यको ५ औं लक्ष्य हासिल गर्न ५ सय ३९ घटाएर सन् २०१५ मा १३४ मा झार्ने पर्ने थियो । तर सन् २०१५ मा नेपालको मातृमृत्यु अनुपात २ सय ५८ प्रति लाख जीवित जन्ममा रहेको छ ।

निःशुल्क प्रसूति सेवा लिने बढे
नेपाल सरकारले मातृमृत्युदर घटाउन विभिन्न कार्यक्रम गर्दै आएको छ । जसमध्ये निःशुल्क प्रसूति सेवा, स्वास्थ्य संस्थामा बच्चा जन्माउन आउनेलाई भत्ता, सूत्केरी महिला र नवजात शिशुलाई कपडासहितको न्यानो झोलालगायतका कार्यक्रमले १० वर्षमा मातृमृत्यु दर घटाउन सहयोग गरेको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ ।

सरकारले निःशुल्क प्रसूति सेवा तथा यातायत खर्च दिन थालेपछि सन् २००६ देखि सन् २०१४ सम्म स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनेको संख्या बढेको छ ।

सन् २००६ मा स्वास्थ्य संस्थामा बच्चा जन्माउन आउनेको संख्या १८ प्रतिशत थियो भने सन् २०१४ मा ५५ प्रतिशतले बढेको मातृ तथा गर्भावस्था मृत्यु निगरानी तथा प्रतिकार्य निर्देशिका २०७१ मा उल्लेख छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: