महिला हिंसाविरुद्ध पुरुषले चेतनाको दियो बाल्नु आवश्यक


प्रकाशित मिति :2017-01-27 11:14:10

महिला खबर

सिन्धुपाल्चोक खासगरि महिला बेचविखनका कारण बदनाम छ । अत्यन्त विकट गाउँ भएको यो जिल्ला भूकम्पले सवैभन्दा क्षति पुगेको जिल्ला हो । जिल्लामा व्याप्त रहेको महिला हिंसा अन्त्यका लागि थुप्रै संघसंस्था सक्रिय छन् । यसै सम्बन्धमा गैह्रसरकारी संस्था महासंघ नेपाल सिन्धुपाल्चोकका अध्यक्ष तथा नागरिक समाजका अगुवा सोम सापकोटासँग महिला खबर डट कमका लागि विदुर आचार्यले कुराकानी गर्नुभएको छ ।

खास गरी सिन्धुपाल्चोक जिल्लामा महिला हिंसा सम्बन्धी घटनाको अवस्था कस्तो छ ?
महिला हिंसा भन्ने वित्तिकै कुन चाहि, कस्तो प्रकारको हिंसा भन्ने विषयमा फरक पर्छ । बोक्सीको आरोप , घरेलु हिंसा, यौन हिंसा यी सबै प्रकारका महिला हिंसा जिल्लाका महिलाले भोग्नु परेको छ । जिल्लामा महिला हिंसा न्यूनिकरण भएको छ भन्ने अवस्थामा हामी छैनौं ।

पहिले सिन्धुपाल्चोक जिल्ला भन्ने वित्तिकै मानव बेचविखनको केन्द्र नै मानिन्थ्यो, अहिलेको अवस्था के छ ?
स्वभाविक रुपमा सिन्धुपाल्चोकले हिजो कलकंको टिका लगाएकै हो । नेपालमै पहिलो मानव बेचविखन गर्ने जिल्लाको रुपमा परिचय कमायो पनि । अहिले पनि जिल्लामा मानव बेचविखन हुने गरेका छन्, तर फरक किसिमले । पहिले पासपोर्टको सिस्टम अहिलेको जस्तो थिएन । सडकबाटो हुँदै रक्सौल र सुनौली नाकाबाट लैजान पर्ने भएकाले नौलो महिला देख्ने वित्तिकै सोधपुछ हुने गथ्र्याे र प्रहरीलाई पक्रन सजिलो हुन्थ्यो, अनि घटना बाहिर आउँथ्यो, तर अहिले राहदानी बनाएर उड्नेको संख्या धेरै भए । जिल्ला विकास समितिले गरेको कार्यक्रममा २१ सयले पासपोर्ट बनाएकोमा १८ देखि ३० वर्षका ९ सय महिला थिए । यसले के देखाएको छ भने खाडी मुलुक जाँदै छन् । यसरी वैदेशिक रोजगारीमा जाँदा सबै मापदण्ड पुरा गरेर जाँदैनन् । एजेण्टबाट जान्छन् र धेरै जसो यौन हिंसामा पर्दछन् । कतिपयलाई उद्धार गरी जिल्लामा फर्काईएको अवस्था पनि छ । यसले मानव बेचविखन बढेको देखाउछ ।

यसरी बैदेशिक रोजगारीको क्रममा विदेशमा समस्यामा परेको घटना त सुनिन्छ, तर जो समस्यामा परेका छन् नेपाल फर्केपछि पीडितले त्यो समस्या लुकाउँछन् किन ? समस्या लुकाउन बाध्य हुँन्छन् महिला ?
हो सही कुरा उठाउनु भयो तपाईले , धेरै घटना यस्तो देखिएको छ । संघसंस्थाले उजुरी हाल्नुस तपाईको सुरक्षाको जिम्मेवारी हामी लिन्छौं भन्दा पनि पैसा सबै फिर्ता गर्छ भने उजुरी चाही नहालौं भन्छन् । अनुसन्धानले के देखाएका छन् भने पासपोर्ट बनाएर विदेश सम्म पुर्‍याउने एजेन्ट उनीहरूको आफन्त नै पर्दा रहेछन् । घर समाजबाट नै आफन्त जोगाउन दबाब सिर्जना भईसकेपछि उजुरी हाल्न हिच्कीचाई रहेका छन् । यसरी उजुरी नहाल्दासम्म एजेन्टहरूलाई यस्ता काम गर्न झन प्रोत्साहन मिलेको छ । हुन त हाम्रो कानुनी प्रक्रिया पनि अलि फितलो छ । साक्षी चाहिने हुनाले प्रक्रिया अलि ढिलो हुन्छ । पहिल्यै पीडित छ, न्याय पाउन एकदुई वर्ष त लाग्छ नै । दलालले पनि फसेको पैसा दिन्छु भनेपछि उनीहरू उजुरी हाल्दैनन् । यसले गर्दा हामीले उनीहरूको चेतना विकास गर्ने सकेका छैनांै भन्ने एउटा पुष्ट्याई पनि हो ।


हाम्रो समाजमा ‘श्रीमानले कुट्दा पनि हिंसा हुन्छ र’ भन्ने चलन छ । यो पनि हिंसा हो र यस्ता हिंसा सहन हुन्न भन्ने धारण विकास कसरी गर्न सकिएला ?

