भारतमा कमाएको पैसा साथमा नल्याउनु, बैंकमा पठाउनु


प्रकाशित मिति :2017-01-25 14:29:39

शिवराज खत्री

कामका लागि भारत जाने यात्रुलाई सुरक्षित आवागमन बारे जानकारी दिँदै कमला । तस्बिर : शिवराज खत्री

अछाम । दिउँसोको करीब ३ बजेको समय । एक यात्रुवाहक बस साँफेबगरको टिकट काउण्टर नजिक रोकियो । हातभरि रातो पर्चा र कागजात बोकेकी एक महिला बसभित्र छिरिन् । ‘तपाईं कामको लागि भारत जान लाग्नु भा’ हो ?’ ती महिलाले प्रत्येक यात्रुलाई यहि प्रश्न सोध्दै यात्रुको नाम टिपिन् र उनीहरूलाई आफ्नो हातमा रहेको पर्चा समेत बाँडिन् । ‘बाटोमा नचिनेका मनिसले दिएका केहि पनि कुरा लिने र खाने नर्गनुहोला, एक्लै नहिँडेर सकेसम्म समूहमा हिँड्नुहोला, परिचय खुल्ने कागजात साथमै राख्नुहोला, उताबाट रकम पठाउँदा बैंक मार्फतमात्र पठाउनुहोला’ सबैले सुन्ने गरी बोल्दै ती महिला बसबाट र्ओलिन् ।

साँफेबगरकी कमला खनालको दिन कामका लागि भारत जाने यात्रुलाई सुरक्षित यात्राबारे जानकारी दिनबाटै सुरु हुन्छ । बोलेर मात्रै होइन, उनले बाँडेको पर्चामा समेत सुरक्षित यात्राबारे विभिन्न जानकारीमूलक कुरा पढ्न पाइन्छ । पर्चामा भारत यात्राका साथै त्यहाँ जानुपूर्वको तयारी, त्यहाँ पुगेपछि र बस्दा ध्यान दिनुपर्ने कुराहरूका साथै घर फर्किंदा ध्यान दिनुपर्ने कुराहरू समेत पाउन सकिन्छ ।

सानपा भागेश्वरकी सावित्री कडाराको काम पनि त्यहि हो । उनी पनि दैनिक भारत जाने यात्रुलाई भेट्छिन् र सुरक्षित यात्रा गर्न सुझाउँछिन् । अहिले त उनलाई धेरैजनाले यसबारेमा थाहा पाइसकेको अनुभव हुन थालेको छ । सावित्री भन्छिन्, ‘पहिले जस्तो छैन, आजभोली कामका लागि भारत जाने युवाहरू निकै सचेत भइसकेका छन् ।’

भारत अछामी युवाका लागि वैदेशिक रोजगारको प्रमुख गन्तव्यको रूपमा रहेको छ । भारतमा जाने यात्रुलाई सुरक्षित आवागमन बारे जानकारी दिन गाउँमा कमला, सावित्रीसहित १२ महिला सक्रिय छन् । साँफेबगर नगरपालिकाका १२ वटै वडामा कार्यरत यी महिलाले बसमा मात्र होइन, घर–घरमै गएर भारत जानुपूर्व, यात्राको दौरान, उता बस्दा तथा घर फर्किंदा ध्यान दिनुपर्ने कुराका बारेमा जानकारी दिँदै आएका छन् ।

यी महिलाले आप्रवासी परिवारका सदस्यहरूको समूह बनाएर खासगरि घरका पुरूष सदस्यहरू– श्रीमान् वा छोरालाई सुरक्षित आवागमन बारे जानकारी गराउँदै आएका छन् । यस्ता समूहमा आप्रवासीका श्रीमतीहरू नै सदस्य हुने भएकोले उनीहरूका श्रीमान् वा छोरालाई जानकारी गराउन सजिलो भएको छ ।

निड्स नेपालले संचालन गरेको सुरक्षित आप्रवासन तथा मानव बेचबिखन रोकथाम परियोजना अन्र्तगत महिलाले सचेतनाका काम गरेका हुन् । परियोजनाले संकलन गरेको तथ्याङ्क अनुसार नगरपालिकाका एक हजार ६ सय ७६ युवा कामका लागि भारतमा छन् । परियोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत सुनील मिश्रले नगरपालिकाबाट भारत गएका २० देखि ४० वर्षका युवामध्ये करिब ७२ प्रतिशत कामका लागि त्यहाँ गएका हुन् ।

महिलाको बढ्दो सक्रियताले कमाएको पैसा सँगै बोकेर ल्याउने भन्दा बैंक मार्फत पठाउन थालिएको छ । सँगै पैसा बोकेर आउँदा बाटोमा लुटिने र ज्यानको समेत डर हुने भएकाले आजभोली प्रायः सबैले बैंक मार्फत रकम घर पठाउने गरेको सानपा–१ बैद्यनाथकी रेखा विकले सुनाईन् । उनका अनुसार बैंकमार्फत रकम पठाउँदा सुरक्षित हुनुका साथै बचत समेत हुने गरेको छ ।

त्यहाँ कमाएको पैँसा बैंकमार्फत पठाउने गरेपछि बाटोमा लुटिनेको संख्यामा निकै कमी आएको आप्रवासी सञ्जाल अछामका अध्यक्ष मिठ्ठु भाट बताउँछन् । सानपाकी मिना भण्डारी बैंक मार्फत आउँदा रकम त्यहीँ जम्मा हुने भएकाले रकम सुरक्षित हुनुका घरमा राख्दा चोरी हुने र बढी खर्च हुने जस्ता समस्या हटेको बताउँछिन् ।

कमाएको रकम रेमिट्यान्स मार्फत घर पठाउने सचेतना बढेसँगै बैंकहरूमा खाता खोल्ने महिलाको संख्या पनि बढेको छ । महालक्ष्मी विकास बैंक साँफेबगर शाखाका प्रबन्धक लक्ष्मण साउद भारतमा नोकरी गर्ने प्रायः सबैले रेमिट्यान्स मार्फत बैंकमा रकम पठाउने भएकाले खाता खोल्ने महिलाको संख्या अत्यधिक बढेको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो शाखामा १४ हजार भन्दा बढी खाता छन्, ती अधिकांश आप्रवासीका श्रीमतीको नाममा छन् ।’ प्रबन्धक साउदका अनुसार उनको बैंकबाट मात्र वार्षिक १८ देखि २० करोड रूपैयाँ रेमिट्यान्स भारतबाट आउने गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: