सर्मिला बुढाथोकी

विकासे आयोजना सम्झौता गर्दै तारा नेपाली
दोलखा। जिल्ला विकास समिति दोलाखमा भेटिईन भीमेश्वर नगरपालिकाको धरमघरस्थित दलित वस्तिकी तारा नेपाली । उत्साहित तारा केही कागजमा धमाधम दस्तखत गर्दै थिईन् । हामी गाउँमा किरीयापुत्री भवन बनाउँदै छौ, त्यसैका लागि सम्झौता गर्न आएको – ताराले भनिन् ।
लक्षित वर्ग कार्यक्रम अन्र्तगत आएको बजेटले किरीयापुत्री भवन बनाउन लागेको तराले बताइन् । उनी उक्त भवन निर्माण समितिकी अध्यक्ष समेत हुन् । गाउँमा हुने विकास निर्माणमा महिलाको प्रत्यक्ष र सक्रिय सहभागिताका लागि आफू अध्यक्ष भएर काम गर्न थालेको तारा बताउँछिन् ।
गाउँमा हुने विकास निर्माणका गतिविधिमा सक्रिय सहभागि भैरहेकी तारा महिला सहभागिताले यस्ता काम उद्देश्य अनुरुप निर्धारित समयमै सम्पन्न हुने बताउँछिन् । बिभिन्न उपभोक्ता समितिमा सदस्य बनेर काम गरेपनि यो पटक भने अध्यक्षनै बनेर काम गर्छु भनेर प्रस्ताव राखेको र आम उपभोक्ताले विश्वास गरेर जिम्मेवारी दिएको ताराको भनाई छ ।

योजना सञ्चालन बारे छलफल गर्दै महिला उपभोक्ताहरु ।
उपभोक्ता समितिका सचिव कृष्णहरी विक समितिमा महिलाको सहभागिताले काम इमान्दारीपूर्वक सम्पन्न हुने भन्दै ताराको काम प्रतिको लगाव र इमान्दारितालाई हेरेर अध्यक्षको जिम्मेवारी दिएको बताउँछन् । सामाजिक काममा पुरुषको तुलनामा महिला इमान्दार हुने र काम पनि गुणस्तरीय हुने उनको अनुभव छ ।
दोलखा भीमेश्वर नगरपालिकाको विरुवामा निर्माण भै रहेको ढाँडेगैरी विरुवा सिंचाई आयोजनामा पनि महिला उपभोक्ताको सक्रियता निक्कै उत्साहजनक रहेको छ । स्थनीय बुधमाया केसी समाजमा हुने ग विकास निर्माणका गतिविधिमा महिला सक्रियता आवश्यक रहेको बताउँछिन् ।
‘पहिले पहिले हामी यस्तो काममा सक्रिय हुँदैनथ्यौं, चुलो चौकामै हाम्रो जीवन वित्ने गर्दथ्यो’ बुधमायाले भनिन् । अहिले देशमा निकै परिर्वतन भएको छ, हरेक काममा महिला सक्रिय हुन थालेका छन् । पहिले पहिले कुवा, पाटी, पौवामा भेट हुँदा अरुको कुरा काट्ने र घरमा भात भान्सामा जीवन विताउने महिला अहिले बाहिरका हरेक काममा समेत पुरुष जसरी नै सक्रिय हुने गरेको बुधमाया बताउँछिन् ।

विकासे काममा सक्रिय बुधमाया केसी
‘विकासमा महिला सक्रियताले यो उमेरमा पनि मलाई काममा लाग्न प्रेरित गरेको ८४ वर्षीया बुधमायाले मुस्कुराउँदै भनिन् – महिला, पुरुष जो भएपनि सामाजिक र सामुदायिक काममा सबैले सक्रिय सहभागिता देखाउनुपर्छ ।
महिला खबर डटकममा बिभिन्न सामाजिक काम र उपभोक्ता समितिमा महिला सहभागिता बारे बेला बेलामा समाचार प्रकशित भएपछि प्रोत्साहन मिलेको र त्यको प्रभावले पनि पछिल्लो समय सामाजिक काम महिला सहभागिता बढेको सरोकारवालाहरू बताउँछन् ।
जिल्ला विकास समिति दोलखाका योजना शाखा प्रमुख कृष्णकुमार कार्की अहिले विकासे योजनामा महिला सक्रियता निकै बढेको बताउँछन् । यसरी सामाजिक र विकास निर्माणमा महिला सहभागिता बढ्नुमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको कार्कीको भनाइ छ ।
कार्कीले भने ‘पहिले पहिले उपभोक्ता समितिमा अनिवार्य राख्नुपर्ने महिला सदस्य पाउन पनि मुश्किल थियो, अहिले त कतिपय उपभोक्ता समितिमा महिला अध्यक्ष नै छन् ।’ यो आर्थिक वर्षमा जिल्ला विकास समिति, सांसद विकास कोष लगायतका ३ सय ४२ वटा योजना स्वीकृत भएको र त्यसमध्य सम्झौता भएको १ सय ७२ वटा योजना मध्ये केहीमा महिला अध्यक्ष रहेको र अधिकांश उपभोक्ता समितिमा महिला सदस्य उल्लेख्य रहेको योजना शाखा प्रमुख कार्कीले बताए ।
Comment Here!