स्वभाविक रुपमा तपाईले ठीकै भन्नुभयो । भूकम्पपछि मादक पदार्थ सेवन गर्ने पुरुषको संख्या बढ्दो छ । अझ कतिपय श्रीमानले त मादक पदार्थ सेवन गर्ने पैसा समेत श्रीमतीसँग माग्ने र नदिए पिट्ने पनि गरेका छन् । प्रहरीकोमा थुनाउँदा श्रीमान नै छाड्नु पर्ने हो की भन्ने डरले पनि उजुरी गर्दैनन् । यी यस्ता कुरा हिंसा हुन यी यी कुराहरू होईनन् भनेर चेतना फैल्याउन हामी नागरिक समाजका मान्छे पनि चुक्यौं की ? हामीले जतिसुकै १६ दिने अभियान चलाए पनि र्‍याली गरेपनि चौतारा सदरमुकाममा गर्छौ गुम्बा(एक विकट गाविस) मा गर्दैनौं । गुम्बाको महिलाको हिंसा फरक हुन सक्छ । सामाजिक सञ्जाल फेसबुकका कारणले पनि हाम्रो समाजमा हिंसा हुने गरेका छन् । हाम्रो समाजमा हामी पुरुषले नै चेतनाको दियो बाल्नु आवश्यक छ । कमजोरी पुरुषको हुन सक्छ, तर त्यो कमजोरीको पहिचान गरी त्यसलाई सच्याउन पनि जान्नु पर्छ ।

अब महिला हिंसा रोक्न पुरुषको भुमिका के त?
महिला हिंसा रोक्नका लागि महिला होईन सबभन्दा ठूलो भुमिका पुरुषले नै निर्वाह गर्नुपर्छ । यसर्थ कि हामीले महिला हिंसा सहनु हुन्न, हिंसा सहनु पनि अपराध हो भनेर चेतना फैलाउनु पर्‍यो । हिंसा सहनाले अरु थप हिंसा गर्न अभिप्रेरित गरिरहेको हुन्छ । सबै पुरुष हिंसा नै गर्छन् भन्ने पनि होईन । जातिय कुरा गर्ने हो भने शेर्पा जातिमा घर मुली भनेको महिला हुन्छन् त्यो समाजमा महिला कम हुन्छ । अनि क्षेत्री बाहुनको समाजमा हेर्ने हो भने पुरुष घर मुली हुन्छन् र महिला पुरुषमाथि निर्भर हुन्छन् । यस कुरालाई हेर्ने हो भने घरमा जो मुली हुन्छ सम्पत्तिमा जसको अधिकार छ, उसले दबाएर राखेको हुन्छ । यसकारण सरकारले महिलालाई अधिकर दिनुपर्‍यो । घरजग्गाको अधिकार महिलालाई दिनुपर्‍यो । आर्थिक उपार्जनका ठाउँमा पनि महिलालाई प्राथमिकता दिनुपर्‍यो । एउटा उदाहरण : जस्तै एकजना पुरुष कर्मचारी आफ्नो अफिसको महिला हकिमको कपडा धुन, भाडा माझ्न , खाना बनाउन तयार हुन्छन्, तर आफ्नो घरमा भने आफूले खाएको भाँडा समेत श्रीमतीलाई धुन लगाउँछन् । किनकी अफिसमा त्यो गरे बापत पैसा आउँछ, तर घरमा आउँदैन । यसकारण आर्थिक रुपले वा जमिनको स्वामित्व महिलामा हुँदा हिंसा त घट्दो रहेछ नी ।

भनेपछि परम्परागत भूमिका जो छ महिलालेमात्र गर्नुपर्छ भन्ने जुन हाम्रो सोच छ , महिला पुरुष दुवैका भूमिका हो यो भनेर व्यवहारमा सुरु होला ? आर्थिक पाटोले मात्रै निर्धारण गर्छ त ?
त्यति मात्रले हुँदैन । तपाईले भने जस्तो मान्छेमा चेतनास्तर माथि उठ्नु पर्‍यो । महिलाले गर्ने काम पुरुष र पुरुषले गर्ने सबैकाम महिलाले पनि गर्न सक्छु भन्ने चेतनास्तर विकसित गर्नु पर्‍यो । केही पाटो मध्येको आर्थिक पाटो पनि एउटा प्रमुख पाटो हो । एउटा उदाहरण : एउटै अफिसमा एउटै दर्जामा काम गर्ने श्रीमान श्रीमती छन् भने घरको काम श्रीमतीले मात्र गरेका हुन्छन् । त्यो श्रीमानले घरको काम गर्न पर्छ भन्ने चेतना नभएको हो र ?

यो मान्यता कसरी चिर्ने ?
हो यो मान्यता चिर्न हामी समाजमा बसेका आफूलाई बुझ्ने ठान्नेहरूले आफैले गरेर देखाउनुपर्छ । हामी बालबालिकाको आवाज उठाउँदै छौं नी, हो जो चाहीँ सबभन्दा बढी बालबालिकाको वकालत गर्दै हिँडेको हुन्छ, उसैको घरमा बाल श्रमिक राखेको भेटिन्छ । जसले महिला हिंसाविरुद्ध आवाज उठाउँदै हिडेका छन, उसैको घरमा महिलालाई छोरी बनाएर वा अन्य साईनो लाएर राखेर श्रम शोषण गरिरहेका हुन्छन् । हो यस्तो काम हामीले पहिले आफैबाट बन्द गरौं ।

तपाईले व्यवहारमा यो भूमिका घरमा आफूले चाहि कसरी निभाउनु हुन्छ ?
यस सन्दर्भमा म चोखो छु भन्दिनँ । यसर्थ कि म यहाँ अन्तरवार्ता दिईहँदा मेरी श्रीमती घरायसी काम गरिरहेकी छन् । तर म घरमा भाको बेला चाहीँ हामी दुवै मिलेर काम गर्छौ । श्रीमतीको कपडा धुन मलाई कुनै असजिलो महसुस हुँदैन । हामी घरको सबै काम सहमतीमै गर्छौं । समाज रुपान्तरण गर्न यो मैले गर्नैपर्छ ।

तपाईलाई हेरेर तपाईको समुदायले कसरी अनुसरण गर्दै छन् त ?
मैले उल्टो आरोप खेपिरहेको छु जोईटिंग्रे भन्ने । म तपाईलाई एउटा उदाहरण सुनाउँछु । म भर्खर भर्खर छु्टा भिन्न भएको थिए । छोराहरू सानै थिए । पँधेरो नजिकै थियो । म एकदिन् कपडा धुन पँधेरोमा गएँ । श्रीमतीको कुर्था सुरुवाल पनि धुन लगेको थिएँ । एकजना गाउँकै काकी पर्नेले कपडा धोएको हेरिरहनु भयो । केही बोल्नु भएन जब मैले कपडा धोईसकेपछि बाटामा सबै कपडा राखे त्यति खेर काकीले मलाई सबै काम ठीकै गरिस यो श्रीमतीको कपडा धुनु भनेको चाहीँ तल पर्नु हो है ! भन्नुभयो । यस्तो छ हाम्रो समाज । मैले उहाँलाई नराम्रो भन्न खोजेको हैन । समाजले नै यस्तै सिकायो । त्यसका लागि हामी आफैले थाल्नु पर्छ । यसमा कसैले मबाट सिकेका पनि छन् कसैले गाली पनि गरेका छन् ।

अब हिंसारहित समाज निमार्ण गर्न के गर्नु पर्ला ? क–कस्को कस्ता कस्ता भूमिका रहला ?
सब भन्दा पहिले कानुन प्रशस्त बनेका छन् । त्यसलाई सबै पक्षले व्यवहारमा ल्याउनु प¥यो । यो कानुनको बारेमा समाजमा सबैलाई चेतना जगाउनु प¥यो । अनि महिला हिंसा रोक्नका लागि हामी नागरिक समाजलगायत राजनीतिक दलले कार्यक्रममा बोल्दा २ मिनेट भएपनि महिला हिंसाविरुद्धको आवाजलाई स्थार्न दिनुपर्छ ।

सिन्धुपाल्चोकमा धेरै संघ संस्थाले काम गरिरहेका छन् । यी संघ संस्थाको भूमिका चाहीँ कस्तो छ ?
म गैसस महासंघको अध्यक्ष हुँ र पनि म सन्तुष्ट छैन । यसकारणले छैन की हाम्रा साथीहरू न्यूनिकरणको पाटोमा जसरी जानु पथ्र्याे त्यसरी गएनांै । यो कुरा महशुस गर्नै पर्छ । आइएनजीओहरूले यति धेरै रकम खर्चेका छन् । यो परिवर्तन गर्‍यौ भनेर ‘इन्डीकेटर’ के त? हामीले यति जनालाई परामर्श गर्‍यौ यो ‘इन्डीकेटर’ हो र ? यति जना विदेश गएका थिए यति जनालाई फर्कायौं यो पो ‘इन्डीकेटर’ हो त । महिले यति जनामा हिंसा भएका थिए अहिले यतिमा घट्यो यो ‘इन्डीकेटर’ हो । यस्ता कुराहरू न त्यो क्षेत्रमा काम गर्ने संघसंस्थाले दिन सक्छन् न सरकारी संयन्त्रले दिन सक्छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: