छोरीलाई ‘तिहार’ दिन व्यस्त आमाहरू


प्रकाशित मिति :2017-01-26 11:20:33

शिवराज खत्री

छोरीलाई माघी तिहार दिन जाँदै साँफेबगरमा एक महिला तस्बिर : शिवराज खत्री

अछाम । मंगलसैन नगरपालिका जनालीवण्डाली कि धौली बिकले भर्खरै मात्र छोरीलाई माघी तिहार दिएर भ्याएकी छन् । माघ १ गतेदेखि नै छोरी चेलीलाई माघी तिहार (सेल पुरी, तरुल) कोसेलीको रुपमा दिन सुरु गरेकी धौलीले भर्खरै मात्र उक्त काम भ्याएकी हुन् । बिभिन्न गाउँमा रहेका आफ्ना छोरीलाई उनीहरूको घरमै पुगी उनले कोसेली दिन भ्याईन् ।

यस अघि तीन छोरीको घर पुगेर कोसेली दिईसकेको उनले सुनाईन् । ‘चारजना छोरी र एक बहिनीलाई माघी तिहार (कोसेली) दिनुपर्छ’ धौलीले भनिन्–‘पुसको एक हप्ता सेल, पुरी पकाउन आवश्यक पर्ने सामानको जोहो गर्न समय लाग्छ भने माघको हप्ता दश दिन तिहार पुगाउन लाग्छ ।’

माघी तिहारलाई सुदूरका गाउँमा चेलत्यार अर्थात चेली तिहार पनि भन्ने गरिन्छ । वर्षको एक पटक छोरी चेलीलाई अनिवार्य रुपमा तिहार दिने प्रचलन रहेकाले माघी तिहारलाई चेली तिहार भन्ने गरिएको हो । धौली जस्तै सुदूरका प्रायः आमाहरू यो बेला चेलत्यार पु¥याउन व्यस्त छन् । छोरीलाई माघी तिहार प्रचलन माघ महिनाभर चल्ने गरेको छ ।

छोरीहरू माघी तिहारको दिन माईत मै आइ तिहार खाएरै जाने गर्दछन् भने माईत आउन नसक्ने छोरीको घरमै भएर माईतीले अनिवार्य रुपमा तिहार पुर्‍याउनु पर्ने चलन छ । माघ महिना भर यहाँका गाउँ गाउँमा विवाहित छोरीलाई घर घरमा तिहार पु¥याउन आउने जानेको उपस्थिति बाक्लो देखिने गर्दछ ।

पहिलेका मानिसले सेल पुरी (स्थानीय भाषामा बाबर, लाउन) दिने गरिएको भएपनि नयाँ पुस्ताका मानिसले समय परिस्थितिसँगै बिभिन्न प्रकारका मिठाईलगायतका खानेकुरा पनि दिने गरेको पाईन्छ ।

चेली तिहारको अर्को महत्वपूर्ण प्रचलन भनेको माघको महिनामा छोरी चेलीलाई हरियो पात देखाउने पनि हो । छोरी चेलीलाई दिईने कोसेली हरियो पात अर्थात त्यसमा पनि सालको पातमा बेरेर दिने प्रचलन छ । हरियो पात पुर्णको प्रतिक भएकाले माघको महिना धर्म अनुसार हरियो पात देखाउने प्रचलन हिन्दु धर्ममा परम्परादेखि चलिआएको मंगलसैनका सहदेब रेग्मी बताउछन् बताउँछन् ।

माघ महिनामा सूर्य दक्षिण दिशाबाट उत्तर दिशातर्फ लाग्ने भएकाले माघी तिहारलाई मकरसंक्रान्ति पनि भन्ने गरिन्छ । माघको महिना धर्मकर्म गर्नका लागि सबै भन्दा राम्रो महिना भएकाले पनि छोरी चेलीलाई तिहार दिएर सम्झिने प्रचलन हिन्दु धर्ममा रहेको रेग्मीले जानकारी दिए ।

हिन्दु धर्मका अन्य बिभिन्न प्रचलनको विस्तारै महत्व घट्दै गए पनि माघी तिहारको महत्व पहिलेको भन्दा झन बढ्दै गएको अनुभव रेग्मीको छ । बिहे गरेर पराई घर गएका छोरीसँग सधैँ भेटघाट नहुने भएकाले वर्षमा एक पटक माघको महिना अनिवार्य रुपमा भेट हुने हुँदा आमा बाबु र छोरी चेलीको बीचको प्रेम सम्बन्ध पनि प्रगाढ बनाउन माघी तिहारको महत्व विशेष खालको रहेको छ ।

माईती घरमा बाबु आमा र सहोदर दाई भाई नहुने छोरीलाई छिमेकीले पनि तिहार दिने प्रचलन छ । गाउँका अरु जेठानी देउरानीको माईतीबाट तिहार आउँदा माईतीमा आमा बुबा र दाई भाई नहुनेलाई नराम्रो महसुस नहोस् भनेर छिमेकीले पनि तिहार दिने गरेको भनाई रेग्मीको छ । माघी तिहार एक महिनासम्म मनाउने गरिएकाले सेल पुरी पकाउन चाहिने तेलको व्यवस्था गर्न तोरी पेल्न यो बेला गाउँका मिल तथा कोलमा निकै भीड लाग्ने गर्दछ ।

तरुल, सकरखण्ड आफ्नै बारीमा लगाएकाले माघ महिनामै कोरेर खाने र आफ्नो बारीमा नहुनेले जंगलमा गएर पनि बन तरुल कोरेर खाने प्रचलन रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: